किसानलाई वर्षेनी मलकै अभाव

विष्णु भट्टराई/भुवन आचार्य
भैरहवा, १७ साउन ।
कृषिप्रधान देश नेपाल जहाँ ६० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको छ । नेपालको कृषि क्षेत्रमा परनिर्भरता बढ्दो देखिएको छ । खाद्यान्नदेखि तरकारी, फलफूलकोे आयात उच्चदरमा बढिरहेको सरकारी तथ्यांकले देखाउँछ । देशको करीब दुईतिहाई जनसंख्याको जीविकोपार्जनसंग जोडिएको कृषि क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसक्दा पछाडी परिराखेको छ । नेपालको तराई क्षेत्रलाई खाद्यान्नको उर्भरभुमि मानिन्छ । तर कृषकहरुलाई सरकारी तवरबाट प्रोत्साहनसंगै आवश्यक कृषिजन्य सामग्रीको अभाव हुँदा क्षमता अनुसारको उत्पादन हुन सकेको छैन ।

धान रोपाइँको समयमा होस् या धान पसाउने बेला वर्षेनी किसानलाई रासायनिक मलको अभाव हुने गरेको छ । यो वर्ष पनि भैरहवा र यस क्षेत्रका किसानले यो समस्या भोगिरहेका छन् । सरकारले समयमा किसानलाई युरिया र डिएपी मल उपलब्ध गराउन नसक्दा धान रोप्ने बेला समस्या झेलेका किसानले धान पसाउने बेलामा पनि मल राख्न पाइरहेका छैनन् । किसानलाई मल विक्री गर्दै आइरहेका स्थानीय आ.र.जी विविध सप्लायर्स भैरहवाका प्रोपाइटर प्रदिप यादवले किसानहरुले यो वर्ष पनि मलको लागि भेरै दुःख पाइरहेको बताए । कृर्षि सामग्री केन्द्रले समयमा मल ल्याउन नसक्दा साल्ट ट्रेडिङ कर्पाेरेशनमार्फत साप्ताहिक ४० बोरा मात्र युरिया मल ल्याई विक्री गरेको बताए ।

कडा मिहिनेत र ठूलो लगानी गरेर धानखेती गरेको भए पनि युरिया मलको अभाव भएको भैरहवाका कृषक स्वामीनाथ यादवले बताए । नेपाली बजारमा युरिया मल सहज रुपमा नपाउँदा कृषकलाई समस्या भएको उनले बताए । कोरोना भाइरस महामारीका कारणले ठूलो आर्थिक नोक्सानीको सामना गरेका कृषकहरुले अहिले आएर धानखेती गरेको भए पनि समयमा युरिया मल नपाएका कारणले झन समस्या भएको कृषकहरु बताउँछन् । कोरोना भाइरस संक्रमणका कारण नेपाल–भारत सिमाना सिल गरेकाले भारतीय युरिया मल समेत ल्याउनका लागि समस्या भएको कृषक हरि प्रसाद पासवानले बताए । त्यस्तै कृषक खुस्वु निसाले सिंचाईको व्यवस्था नभएको र समयमा पानी पर्न नसक्दा आफुहरुले पम्पसेट चलाएर धानमा पानी राखेको बताइन् । कृषक जावेद अली गुनियाले आफुले तरकारी खेती गर्दै आइरहेकोमा सिंचाई र मलकै अभाव रहेको बताए । उनले भारतीय तरकारी नेपाल भित्रिदा आफुहरुको तरकारीले उचित मुल्य नपाएको गुनासो गरे ।

पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको कारणले देशमा लकडाउनको स्थिति सिर्जना भएको छ । जसले गर्दा धान उत्पादन हुने बेला मलको अभाव भएको स्थानीय कृषकहरु बताउँछन् । सरकारले समयमै मल दिन नसकेको भन्दै उनीहरू आक्रोशित छन् । त्यसैले यो वर्ष धान उत्पादमा कमी हुने देखिन्छ । उत्पादन भए पनि किसानले उचित बजार मुल्य नपाउँदा आफुहरु मारमा परेको कृषक राजेन्द्र प्रसाद रेग्मीले गुनासो गरे ।

किसानलाई मलको मात्र होइन, आवश्यक आधुनिक कृषि उपकरण, सिंचाइ र उत्पादन पछि बजारको पनि उत्तीकै समस्या छ । सरकारले कृषि क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा धेरै कृषकहरु पलायन हुने अवस्थामा पुगेका छन् । देशको अधिक जनसंख्याले वैदेशिक रोजगारको बाटो रोजीरहदाँ देशमै कृषि व्यवसायमा रोजगारीको व्यवस्था गर्न सके देशलाई आत्मनीर्भर बनाउनमा टेवा मिल्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *