पूर्वमन्त्री शुक्लले दिए आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामग्री

गौतमबुद्ध सन्देश
भैरहवा, २७ जेठ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले कोभिड आइसोलेशन सेन्टरलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले कोटहीमाई र मर्चवारी गाउँपालिकाको सहकार्यमा लायन्स क्लब अफ लुम्बिनी मर्चवारद्वारा मझगावास्थित मर्चवार बहुमुखी क्याम्पसमा सञ्चालित २५ बेडको आइसोलेशन सेन्टरलाई विभिन्न सामग्री प्रदान गरेका हुन् ।

पूर्वमन्त्री शुक्लले सेन्टरलाई केएन नाइटीफाइभ मास्क ४ सय थान, सेनिटाइजर २० लिटर, सर्जिकल मास्क४ हजार थान, ग्लोब्स २ हजार थान, फेस शिल्ड १३० थान, व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) २० थान,डिस्पोजेबल गाउन ४ सय थान, कभरअल ५० थान, सुज कभर १ सय थान, अक्सिजन केनुला ३० थान, अक्सिजन सिलिण्डर ८ थान अक्स्जिन कन्सनट्रेटर २ थान प्रदान गरेका हुन् ।

सो अवसरमा बोल्दै शुक्लले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको लायन्स क्लब अफ लुम्बिनी मर्चवार निश्चय पनि बधाईको पात्र भएको बताए । उनले आफू पनि लायन्स क्लबमा एक दशकसम्म आबद्ध रहेको र यसबारे धेरै जानकारी पाउने अवसर प्रदान भएको बताए । ‘दोस्रो लहरको कोरोना महामारी फैलिएपछि भुंइमा राखेर उपचार गर्नुपर्ने अवस्था आयो, तर आइसोलेशन सेन्टर निर्माण भएपछि भविष्यमा यस्तो नहोस् भन्ने आधारशिला खडा भएको छ, ’पूर्वमन्त्री शुक्लले भने । राज्यले गर्नुपर्ने काम लायन्स क्लब लगायतका संस्थाले गर्दा राज्यलाई सहयोग पुगेको उनको भनाइ छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले समस्या परेको ठाउँमा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लाको अथक प्रयासले समाधान हुने गरेको कुरा आफूले भनिरहनुनपर्ने बताइन् । उनले शुक्लको सहयोगले मर्चवारमा कोभिड उपचार केन्द्र स्थापना भएको बताइन् । मर्चवारमा स्थापना भएको उपचार केन्द्रका कारण संक्रमित बिरामी बाहिर जानुनपर्ने स्थितिको सिर्जना भएको मन्त्री पाण्डेले बताइन् । स्वास्थ्य क्षेत्रमा काम अगाडी बढाउन प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय भइरहेको उनले बताइन् ।

लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक अध्यक्ष सन्दिप त्रिपाठीले कोरोना महामारीको नियन्त्रण तथा रोकथामको लागि मझगावामा २५ बेडको कोभिड आइसोलेशन सेन्टर निर्माण गरिएको बताए । उनले आइसोलेशनलाई विभिन्न क्षेत्रबाट स्वास्थ्य सामग्री, औषधी सहयोग प्राप्त भएको बताए । त्रिपाठीले बिहीबारदेखि आइसोलेशन सेन्टरमा निःशुल्क ओपिडी सेवा समेत सुरु गरिने जानकारी दिए ।

समाजसेवी बालकिसुन तिवारीले पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लको योगदान महत्वपूर्ण रहेको चर्चा गरे । उनले लायन्स क्लब अफ लुम्बिनी मर्चवारको कार्य प्रशंसनीय रहेको बताए । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष अरुण कुमार मिश्राले कोभिड आइसोलेशन सेन्टरले विपिन्न परिवारको उपचारमा सहयोग पुगेको बताए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का युवा नेता मोहम्मद इस्लाम खानले पूर्वमन्त्री तथा जसपा नेता सर्वेन्द्रनाथ शुक्लको यस क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताए । उनले भ्रमको खेतीलाई चिर्न आवश्यक रहेको बताए ।

कार्यक्रम संयोजक कन्हैया बनियाको स्वागत तथा लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक सचिव चन्दन तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *