बुद्ध मूर्ति तोडफोडको सिद्धार्थनगर उपभोक्ता समितिद्वारा भत्र्सना

गौतमबुद्ध सन्देश
भैरहवा, २ साउन ।
तिलोतत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीचभाग (डीभाइडर) मा राखेको बुद्ध मूर्ति तोडफोड भएपछि त्यसको चौतर्फी विरोध भएको छ । बुद्ध मूर्ति व्यवस्थापन समिति, सिद्धार्थनगर नगरपालिकाले विज्ञप्ती जारी गर्दै मूर्ति तोडफोड गरिनु शान्ति विरोधी गतिविधि भएको भन्दै भत्र्सना गरेको छ । तिलोत्तमाले मंगलपुरदेखि जयकुटीसम्म नगर क्षेत्रभित्र बुद्ध मूर्ति राखेको छ । बुधबार राति अज्ञात समूहले नयाँमिलदेखि शंकरनगर चोकसम्म राखिएका ५ वटा बुद्ध मूर्ति काम नलाग्ने गरी तोडफोड गरेको छ ।
उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तीमा मूर्तिमाथि भएको आक्रमण शान्तिका अग्रदूत गौतमबुद्ध माथि आक्रमण भएको महसुस गरेको जनाइएको छ । यस्तै, शान्तिमाथि खलल पुर्याउने कामको घोर भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘विश्व शान्तिका अग्रदूत गौतम बुद्ध शान्ति चाहने विश्व समुदयको प्रेरणा हुन् । वर्सेनि शान्तिको कामना गर्दै हाम्रै जिल्लामा अवस्थित लुम्बिनीमा लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । यसमा बुद्धका अनुरागीको पनि उल्लेख्य उपस्थिति छ । नगरपालिकाले बुद्धमय बनाउन थालेको अभियानलाई प्रभावित पार्न समाजमा शन्तिमाथि खलल पुर्याई हिंसा मच्याउनु निन्दनीय हो ।’
विज्ञप्तीमा मुलुक विकासको आधार स्तम्भ पर्यटन भएको र यसमा लुम्बिनीले धेरै आधारहरु तय गरेको जनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनी र आसपासलाई बुद्धमय बनाउन स्थानीय, प्रदेश र संघ सरकारले विभिन्न योजना ल्याई कार्यान्वयन गरिरहेका बेला यस्तो अवाञ्छनीय कार्य हुनुले आफूहरु स्तब्ध भएको अध्यक्ष पोखरेलले जनाए । प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेका बेला यसलाई टेवा पुर्याउने र जिल्लालाई बुद्धमय बनाउने भन्दै तिलोत्तमा र सिद्धार्थनगरले राजमार्गको बीच भागमा बुद्ध मूर्ति राखिरहेका छन् । सिद्धार्थनगरमा अहिले मूर्ति राख्ने काम जारी छ ।
उपभोक्ता समितिले आगामी दिनमा पनि शान्तिका अग्रदूतमाथि हुन सक्ने यस्ता गैरक्रियाकलाप नियन्त्रण गर्न माग गर्दै सुरक्षा व्यवस्था कडा गराउन प्रहरी प्रशासनलाई आग्रह समेत गरेको छ । मूर्ति कसले तोडफोड गर्यो भन्नेबारे अहिलेसम्म केही खुल्न सकेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments