एकदिने निः शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न


गौतमबुद्ध सन्देश

भैरहवा
अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी एसोसिएसन पक्लिहवा तथा नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा रुपन्देही, सिद्वार्थनगर नगरपालिका–११ स्थित पिपरीहवामा माघ २१ गते बुधबारका दिन एकदिने निः शुल्क पशु स्वास्थ्य शिविर–२०७७ सम्पन्न गरिएको छ । शिविरमा भेटेरिनरी शिक्षण अस्पताल, पक्लिहवा तथा सिद्वार्थनगर नगरपालिकाको विशेष सहयोग रहेको थियो
पिपरीहवाका किसानहरुमा पशुस्वास्थ्य तथा पशुकल्याण सम्बन्धि चेतनाको स्तरलाई उकास्ने उद्येश्यले सन्चालित उक्त शिविरमा निः शुल्क औषधि वितरणका साथसाथै पशुको गोबर परिक्षण, बाझोपना र अन्य समस्याहरुमा परामर्श पनि दिइएको थियो । बिहान १० बजे देखी दिउँसो २ बजेसम्म निरन्तर चलेको शिविरमा जम्मा ६०० पशुपंक्षिहरुको चेकजाँच गरिएको थियो । सिद्वार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले कार्यक्रमबाट थुप्रै किसानहरु लाभान्भित भएको र आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरतामा ध्यान दिनु पर्ने कुरामा जोड दिनुभयो ।
अन्तराष्ट्रिय भेटेरिनरी विद्यार्थी एसोसिएसन पक्लिहवाकी अध्यक्ष सुभा श्री शर्माले प्रत्येक वर्ष यसै संस्थाबाट संचालन हुने यस शिविरले पशुपालनमा किसानहरुले झेल्दै आएका समस्याहरुलाई केही हदसम्म भएपनि निवारण गरेको कुराले कार्यक्रमले सार्थकता पाएको र आफुहरुलाई अझ धेरै हौसला र प्रेरणा प्रदान भएको बताउनुभयो ।
भेटेरिनरी शिक्षण अस्पतालका निर्देशक सहप्राध्यापक डा. कृष्ण काफ्ले, नेपाल भेटेरिनरी एसोसिएसन लुम्बिनी प्रदेश सदस्य डा. युवराज पन्थ, सिद्वार्थनगर नगरपालिकाका प्रमुख भेटेरिनरी अधिकृत डा. इश्वर चन्द चौधरी, पक्लिहवा क्याम्पसमा अध्यापनरत डा.रविन आचार्य, डा. सम्भु साह, डा. बिरेन्द श्रेष्ठ, डा.गंगा प्रसाद यादव, डा. राकेश यादव, लगायतले उपस्थित किसानवर्ग तथा पशु पंछिलाई आवश्यक सेवा तथा परामर्श दिनुभएको थियो । सो कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष दिलिप कुमार यादवको गरिमामय उपस्थिति पनि रहेको थियो ।
मङ्गलेश्वर एग्रोभेट सप्लार्यस, एसियन फार्माक्युटिकल्स, फ्लियुर हिमालयन, कर्नाटाका एन्टिबायोटिक्स, एम.डि.एच फार्माक्युटिकल्स, भेट म्यानकाइन्ड, नेपाल फार्माक्युटिकल ल्यबेरटरी, भाटभटेनी इन्टरनेशनल,मेड भेट प्रा.लि., मेड लिङ्क इन्टरनेशनल, क्यू मेड इन्टरनेशनल, कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रती आयोजक क्रितज्ञता प्रकट गर्दछ ।

Facebook Comments