उज्यालो रैनादेवीको नारा यसै वर्ष पुरा हुँदैछ

लामो समयसम्म जनप्रतिनिधिबिहीन रहेको स्थानीय तहले २०७४ सालमा सम्पन्न निर्वाचनपश्चात जनप्रतिनिधि पाएको छ । मुलुकमा अहिले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकार छन् । तीमध्ये जनताको घरदैलोको सरकारको रुपमा मानिने स्थानीय सरकार (तह) हो । जनताको पीरमर्का तथा समस्या नजिकबाट बुझेर त्यसको समाधान गर्न अगाडी बढ्ने सरकारको रुपमा स्थानीय तहलाई बुझ्ने गरिन्छ । स्थानीय तहमा नागरिकले जनप्रतिनिधिहरूले नीति, कार्यक्रम लगायत विकास, निर्माण र कार्यशैली जस्ता पक्षहरूमा कत्तिको सिर्जनशील भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् भन्ने विषय नजिकबाट चासो र चिन्ताका साथ हेरिरहेका छन् । यसै सन्दर्भमा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि गरेका कार्यहरु, कोभिड–१९ ले पारेका प्रभाव र यसको नियन्त्रण तथा रोकथामका लागि भएका प्रयास र कार्यसम्पादन गर्ने क्रममा भएका कठिनाइहरुबारे हामीले विभिन्न स्थानीय तहमा पुगेर सम्बन्धित पालिकाका जनप्रतिनिधिसंग गरेका छौं । प्रस्तुत छ रैनादेवी छहरा गाउँपालिका, पाल्पाका अध्यक्ष राम बहादुर कार्कीसंग गरिएको कुराकानीको सम्पादित अशं ः


राम बहादुर कार्की
अध्यक्ष
रैनादेवी छहरा गाउँपालिका, पाल्पा

२०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भयो । त्यही बेलादेखि नै पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले कोरोनाविरुद्ध विभिन्न कार्यहरु अगाडी बढायो । हेल्थ डेक्स निर्माण कार्यदेखि लिएर क्वारेन्टाइनको स्थापना ग¥यौँ । क्वारेन्टाइन निर्माण गरिसकेपछि विदेशबाट आएका ११ सय जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलायौं । क्वारेन्टाइनमा खाना तथा बस्ने व्यवस्था गाउँपालिकाले गरेको थियो । विदेशबाट आइ क्वारेन्टाइनमा बसेका ११ सय जनाको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट आएकालाई घर पठाइयो र पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेशनमा राख्ने काम गरेका थियौँ ।

गाउँपालिकाले आफ्नै आइसोलेशन निर्माण नगरेको भए पनि पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेजसंग सहकार्य गरेर बिरामीको उपचार गरी घर फिर्ता पठाएका थियौँ । गाउँपालिकामा हालसम्ममा विदेशबाट आएका ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिले उहाँहरु सबै सकुशल नै हुनुहुन्छ । कोरोना कहरमै गाउँपालिकाले दैनिक मजदूरी गरेर खाने विपन्न नागरिकको लागि दैनिक राहत प्याकेजको व्यवस्था गरेका थियो । चामल, दाल, नून, तेल लगायत २० लाखसम्मका राहत प्याकेजहरु बाँडिएको थियो । पछि राहत प्याकेजलाई बन्द गरेर दैनिक मजदूरी गरेर खानेलाई गरेर खान दिनुपर्छ भन्ने सोचेर सडक, भवन निर्माण तथा विभिन्न काममा लगायौं । अहिलेसम्म प्रदेश ५ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि १० लाख रुपैयाँ दिएको थियो । त्यस्तै संघीय सरकारले हालसम्म ४ लाख पठाएको छ ।
रैनादेवी गाउँपालिकाले कोरोना कहरमा करोडौँ रुपैयाँ खर्च गरेको भए तापनि सरकारले सहयोगको लागि चासो देखाएको छैन । साँच्चिकै भन्ने हो भने संघीयतापछिको गणतन्त्रको हामीले जुन कल्पना गरेका थियौ त्यो भन्दा धेरै फरक रहेको छ । कोरोना नियन्त्रणकै सन्दर्भलाई हेर्ने हो भने पनि गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीको निर्देशनमा स्थानीय तहहरुलाई काम गर्न परिरहेको अवस्था छ । वास्तवमै यो नसुहाउँदो काम भएको छ । निषेधाज्ञा जारी भएदेखि हरेक कुरामा प्रमुख जिल्ला अधिकारी अघि बढ्नुपर्ने हो तर पाल्पा जिल्लामा त्यो पाउन सकिएको छैन । गृह मन्त्रालयबाट जुन निर्देशन आयो प्रमुख जिल्ला अधिकारीले पनि सोही निर्देशनलाई मात्रै अगाडी बढाएको पाइएको छ ।
जिल्ला प्रशासनले जिल्लाका स्थानीय तहहरुमा के कस्तो छ भनी खासै चासो राखेको पाइँदैन । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नागरिक, कर्मचारी तथा जनप्रतिनिधिहरु लागिपरेको अवस्था छ । गाउँपालिकाको विकासको कुरा गर्दा तीन वर्ष बितिसक्दा पनि सोचे अनुसारको काम भने गर्न सकिएको छैन् । परिस्थिति र मानिसको काम गर्ने तरिका धेरै फरक हुँदो रहेछ । राजनीतिक दलहरुको छत्रछायाँमा काम गरेका व्यक्तिहरु अहिले जनप्रतिनिधिसंग मिलेर काम गर्नुपर्दा परिस्थिति अप्ठयारो भएको छ । अहिले रैनादेवी छहरा गाउँपालिकाको कुरा गर्दा सडकमा ३ किलोमिटर सडक ढलाइ गरिसकेको छ र ३ किलोमिटर सडक टेण्डर प्रक्रियामा १४ करोडको काम अघि बढ्दैछ । सडकको स्तरउन्नति गर्ने काम गरिरहेको छ । हरेक टोलटोलमा बाटो पु¥याइसकेको छ । यो गाउँपालिका ३ जिल्लाको संगमस्थलको रुपमा रहेको गाउँपालिका हो जहाँ उत्तरमा गुल्मी, पश्चिममा अर्घाखाँची र दक्षिणमा रुपन्देही पर्छ ।
भुगोलको हिसाबले पनि ठूलो यस गाउँपालिकामा स्थानीय तहको चुनाव अगाडी धेरै वडाहरुमा विद्युत पुग्न सकेको थिएन । हामीले निर्वाचनपछिको पहिलो वर्षमै उज्यालो रैनादेवीको घोषणा गरेका थियौं । सोही अनुसार उज्यालो रैनादेवीको नारा यसै वर्ष पुरा हुँदैछ । यसै वर्ष टुकीरहित रैनादेवी गाउँपालिका घोषणा हुनेछ । अहिले रैनादेवीले सडक बत्तीहरु लगाएको छ । गाउँपालिकामा करिब १९ सय खरको छाना भएको घर थिए । गाउँपालिकाको पहिलो अधिवेशनबाटै ती घरहरुलाई खरको छानारहित बनाउने योजना बनाएका थियौं ।
यसै अभियानमा हाल १३ सय घरधुरीहरु खरको छानारहित भइसकेको अवस्था छ । बाँकी ६ सय घरलाई पनि यसै वर्ष खरको छानारहित बनाइनेछ । त्यसै गरी खानेपानीको सन्दर्भमा हामीले १५ वटा खानेपानी लिफ्टिङ सञ्चालनको तयारी गरेका छौं । जसमध्ये ३ वटा सम्पन्न भइसकेको र यसै वर्ष ६ वटा लिफटिङ् खानेपानी योजना पुरा हुनेछन् । शिक्षा क्षेत्रमा अहिले जनप्रतिनिधिले खासै केही गर्न सकेको अवस्था छैन । केन्द्रिय शिक्षा नीति नबनिसकेको हुनाले स्थानीय रुपमा शिक्षा नीति बनाउने तयारीमा थियौ तर कोभिड–१९ को प्रभावका कारणले गर्दा हामीले रेडियो शिक्षा प्रदान गरेका थियौ ।
विद्यार्थीले यसबाट फाइदा लिएका थिए । त्यस्तै कृषि क्षेत्रमा पनि गाउँपालिकाले विभिन्न कामहरु गरेको छ । किसानहरुलाई हाते ट्याक्टरहरु बांड्ने काम गरेका छौ । प्याकेजिङ् बिउको व्यवस्था गरेका छौँ । दुध तथा तरकारीमा अनुदान दिदै आएका थियौँ भने यसै वर्षबाट सहभागिताको आधारमा पशुपालनमा पनि अनुदान दिने तयारीमा लागेका छौ ।
त्यस्तै पालिकामा पहिले ८ वटा मात्र स्वास्थ्य चौकीहरु रहेका थिए अहिले भने ४ वटा स्वास्थ्य ईकाईहरु खुलेका छन् । हामी निर्वाचित भएर आउनु भन्दा पहिले पालिकामा ल्याबहरु थिएनन् हामीले ल्याबको सञ्चालनको समेत व्यवस्था गरेका छौ । एउटा मात्र आयूर्वेद सेवा केन्द्र रहेकोमा त्यसलाई ३ वटा इकाईमा सञ्चालन गरेका छौ र वडाहरुमा पनि स्थापना गरेका छौ । यस्तै सिँचाईको लागि पनि नहरहरुको स्थापना गर्ने क्रममा छौ । त्यस लक्ष्यलाई आगामी वर्षसम्म साना तथा ठूला नहरहरु स्थापना गरी पुरा गर्नेछौ । योसँगै बाहिर देखिने खालका भन्दा पनि धेरै योजनाहरु बाहिर आउन बाँकी नै रहेका छन् । जसलाई हामीले क्रमबद्ध तरिकाले काम गर्दै गइरहेका छौ । त्यसै गरी गाउँपालिकाको भवनको टेण्डर गत वर्ष नै भएको र हाल काम सुचारु रहेको छ ।
यसै आर्थिक वर्ष भित्रमा हामीले पालिकाको नयाँ भवन निर्माण गरिसक्ने छाँै । रैनादेवी छहरा गाउँपालिकालाई खेलकुदमा अगाडी बढाउने उद्देश्यले पश्चिम पाल्पा जिल्लाकै नमूना रंगशालाको निर्माण गर्न गइरहेका छौँ । रंगशाला निर्माणको लागि संघीय सरकारबाट पनि विशेष सहयोग लिएर काम अगाडी बढाएका छौँ । निर्वाचनमा घोषणा भएका तर अहिलेसम्म पनि पूरा नभएका सबै कामहरुलाई हामीले निरन्तरता दिनेछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *