विदेशको चक्कर छाडेर मःम बेच्दै चौधरी

विष्णु भट्टराई
भैरहवा, चैत २९ ।
‘मेन्यु हे¥यो हे¥यो लाष्टमा मःम’ खाजा खान रेष्टुरेण्ट छिर्नेहरु अक्सर यसै भन्छन् । अरु नै खाने मन भएपनि मेन्यु हेर्दा हेर्दा मःमले प्रायः सबैलाई आकर्षित गर्ने गरेको । छिटो, मिठो र सस्तो पर्ने भएकोले नै होला बच्चादेखि युवा, बृद्धसम्मका लागि यो खाजा एक नम्बरकै रोजाईमा पर्ने गरेको छ । फाष्टफुडमा प्रख्यात ‘मःम’का पारखीहरुलाई भैरहवाको प्रभातपथ चोकमा रहेकोे ‘मिठो मःम’ ले विभिन्न स्वाद चखाउँदै आइरहेको छ । यसले भेज, चिकन र बफका स्टीम, फ्राई, कोथे, चिल्ली, झोल, डवल डेकर, स्वीट, सेफाली, कम्बो र ठूलो मःमः का विभिन्न स्वादहरुमा उपलब्ध गराउँदै आएको छ ।
‘मिठो मःम’ को मःम प्रतिप्लेट न्युनतम रु. ८० देखी रु. २६० सम्ममा ग्राहकहरुले स्वाद लिन सक्नेछन् । भैरहवा आसपास ५ किलोमिटर दुरीभित्र फ्रि होम डेलीभरी सुविधा रहेको छ । यस सँगैFUDY BAZAR, FOODMOOD / JUSTCALLबाट पनि ग्राहकहरुले अनलाइन अर्डर गर्न सक्नेछन् ।
युवा व्यवसायी हरिद्धार चौधरीले यो व्यवसायको सुरुवात गरेका हुन् । करिब ४ लाखको लगानीमा सुरु भएको यो व्यवसायमा ५ जना कर्मचारीले समेत प्रत्यक्ष रोजगार पाएका छन् । स्थापनाको करिब ६ महिनामा धेरै ग्राहकहरुको मन जित्न सफल भएको चौधरी बताउँदछन् । दैनिक सरदर १०० जना ग्राहकहरुलाई सेवा दिइरहेको उनी बताउँछन् ।
यसरी सुरु भयो मिठो मःम
होटल म्यानेजमेन्टमा स्नातक तहसम्मको अध्ययन गरेका व्यवसायी हरिद्धार चौधरीले विदेश जाने प्रोसेस गरिरहँदा यो व्यवसाय सुरु गरेका हुन् । उनी भन्छन् ‘विदेश जाने प्रोसेसमा थिए, तर मलाई नेपालमै केही गर्नुपर्छ भन्ने भावना जाग्यो र यो व्यवसाय सुरु गरेको हुँ ।’ उनी भन्छन् ‘ यसअघि म करिब ५ बर्ष भारतको बैंकलोरमा थिएँ, त्यहा रहँदा ‘वाओ’ र ‘केएफसी’ ब्राण्डले मलाई आकर्षित गरेको थियो । जसकारण म नेपालमै केही गर्छु भन्ने उद्देश्य राखेर लगानी गरेको हुँ । त्यससँगै भारतमा ‘ताज’ र ‘म्यारियट’ होटलमा काम गरेको अनुभवले पनि मलाई काममा सहजता ल्यायो ।’
विदेशी फास्टफुड स्टाइलमा नेपाली स्वाद चखाउने मुख्य उद्देश्य राखेको बताउने चौधरीले प्रोफेसनल मास्टर सेभ युकेका प्रतिस्पर्धी सन्तोष शाहले गरेको कामबाट प्रभावित भएको बताउँछन् । ‘सन्तोष शाहले जसरी नेपाली परिकार र स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भए त्यस्तै मलाई पनि नेपाली स्वादहरुलाई सर्वत्र फैलाउनु पर्छ जस्तो लागेर नै मेरो व्यवसायमा स्थानीय उत्पादनहरु प्रयोग गरेको छु ’ उनले भने ।
युवाहरुलाई प्रेरणा
बेरोजगार युवाहरुको लागि प्रेरणा बन्न सक्छन् व्यवयायी चौधरी । लाखौ खर्चेर बैदेशिक रोजगारको बाटो रोज्नेहरुका लागि नेपालमै काम गर्न सुझाव दिदै बेरोजगारी समस्या समाधानका लागि बैदेशिक रोजगार नै समाधानको उपाय नभएकोे उनको धारणा छ । चौधरी विदेश जाने लगानी नेपालमै लगाउन सके विदेशमा कमाउने रकम नेपालमै कमाउन सकिने तर्क गर्छन् । ‘नेपालमा हरेक क्षेत्रमा सम्भावना छ, त्यस्तो सम्भावनाहरुलाई हामीले बुझ्नुपर्छ ’ चौधरी भन्छन् ‘सामान्यतः थोरै लगानीमा पनि सानो व्यवसाय सुरु गर्न सकिन्छ । व्यवसाय सफल हुनका लागि नेपालीहरुको आवश्यकता अनुसारको व्यापार गर्नु पर्दछ । जसको लागि अध्ययन, सिप र सल्लाह सुझावको मिश्रणबाट व्यवसायमा सफल हुन सकिने उनको तर्क छ ।’
अहिले पनि आफ्नै साथीहरु विदेशको लागि प्रोसेस गरिरहँदा उनी सम्झन्छन्, धन्न म विदेश गइन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *