बुद्ध दर्शन र शान्ति

मधुसुदन पोख्रेल, भैरहवा

विश्व शान्तिको मुहान लुम्बिनी, नेपालमा इसा पूर्व ५६३ वैशाख पूर्णिमाका दिन शान्तिका महानायक गौतम बुद्धको जन्म भयो । दया, माया, करुणा, मैत्री, शान्ति र अहिंसाका पूजारी, स्नेहका खानी अमर अजर दार्शनिक चिन्तकहरूमा नेपालमा जन्मेका गौतम बुद्ध अग्र पंक्तिमा पर्दछन् । बुद्ध दर्शनका प्रणेता गौतम बुद्ध हुन् । बुद्धले वैशाख पुर्णिामाका दिन बोधिज्ञान प्राप्त गरेपछि ४५ वर्ष लोक कल्याणको लागि अनवरत ज्ञानको प्रचारप्रसार गरी ८० वर्षको उमेरमा वैशाख पूर्णिमाका दिन कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे ।
बुद्ध दर्शनको मूल शिक्षा नै शान्ति र अहिंसा हो । गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । बुद्ध दर्शनमा पञ्चशील, अष्टशील, दशशील र आर्य अष्टाङ्गिक मार्गले नै हरेक समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरालाई जोड दिइएको छ । बुद्धको महान् सन्देश हो, आफ्नो उज्यालो आफैँ बन र आफँैमा मानवता खोज । बुद्धका अनुसार हरेक मानिसमा बुद्ध बन्ने बीज हुन्छ । यसका लागि उचित श्रम गर्नका लागि तयार हुनुपर्छ
संयुक्त राष्ट्र संघले बुद्धको पञ्चशीलको सिद्धान्तलाई अनुमोदन गर्दै विश्वव्यापी मान्यता दिएको छ । बुद्ध दर्शनमा रहेका प्रजातन्त्र, स्वतन्त्रता, मानव अधिकार, पेशागत हकहित, समानता, समता र मानवीय मूल्य आधुनिक विश्वले स्वीकार गरेकोछ ।
शाक्य मुनि गौतम बुद्धलाई भगवान् भन्ने पनि छन्, महान् दार्शनिक मान्ने पनि छन् । बुद्धको सहस्राब्दीमा प्लेटो, अरिस्टोटल, महावीर जैन, लाउन्स आदि दार्शनिक र वैज्ञानिक जन्मिए तर उनको जस्तो ख्याति कमाउन सकेनन् । त्यसैले २ हजार ५ सय ६५ वर्ष अघि लुम्बिनीमा जन्मेका यी महापुरुषलाई नेपालले राष्ट्रिय विभूतिको सम्मान दिएको छ । बुद्ध दर्शन भनेको नै शान्ति, सद्भाव, प्रेम, समानता, विकास, समृद्धिको दर्शन हो । बुद्ध दर्शनले दमन, अत्याचारलाई घृणा गर्दछ । यसले युद्ध र हिंसालाई अस्वीकार गर्दछ ।
बुद्ध दर्शनले युद्धलाई नभई शान्तिलाई जहिले पनि अग्र रूपमा लिएको छ । बुद्धले संङ्ग्राममा हजारौं मानिसलाई जित्नु भन्दा आफूलाई जित्नु धेरै गुणा उत्तम हुन्छ भन्दै इन्द्रिय दमन गरी स्वयम्लाई वशमा राख्नुपर्ने कुरा अभिव्यक्त गरको पाइन्छ । आगोले आगो निभ्न सक्दैन, त्यो पानीले निभ्न सक्छ । झगडा, झगडाले होइन आपसी कुराकानीबाट सुल्झन सक्छ । युद्धले कहिल्यै कुनै समस्याको हल हुँदैन, त्यसकारण यो संसारबाट युद्ध रोक्न सकिन्छ भन्ने विषयमा बुद्ध दर्शनले सध“ै जोड दिएको पाइन्छ । ‘अहिंसा परमो धर्मः’ भन्ने बुद्ध दर्शनको महावाणीले त झन् सम्पूर्ण प्राणी प्रति सद्भाव व्यक्त गरेको पाइन्छ ।
बुद्ध दर्शनका बारेमा विभिन्न बैज्ञानिक तथा दार्शनिकहरूका भनाई अत्यन्त सान्दर्भिक रहेका छन् । बैज्ञानिक अलबर्ट आइन्सटाइनले बुद्ध दर्शनका बारेमा आफ्नो गहिरो विश्वास प्रकट गर्दै “आजको युगमा आधुनिक बिज्ञानस“ग मिल्ने कुनै दर्शन छ भने त्यो बुद्ध दर्शन नै हो” भनेका छन् । प्रशिद्ध साहित्यकार बरटाण्ड रूसेलले बुद्ध दर्शन प्रति अगाढ आस्था व्यक्त गर्दै “बुद्ध धर्म कुनै यो वा त्यो जातिको मात्र धर्म नभएर सम्पूर्ण मानव विश्व समुदाएका लागि निर्माण भएको बैज्ञानिक दर्शन हो भनेका छन् ।
बुद्ध दर्शनले अन्धविश्वास मान्दैन । यो बैज्ञानिक र परिपक्व दर्शन भएकाले यसको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । बुद्ध दर्शनले कहिल्यै विज्ञानको विरोध गरेन । बुद्ध दर्शन एक व्यावहारिक दर्शन हो । बुद्ध दर्शनमा अन्तरनिहित शान्तिको सन्देशलाई आत्मसात् गरी स्व–व्यवहारमा उतार्नु आजको वर्तमान परिप्रेक्ष्यमा सान्दर्भिक हुनेछ । विश्वको वैषिक माहामारी चाडै अन्त्यहोस् यही २५६५ औ बुद्ध जन्म-जयन्तीको अवसरमा पुनःहार्दिक मङगलमय शुभकामना ।
इति पि सो भगवा अरहं सम्मा सम्बुद्धो विज्जाचरण सम्पन्नो सुगतो लोकविदू अनुत्तरो पुरिसधम्मसारथी सत्था देव मनुस्सानं बुद्धो भगवा ति ।
भवतु सब्ब मंगलम् ( मास्टर्स फ्रम एल.वि.यु. । )

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *