स्थानीय तहसँग गौतमबुद्ध सन्देश

लामो समयसम्म जनप्रतिनिधिबिहीन रहेको स्थानीय तहले २०७४ सालमा सम्पन्न निर्वाचनपश्चात जनप्रतिनिधि पाएको छ । मुलुकमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तीमध्ये जनताको घरदैलोको सरकारको रुपमा मानिने स्थानीय सरकार (तह) हो । जनताको पीरमर्का तथा समस्या नजिकबाट बुझेर त्यसको समाधान गर्न अगाडी बढ्ने सरकारको रुपमा स्थानीय तहलाई बुझ्ने गरिन्छ । स्थानीय तहमा नागरिकले जनप्रतिनिधिहरूले नीति, कार्यक्रम लगायत विकास, निर्माण र कार्यशैली जस्ता पक्षहरूमा कत्तिको सिर्जनशील भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्ने विषय नजिकबाट चासो र चिन्ताका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि गरेका कार्यहरु, कोभिड–१९ ले पारेका प्रभाव र यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयास र कार्यसम्पादन गर्ने क्रममा भएका कठिनाइहरुबारे हामीले विभिन्न स्थानीय तहमा पुगेर सम्बन्धित पालिकाका जनप्रतिनिधि र कर्मचारीसंग कुराकानी गरेका छौं । प्रस्तुत छ रिब्दीकोट गाउँपालिका, पाल्पाका अध्यक्ष नारायण बहादुर जिसी र प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालसंग गरिएको कुराकानीको सम्पादित अशं ः

जिम्मेवारी अनुसार नै काम गरिरहेका छौं

नारायण जिसी
अध्यक्ष
रिब्दीकोट गाउँपालिका, पाल्पा

रिब्दीकोट गाउँपालिकाले लकडाउनको सुरुको अवस्थामै महामारी मात्रै नभएर अन्य समस्याहरुलाई पनि आफ्नै जिम्मेवारी ठानेर सम्बोधन गरेका थियौ । गाउँपालिकावासीकै हितको लागि जिम्मेवारी अनुसार नै हामीले काम गरिरहेका छौं । सुरुमा बुझाइ केही फरक भए तापनि अहिले आएर बुझ्दा महामारी होस् वा अरु नै कुनै समस्याको समाधान एकआपसमा मिलेर गर्नुपर्छ भन्ने बुझाइमा पुगेका छौं । जब महामारी फैलिरहेको अवस्था थियो त्यतिबेला सबैले अरुले नै समस्या समाधान गरिदिए हुन्थ्यो भन्ने बुझाइ धेरैको रहेको थियो । स्थानीय सरकारमा बसेकाले प्रदेश सरकारले काम गरिदियोस् भन्ने आशा गर्ने तथा प्रदेश सरकारमा बसेकाहरुले संघीय सरकारले गरोस् भन्ने आशा गर्ने । त्यस्तै गाउँमा पनि अर्काे गाउँकोले काम गरिदिए हुन्थ्यो भन्ने सोच थियो । यो समस्यालाई बुझेर हामी अगाडी बढेका थियौ । हामीले सुरुदेखि नै जिल्लाका बैठकहरुमा जान थाल्यौ । जसबाट हरेक ठाउँको समस्या आ–आफै समाधान गर्नुपर्छ भन्ने जान्न पायौ । त्यसैले सुरुवातमै पालिकामा भएका सबै विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सुरु गरेका थियौ । जसले गर्दा व्यवस्थापनमा ढिलाई भए तापनि संक्रमितहरु क्वारेन्टाइनमा बसेकाले समुदायस्तरमा संक्रमण फैलन पाएन । सीमित व्यक्तिमा मात्र भाइरस संक्रमण भयो । स्थानीयको मनोबल बलियो भएकोले पनि भाइरसले महामारीको रुप लिन सकेन । स्थानीय सरकारले जसरी माथिल्लो सरकारको आशा राखेका थियौ त्यसै गरिकन जनताले पनि स्थानीय सरकारको आशा राखेका थिए । विश्वव्यापी रुपमा फैलिएको महामारी विकसित मुलुक हुँदै हाम्रो स्थानीय तहहरुसम्म आइसकेको छ । यसको रोमथामका लागि एक्लै सम्भव नभएकोले व्यक्तिव्यक्ति, शिक्षक, कर्मचारी तथा उद्यमी र व्यवसायीहरुसंग सहकार्य गरेर विपद् व्यवस्थापन कोषको निर्माण ग¥यौँ । जसमा ५३ जना व्यक्ति, संस्था तथा उद्योगीहरुबाट करिब १ करोड रकम विपद् कोषमा जम्मा भयो । प्रदेश सरकारबाट १० लाख र संघीय सरकारबाट ६ लाख प्राप्त भएको थियो । विपद् कोषमा जम्मा गरिसकेपछि हामीले राहत वितरणको कार्यलाई अगाडी बढायौँ । सुरुका दिनहरुमा राहत वितरण फेसन जस्तो पनि भयो । राहत नपाए आजको भोलि नै मरिन्छ की जस्तै सोच गाउँपालिकावासीमा आउन थालेको पाइयो । दोस्रो चरणको राहतपछि राहतले केही नहुँदो रहेछ भन्ने सबैले बुझ्न थाले र राहत वितरणको काम त्यहीं नै रोकियो । लकडाउनपछि बाहिरबाट गाउँ फर्किनेहरुको लागि आउनेजाने भाडाको व्यवस्था गरेर सँगै खानाको लागि दिनको ४ सयका दरले पैसाको व्यवस्था गरी विद्यालयमा बसालेका थियौ जसमा २३ लाख जति खर्च भएको थियो । यससँगै विद्यालयमा विद्युत, पानी लगायत स्वास्थ्य तथा सुरक्षाका सामाग्रीहरु जुटाउँदै सुरक्षाकर्मी र पत्रकारहरुलाई पीपीई समेत प्रदान गरेका थियौ । जिल्लाको अनुगमन टोलीले अन्य गाउँपालिकाको तुलनामा हाम्रो गाउँपालिकामा व्यवस्थापन राम्रो भएको बताएका थिए । भाइरसले गर्दा गाउँका मान्छेहरुमा त्रास बढ्दै गइरहेको थियो । बाहिर जानु हुँदैन कतै गयो भने भाइरस सर्छ भन्ने त्रास धेरै थियो । सो त्रासलाई हटाउन समिति बनाइए हामी आफैले दूरी कायम गरी बोल्दा या भेट हुँदा भाइरसले आक्रमण नगर्ने भनी बुझाउन थाल्यौं । गाउँमा दक्ष डाक्टरहरु नभएको र एच ए तथा सामान्य नर्सले उपचार गर्ने भएकोले उत्कृष्ट सेवा दिन नसकेता पनि जे छ त्यसलाई व्यवस्थित तरिकाले काम गरेका थियौ । हात धुने विधि, मास्क प्रयोग गर्ने तरिका तथा आयूर्वेद र अन्य औषधीहरुको सेवनको लागि हरेक वडाहरुमा स्वयंसेवक परिचालन गराएका थियौं । जसले गर्दा स्थानीयको मनोबल बढाउने काम भयो । जसको कारण कम संक्रमित भएको गाउँपालिकाको रुपमा देखाउन पायौं । अझै पनि धेरै पालिकाहरुमा कार्यालयहरु तथा व्यवसायहरु बन्द गर्नुपर्ने अवस्था छ तर हामीले यस्तै केही गर्नु परेन । भेटिएका संक्रमितहरुलाई पनि घरमै राखेर सर्वदलीय समिति तथा स्वास्थ्यकर्मीको टोली घरमै पुगेर उपचारमा खटिएका थियौं । जसमा सर्वदलीय समितिको निर्णय अनुसार काम भइरहेको थियो । लकडाउनको समयमा गाउँपालिकाबाट १० लाख रुपैयाँ छुट्याएर नालाहरु निर्माण गर्ने, सरसफाई गर्ने लगायतका काममा रोजगारी दिएर खर्च गरियो । अहिलेसम्म ४५ लाख रुपैयाँले खर्च धानेको अवस्था छ । जुन खर्च सार्वजनिक गरिएको छ र अप्ठ्यारो परिस्थितिमा सहयोग गरेका सहयोगदाताहरुलाई सम्मान गर्ने योजना पनि हामीले बनाएका छाँै । जत्तिसुकै अप्ठेरो परिस्थिति भए पनि हामीले विकासका कामहरुलाई रोकेका छैनौं । विकासका योजना, भेला तथा मेसिनरी औजारका कामहरुलाई पनि हामीले बन्द गर्नु परेन । भेला तथा गोष्ठीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर २५ जना भन्दा कम जम्मा भइ सम्पन्न गरेका छौं । विकास तथा पूर्वाधारको् केही काम बन्द भयो । जसको ५० लाखमध्ये ४५ लाख फिर्ता गरेर कोभिड कोषमा जम्मा गरेका छौं । बाँकी रहेका अरु सबै कार्यहरु सूचारु नै छन् । व्यवसाय गर्न गाह्रो छ फेरी पनि सबैभन्दा कम स्रोत भएको गाउँपालिकामध्येमा हाम्रो गाउँपालिका पनि पर्ने गर्छ । आफ्नै स्रोत जम्मा ३५ लाखसम्म पुग्ने गरेको छ । अन्य खर्च संघीय सरकारको आधारमा गर्ने गरेका छौँ । कृषिमा आधुनिक औजारका सामाग्री, सिँचाई तथा वातावरणका कुरा सबैतर्फ सन्तुलित तरिकाले काम गरिरहेका छौँ ।
सबै ठाउँमा सर्वदलीय रुपमा राजनैतिक दल तथा अन्यको सुझावमा काम गरिरहेका छौ । जसले गर्दा त्यति धेरै गुनासो आएको छैन । हामीलाई कस्तो लाग्छ भने कसैको काम कसैलाई पन्छाउँदैमा समाधान नहुने हुँदा सबैको सहमतिको आधारमा काम अगाडी बढाइरहेका छौँ । भाइरसको सन्दर्भमा शक्तिशाली राज्यहरुले पनि यसको औषधीको टुंगो अझै नलगाइसकेकाले हामीले यसमा केही गर्न सक्ने अवस्था छैन । हामीले आफ्नो मनोबल र व्यवस्थापनलाई ठिक गर्दै गयौँ भने सबै कुरा विस्तारै ठिक हँुदै जानेछ भन्ने कुरामा विश्वास राखेका छौँ । अहिलेसम्म पालिकामा दुई जना जनप्रतिनिधिले मात्र पीसीआर परिक्षण गरेका छौँ । अन्य कसैले पनि परीक्षण गराएका छैनौ । संक्रमण भइहाले पनि निको भइरहेको देख्न पनि सकिन्छ । त्यसैले आत्तिनुपर्ने अवस्था छैन् ।
—————————————————————–

मापदण्ड अनुसार विकास निर्माणका कार्यहरु अगाडी बढाएका छौं
प्रेमचन्द्र अर्याल
प्रमुख प्रशासकीय अधिकृत
रिब्दीकोट गाउँपालिका, पाल्पा

रिब्दिकोट गाउँपालिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या पाल्पा जिल्लामै न्यून रहेको छ । संक्रमितको संख्या त्यति बढी छैन । कोभिड–१९ को संक्रमणको सन्दर्भमा आफ्नो धारणा राख्दा कोभिडमा विकसित राष्ट्रहरु अमेरिका बेलायत तथा नेपालमै पनि काठमाण्डौ, बुटवल जस्ता शहरहरुमा व्याख्या गरे जस्तो रणनीति भन्दा पहाडी इलाकाका गाउँहरुमा रणनीतिहरु फरक हुनुपर्छ । किनकी गाउँहरुमा घरहरु छरिएर रहने र बस्ती बाक्लो नहुने हँुदा यसै अनुसारको रणनीति तयार गरिनुपर्छ । यसैले पहाडी इलाकाका पालिकाहरुले स्वास्थ्य मापदण्ड अपनाएर रणनीतिहरु तयार गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । साथै स्वास्थ्य मापदण्डको पालना गर्दे गाउँपालिकाले आफ्ना विकास निर्माणका कार्यहरुलाई अगाडी बढाउनुपर्छ । भदौ महिनाको १४ गतेदेखि रिब्दिकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएको छु । सोही दिनदेखि नै हामीले उपभोक्ता समिति गठन गर्ने अन्य विकास निर्माणका कार्यहरुलाई अगाडी बढाउने कामहरु गरिरहेका छौ । कोभिड–१९ नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरु खटिनुभएको छ । जनचेतना फैलाउने, संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने तथा बाहिरबाट आएकालाई होम क्वारेन्टाइनमा राख्ने काम गरिरहेका छौ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दे पालिकामा भिडभाड नगर्ने र मापदण्ड अनुसार मात्रै काम गर्ने गरी विकास निर्माणका कार्यहरु अगाडी बढाइरहेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *