लकडाउनमा के गर्दैछन् सरकारी कार्यालय ?

विष्णु भट्टराई
भैरहवा, १४ भदौ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारीविरुद्ध लड्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ ।

सरकारले जारी गरेको लकडाउनलाई सबै दल, नागरिक क्षेत्र र आम नागरिकले समर्थन गरेका छन् । बाध्यात्मक यस लकडाउनका कारण समग्र आर्थिक गतिविधि र खासगरी ज्यालादारी, श्रमिक र गरिखाने वर्ग समस्यामा परेको छ । सम्बन्धित तहमा कार्यान्वयन तथा समन्वयका क्षेत्रमा कतिपय गुनासो र कमजोरीहरु देखिएका छन् ।

लकडाउन घोषणा गरेसँगै निजी मात्र होइन धेरैजसो सरकारी कार्यालयहरूको सेवा प्रवाह प्रभावित हुँदै आएको छ । लकडाउनका कारण अन्य समयमा भिडभाड देखिने भैरहवामा रहेका अधिकांश कार्यालयहरु सुनसान देखिन्छन् । हुन त सेवाग्राही नै नभएपछि सरकारी कार्यालयहरु सुनसान देखिनु स्वभाविक नै हो । तर पनि कार्यालयका आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरूलाई उपस्थित हुन भनिएको छ ।
लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएका बेला सरकारी कार्यालयमा पनि अत्यावश्यक भएका अन्य सेवाहरु स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी जनक थापाले हाल लकडाउन भएको अवस्थामा कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु प्रवाह नगरिएको बताए ।

जिल्ला नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सालिकराम लम्सालले प्रत्यक्ष सेवाग्राहीलाई सेवा प्रवाह बन्द गरिएको अवस्थामा कार्यालयका आन्तरिक कार्यहरु गरिरहेको बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले स्वास्थ्य सेवा अन्तर्गतका सम्पूर्ण सेवाहरु सञ्चालन गरेको बताउँदै नगरपालिकाले अत्यावश्यक सेवा अन्तर्गतका सम्पूर्ण कार्यहरु जारी राखेको बताए ।
‘दमकल, सरसफाइ र विद्युतका कामहरु नियमित भइरहेको र वडा कार्यालयमा पनि आवश्यकता अनुसारनियमति रुपमा सेवा प्रवाहरु भइरहेको छ, उनले भने ।’ त्यस्तै कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका कार्यहरु गरिरहेको बताए ।

नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झाले दैनिक कार्य सञ्चालनका लागि सम्पूर्ण कर्मचारीहरु उपस्थित भइ जनगुनासो अनुसार मर्मत सम्भारका काम गरिरहेको बताए । लकडाउन अवधिभर महशुल भुक्तानी नगरेकै कारण ग्राहकको लाइन नकाटिएको र कार्यालयसम्म आउने सेवाग्राहीहरुको हकमा भने दिनमा १० देखि ५० जनासम्म सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्दै सेवा प्रदान भइरहेको बताए । उनले अनलाइन सेवामार्फत मिटर रिडिङ र महशुल भुक्तानीको लागि अनुरोध गरे ।

त्यसै आन्तरिक राजस्व कार्यालय भैरहवाका कर अधिकृत बसन्त अधिकारीले कार्यालयमा सेवाग्राहीलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्न नसकिए पनि अनलाइनमार्फत सेवा प्रवाह भइरहेको बताए ।

नेपाल टेलिकम भैरहवाका कार्यालय प्रमुख खगेन्द्र बहादुर श्रेष्ठले भीडभाड हुन नदिने तरिकाले ५० प्रतिशत कर्मचारीबाट सिफ्ट अनुसार कार्यालयको काम सञ्चालन भइरहेको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *