मिनर्वाका विद्यार्थीद्वारा वृक्षरोपण

छवि ज्ञवाली
भैरहवा, ४ वैशाख ।
नव वर्षको सुरुको दिनलाई धेरैजसो युवावर्ग र विद्यार्थीहरू घुमघाम, खानपिन र मोजमज्जामै बिताउन रुचाउँछन् । तर यसविपरीत केही नयाँ र सार्थक काम गरौँ भन्ने भावना पनि विद्यार्थीमा नहुने होइन ।

बुधबार बिहानै रूपन्देहीको ओमसतिया–१ मा पर्ने ठुटीपिपलमा भिन्नै कामका साथ नयाँ वर्ष मनाउने भन्दै विद्यार्थीको एक समूह देखा पर्यो । उक्त समूहका विद्यार्थीहरूले हातहातमा खन्ती, कोदाला, हँसिया, कैंची–रसी, बाल्टिन–जग र ससाना बोटबिरुवा आदि लिएका थिए भने कसैले “नव वर्ष २०७८ सालको शुभ अवसरमा वृक्षरोपण कार्यक्रम लेखिएको ब्यानर” बोकेका थिए ।

उनीहरू भेला भए र निकै सक्रियतापूर्वक बुटवल–भैरहवा सडक खण्डको ठुटीपिपलस्थित लखनचोकको उत्तर र दक्षिणतर्फ सडक छेउमा फटाफट खाल्डा खनेर बोटबिरुवा रोप्न तयार पारे । लगत्तै स्थानीय जनप्रतिनिधि, समाजसेवी र शिक्षकलगायतको उपस्थिति हुँदा ती वातावरण संरक्षण अभियानका रूपमा आएका विद्यार्थीहरू झन् हौंसिए । “वातावरण जोगाऔँ, जीवन बचाऔँ” को नारासहित आएको उक्त समूह थियो–लखन चोककै पश्चिममा नजिकै रहेको मिनर्वा इङ्लिस बोर्डिङ हाई स्कुलबाट २०७६ मा एस. ई. ई. उत्तीर्ण भएका छात्र–छात्राहरूको । प्रमुख अतिथिका रूपमा उपस्थित ओमसतिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष बेलबहादुर बराल मगरले वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरे । क्रमशः विशिष्ट अतिथि टोलविकास समिति अध्यक्ष विष्णुदेवी गुरुङ, मिनर्वा स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्या. यमबहादुर थापा र सोही स्कुलका प्राचार्य राजकुमार गुरुङले वृक्षरोपण गरी अभियानमा साथ दिए । त्यसै गरी समूह समूहमा शिक्षक र ती अभियानकर्मी विद्यार्थीले पनि बोट बिरुवा रोपे, बिरुवालाई टेको बाँधिदिए र नजिकका धाराबाट पानी ल्याएर बिरुवामा राखे । यसरी तीन घण्टा लगाएर त्यहाँ विभिन्न जातका दुई दर्जनजति बोट बिरुवा लगाइएको थियो । गत वर्ष नै कार्यक्रम तय भए पनि कोरोना भाइरसको सङ्क्रमणका कारण हुन नपाएको बताइएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष, समिति अध्यक्ष, व्यवस्थापन समिति अध्यक्ष र प्राचार्यलगायतले राखेको मन्तव्यको आशय प्रायः उस्तै थियो–बोटबिरुवा मानव जीवनका लागि निकै उपयोगी हुन्छन् । बिरुवा रोपेर मात्र अभियान पूरा हुँदैन, सबैले आ-आफना ठाउँबाट रापिएका बिरुवा जगाउन र हुर्काउन सक्दो योगदान गर्नुपर्छ । त्यसका लागि एक एक जना विद्यार्थीले बिरुवा हुर्काउन जिम्मेवारी लिनैपर्छ । नयाँ वर्षकै पहिलो दिन विद्यार्थीबाट भएको रचनात्मक कामको खुलेर प्रशंसा गर्नेपर्छ । यस्ता वातावरण संरक्षणका कार्यहरूले व्यापकता र निरन्तरता पाउनुपर्दछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *