बेथरीमा डिजिटल एक्स–रे सेवा

गौतमबुद्ध सन्देश
बेथरी, ८ भदौ ।
रुपन्देहीको वेथरीमा पहिलो पटक डिजिटल एक्स–रे सेवा सुरुवात भएको छ । विगत ९ महिना देखि वेथरीमा सञ्चालित सिद्धिविनायक पोलिक्लिनिक प्रा.लि.ले गत साउन महिना देखि डिजिटल एक्स–रे सेवा सुरुवात गरेको हो ।
त्यस क्षेत्रका विरामीहरुको समस्यालाई मध्यनजर गर्दै १८ लाख लगानीमा उक्त एक्स–रे मेशिन जडान गरेको पोलिक्लिनिकका सञ्चालक डा. मान बहादुर प्रजापतिले जानकारी दिए । यस अघि उक्त क्षेत्रबाट डिजिटल एक्स–रे गर्नुपरेमा भैरहवा, वुटवल लगायतका स्थानमा धाउनुपर्ने बाध्यता थियो ।
आइतबार उक्त पोलिक्लिनिक बाट डिजिटल एक्स–रे सुविधा लिइरहेका विरामी राजेश मल्लाहले आफुले यस अघि दुई पटक सम्म छातीको एक्स–रे गर्नको लागि बुटवल धाउनु परेको हुँदा पैसासंगै समयको समेत बर्बाद भएकोमा अहिले बेथरीमै यस्तो खालको सुविधा त्यो पनि बुटवल, भैरहवाकै दररेटमा भएपछि आफुलाई पैसा खर्च भएको अनुभूति नै नभएको बताए ।
उक्त पोलिक्लिनिक बाट हाल दैनिक अल्ट्रासाउण्ड तथा एक्स–रे सेवा, २४ सै घण्टा इमजेन्सी सेवा, रगत, दिसा, पिसाव तथा अन्य प्याथोलोजी जाँच, काटेको, चिरेको ठाउँमा टाँका लगाउनुको साथै सामान्य अप्रेशनको व्यवस्था, मलद्वार सम्बन्धि बबासिर, भगन्दर तथा महेसीको सफल उपचार लगायतका सेवाहरु उपलब्ध गराएको सञ्चालक डा. प्रजापतिले बताए ।
उक्त पोलिक्लिनिकमा सञ्चालक अल्ट्रासोनोलोजिष्ट डा. प्रजापति आफैले पनि प्रत्येक दिन विरामीहरुको उपचार गर्ने गरेका छन भने बालरोग विशेषज्ञ डा. बद्री कुमार गुप्ताले प्रत्येक शनिबार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. रुक्साना हकले प्रत्येक शनिबार, रेडियोलोजिष्ट डा. मो. अख्तर अलीले प्रत्येक महिनाको अन्तिम शनिबार र जनरल फिजिसियन डा. राजु रौनियारले प्रत्येक दिन गरी विरामीहरुको उपचार सुविधा दिएको सञ्चालक प्रजापतिले बताए ।

Facebook Comments