लगानीको सुरक्षा गर्न पनि ग्राहो भयो : होटल व्यवसायी

विष्णु भट्टराई/भुवन आचार्य
भैरहवा, १६ भदौ।
कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई यति बेला आक्रान्त पारेको छ । धेरैजसो मुलुकले आर्थिक मन्दीको सामना गरेका छन् भने कतिपय मुलुकमा कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या पनि अत्याधिक छ । त्यस्तै न्यूजिल्याण्ड जस्ता मुलुकले पुर्व सावधानीका कारण यसको क्षति कम व्यहोरेका छन् ।

आर्थिक हिसाबले ठूलो सकटको सामना गर्नुपर्ने देखिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यसले जनमानसमा त्रास पैदा भएको छ । लकडाउनसंगै व्यापार व्यवसाय ठप्प प्राय छन । व्यापार, व्यवसाय ठप्प हुँदा धेरैलाई बैंकको ब्याज, घर भाडा, मजदुरको तलब, कर लगायतले व्यवसायीहरुलाइ पिरोल्न थालेको छ । परिस्थिति अझै भयावह भएर व्यवसाय नै बन्द हुने हो कि भन्ने चिन्ता धेरैलाई लागेको छ । अब व्यवसायलाइ
पुरानो अवस्थामा फर्काउन र व्यवसाय डुब्नबाट जोगाउनका लागि के गर्ने भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको छ ।

अहिले सबैभन्दा धेरै मर्कामा होटल तथा पर्यटन व्यवसाय परेको छ । गत चैत ११ गतेदेखि देशमा पूर्ण रुपमा लकडाउन भएपछि नेपालमा सञ्चालन भइरहेका मझौला र तारे होटल, रिसोर्ट, होमस्टे, लज लगायत सबै सेवा पूर्ण रुपमा ठप्प भएपछि व्यवसायीहरु प्रत्यक्ष मारमा परेका हुन । व्यवसायीहरुका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा नेपालको होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा पनि बढेको छ ।

नेपालका होटल, लज, रिर्सोट र होमस्टेहरुमा हजारौले प्रत्यक्ष रोजगारी पाएका छन । अर्कोतिर होटल व्यावसायकै कारण पर्यटन क्षेत्रको आर्थिक गतिविधि पनि चलायमान हुने गरेको छ । ठूला तारे होटल, होमस्टे एवं रिसोर्टहरु मात्र नभएर मझौला होटल तथा लजहरू आन्तरिक र बाह्रय पर्यटक नहुँदा बन्द छन् । यातायात पनि बन्द भएको र कोरोनाको जोखिम कायमै रहेकोले पर्टयकहरुको आगमन शुन्य छ । पर्यटन व्यवसाय आफ्नो दैनिक खर्च धान्ने अवस्थामा समेत नभएको होटल व्यवसायीहरु बताउँछन । देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै धरासायी बन्दै गएको छ । नेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन् । कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको नेपाल वर्ष २०२० पनि स्थगित भइसकेको छ । पर्यटन वर्षमा धेरै पर्यटक भित्रयाएर राम्रो आम्दानी गर्ने आशले धेरै व्यवसायीहरुले ठूलो लगानी गरेका थिए । तर लकडाउनले सबै होटल बन्द गरेर बस्नु परेपछि उनीहरु टाट पल्टने अवस्थामा पुगेका छन ।

होटल सिद्धार्थ भैरहवाका सञ्चालक समेत रहेका उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल कुमार ज्ञवालीले सरकारले कोभिड–१९ को महामारीको बीच पर्यटन व्यवसायीलाई सम्बोधन गर्न नसकोको बताउँदै मौद्रिक नीतिमा समावेश भएको व्याज छुट लगायतका कुराहरुलाई बैंकहरुले अझै पनि कार्यान्वयन नगरेको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासेले आफुहरुले पटकपटक व्यवसायीका समस्याहरुलाई सम्बन्धित निकाय समक्ष राखे पनि सुनुवाई हुन नसकेको बताए । आफुहरुले राखेका ९ बुँदे मागहरुमध्ये स्थानीय सरकारले घरबहालमा २० प्रतिशत छुट गरेको छ जसबाट व्यवसायीलाई थोरै भए पनि राहत महसुस भएको उनले बताए । अब सरकारले दिर्घकालीन सोच बनाएर अगाडि बढ्नुपर्ने बताए ।

त्यस्तै होटल ब्लु स्काईका प्रोपराइटर चोपलाल आचार्यले भैरहवा क्षेत्र पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र भएकोले यस क्षेत्रमा होटल तथा पर्यटन व्यवसायीले ठूलो लगानी गरको बताउँदै अब लगानीको सुरक्षाको चिन्ता थपिएको बताए । अव कोरोना प्रकोप कहिले हट्छ भन्ने निश्चित नभएको अवस्थामा राज्यले राहत प्याकेज ल्याउनुपर्ने उनले बताए । अहिले व्यवसायीलाई राहत दिन सके पछि व्यवसायीले नै सरकारलाई सहयोग गर्ने वातावरण बन्ने बताए ।

होटल ग्याप एण्ड रेष्टुरेण्टका व्यवस्थापक मनिष ढकालले लकडाउनको अवस्थामा आफुहरु आर्थिक भारमा परेको बताए । उनले भने– ’कर्मचारीलाई न तलब दिएर राख्न सक्ने अवस्था रहेको न त घर पठाउने अवस्था छ तर पनि कर्मचारीलाई आपसी समझदारीमा खान बस्नको व्यवस्था गरेका छौ । त्यस्तै घरभाडा, बैंक व्याज, कर्मचारी व्यवस्थापनमा समस्या परेको बताए ।

होटल पौवाका प्रबन्धक विष्णु भण्डारीले अहिलेको अवस्थामा पर्यटन र होटल व्यवसाय लथालिंग भएको बताए । व्यवसायीहरु धरासायी भएको अवस्थामा सरकारी तवरबाट कुनै राहत आउन नसकेको बताउदै सरकारले रणनीति तयार गरि अगाडि बढ्नुपर्ने बताए ।

ग्यालेक्सी गेष्ट हाउस एण्ड रेष्टुरेण्टका सञ्चालक दिनेश पौड्यालले पर्यटन व्यवसायमा आधारित भएर होटल व्यवसाय सञ्चालन भएको अवस्थामा अहिले पर्यटकहरु आउने अवस्था नरहेको अवस्थामा सरकारले नै व्यवसायीको विषयमा सोच्नुपर्ने बताए । उनले व्यवसाय चन्न नसक्दा व्यवसायको भौतिक सम्पत्तिमा क्षति पुग्ने र यस्तै अवस्था रहेमा गरिबीको समस्या निम्तिने बताए । बैंकमा खराब ऋण बढ्न जाँदा बैंकसंगै देशको अर्थतन्त्र पनि प्रभावित हुने उनले बताए ।

होटल क्रस रोडका सञ्चालक वाई.पी. आचार्यले अब होटल व्यवसाय विधि र पद्धचि अनुसार राज्यले सञ्चालन गर्न पहल गरेमा मात्र बच्न सक्ने अन्यथा होटल व्यवसाय बन्द हुँदा त्यसको असर देशकै अर्थतन्त्रमा धक्का पुग्ने बताए । व्यवसायीले बैंक ऋण तिर्न नसकी धितो लिलाम प्रक्रियामा पुग्दा व्यवसायी नकारात्मक अवस्था (आन्दोलन) तिर सोच्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

सिद्धार्थ होटल एसोसियसन रुपन्देहीका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले कोभिड–१९ कारण भएको लकडाउनले आर्थिक क्षेत्रमा ठूलो संकटको अवस्था आएको
बताए । उनले होटल व्यवसायलाई धरासायी हुनबाट बचाउनका लागि आफुहरुले गत चैत ४ गते नै होटलहरुलाई क्वारेन्टाइन र आइसोलेसन बनाउन सुझाव दिएको बताए । उनले होटललाई क्वारेन्टाइन र आइसोलेशन बनाउन सकेमा संक्रमण रोक्न सहयोग पुग्ने र बाहिर नयाँ भौतिक संरचना बनाउदा लाग्ने लागत पनि कम हुने बताए । सरकारलाई आवश्यक परेमा आफ्नो संस्थामा आबद्ध ४३ वटा होटलबाट ४ हजारसम्म मान्छेलाई व्यवस्थापन गर्न सक्ने अवस्था रहेको बताए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका निवर्तमान अध्यक्ष रामचन्द्र रेग्मीले रुपन्देहीमा १७ सय बढी साना तथा ठूला होटल व्यवसायी रहेको र करीब ३० अर्ब नयाँ लगानी जिल्लामा थपिको अवस्थामा यस्तै अवस्था भएमा लगानी सुरक्षाको ठूलो चुनौती बढ्ने बताए । उनले रुपन्देही जिल्लामा करिब ८ हजार होटल व्यवसायमा काम गर्ने कामदारहरु बेरोजगार हुने अवस्था आएको बताउदै अब सरकारले बेलैमा सोच्न नसके ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था आउने बताए ।

सरकारले होटल क्षेत्रका लागि उचित समयमै उचित राहब्क्त दिन नसके खर्बाैं रुपैयाँ लगानी भएको होटल क्षेत्र पूर्ण रुपमा धरासायी हुने मात्र नभएर नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ । जसबाट देशले खर्बौंको आम्दानी मात्र गुमाउने छैन लाखौं नागरिकको रोजगारी समेत गुम्ने खतरा बढ्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *