सहुलियतपूर्ण कर्जाको नविकरण गर्नुपर्ने उद्योग व्यापार संगठनको माग

गौतमबुद्ध सन्देश
भैरहवा, २४ जेठ ।
उद्योग व्यापार संगठन, रुपन्देहीले गत वर्ष लगानी गरिएको सहुलियतपूर्ण कर्जाको नविकरण गर्नुपर्ने माग गरेको छ । संगठनले निषेधाज्ञा अवधिभरको बैंक ब्याजमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने समेत माग गरेको छ । संगठनले आइतबार नेपाल राष्ट्र बैंक लुम्बिनी प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक सुदिप फुयालमार्फत राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न ८ बुंदे माग राखेको हो ।

२०७८ साल वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहने अवधिसम्मको अवस्थालाई शुन्य अवधि मानी बाँकी अवधि मात्रै गणना गर्नुपर्ने, २०७८ असार मसान्तसम्म तिर्नुपर्ने ब्याज, किस्तालाई व्यवसायको प्रकृति हेरी ६ महिनादेखि १ वर्षसम्मको समय सिमा थप गर्नुपर्ने र बैंकको किस्ता नविकरणलाई कम्तीमा ६ महिना समय दिनुपर्ने संगठनले माग गरेको छ ।

त्यस्तै कोभिड–१९ ले असर पारेका उद्योगी व्यवसायीले उपभोग गरेको कर्जा बराबरको रकम पुर्नकर्जा उपलब्ध गराउनुपर्ने र सावा किस्ताको रकमलाई पुर्नताजकीकरण गर्नुपर्ने संगठनको माग छ ।

रुपन्देहीमा २०७८ वैशाख १७ गतेदेखि नै निषेधाज्ञा जारी रहेकोले यो विषम परिस्थितिमा नेपाल राष्ट्र बैंकबाट जारी हुने मौद्रिक नीतिमा संस्थाले उठाएका मागहरु सम्बोधन गरी थोरै भए पनि राहत उपलब्ध गराउनुपर्ने उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

ज्ञापनपत्र बुझ्दै राष्ट्र बैंक प्रादेशिक कार्यालय सिद्धार्थनगरका निर्देशक फुयालले उद्योग व्यापार संगठन रुपन्देहीको माग समेटिएको पत्र तत्काल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा पठाउने बताए । उनले संगठनले उठाएको मागको सम्बोधन भएपछि देशभरीका उद्योग व्यवसायीले लाभ लिने विश्वास व्यक्त गरे ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव अनिल कुमार ज्ञवाली र कोषाध्यक्ष सचिन रोक्काको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *