तम्घासमा बजार अनुगमन

अनिल खत्री
गुल्मी, २४ जेठ । गुल्मीको सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी निषेधाज्ञामा हुने कालोबजारी, कृत्रिम अभाव, म्याद नाघेका र अखाद्य वस्तुको निगरानीको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरोकारवालाहरुको सक्रियतामा बजार अनुगमन गरिएको हो ।

तम्घास बजारका विभिन्न स्थानहरुमा रहेका करिब ५० वटा पसलहरुमा बजार अनुगमन गरिएको छ । अनुगमनमा म्याद नाघेका र अखाद्य चाउचाउ, बिस्कुट, चिजवल्स, मिटमसला, सूजी, आटा, बिस्कुट, धुलो दुध, दन्तमञ्जन लगायतका करिब रु. १२ हजार मूल्य बराबरको खाद्य तथा अन्य सामग्रीहरु जफत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

अनुगमन गरिएका अधिकांश पसलहरुमा मुल्य सूची नराखेको, खरिद तथा विक्री विल प्रयोग नगरेको, मुल्य अभिवृद्धि करमा दर्ता तथा स्थायी लेखा नम्बर नलिएको, पसलको कारोबार गर्ने उद्देश्य फरक परेको अनुगमनकर्ताले फेला पारेका थिए । उद्योग तथा स्थानीय तहहरुमा दर्ता नगरेको, मदिराको छुट्टै स्टल नराखेको र म्याद नाघेका खाद्यवस्तु तथा अन्य सामाग्रीहरु छुट्टाएर नराखेको पाइएकोले यी पक्षमा सुधारको लागि सुझाव दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् ।

उपभोक्ता हित संरक्षण गर्न, कालोबजारी, कृत्रिम अभाव र जम्माखोरी हुन नदिन जिल्ला प्रशासन कार्यालयले प्रचलित कानून बमोजिम जिल्लाभर अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । गुल्मी सदरमुकाम तम्घासमा चाडपर्वमा मात्रै बजार अनुगमन हुने गरेको थियो ।
तर यस वर्ष भने कोरोना महामारीका बीचमा पनि बजार अनुगमन भएको छ । अनुगमनले बजारमा हुने कालो बजारी, कृत्रिम अभाव, म्याद नाघेका र अखाद्य वस्तुको विक्रीमा रोक लगाउने उद्देश्य प्रशासनको रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *