विगतमा समाज तथा मुलुकको सामाजिक रुपान्तरणमा महिलाहरुको योगदानलाई झिनो रुपमा मानिए तापनि समुदाय तथा मुलुकको आर्थिक सबलीकरणमा महिलाहरुको योगदानलाई घरहरुको पर्खालभित्र सीमित राखी सामुदायिक तवरमा त्यति महत्व दिएको पाइँदैनथियो । तर परिवार, समुदाय तथा मुलुकको समग्र सामाजिक एवं आर्थिक परिवर्तनमा महिलाहरुको योगदानलाई अलग राखिएमा कुनै पनि मुलुकले पूर्ण विकास हासिल गर्न सक्दैन भन्ने मान्यताले आजभोली निकै बल पाएको छ ।
विगतमा महिलाहरुले उद्यम गर्नुपर्छ वा उद्यमी हुनुपर्छ भन्ने महत्वको महसुस गरिएको थिएन । महिलाले व्यवसाय किन गर्नुपर्यो भन्ने मान्यता समाजमा थियो । अझै सम्पन्न परिवारका महिला छन् भने तपाईको बुवाको सम्पत्ति छ वा लोग्नेको कमाई छ, किन दुःख गर्नुपर्यो ? वा छोरीलाई आयआर्जनको आवश्यकता नै छैन भन्ने चलन थियो । कालान्तरमा यो सोचमा परिवर्तन आएको विषय सबैले महसुस गरेका छन् । अहिले समाजमा महिलाहरु पनि आर्थिक कार्यमा सक्रिय रहेर आत्मनिर्भर हुनुपर्छ भन्ने सोच आएको छ । तर, अझै यतिले मात्रै पुग्दैन ।
सुरुदेखि नै महिला सीमित क्षेत्रमा मात्रै उद्यमीका रुपमा कार्यरत थिए । हस्तकला, घरमै बसेर गर्न सकिने सानातिना कामहरू, कृषि क्षेत्र, परिकार बनाउने जस्ता कामबाट महिला उद्यमशीलता विकास हुँदै आएको हो । पछि यसलाई व्यवसायिक बनाउनुपर्छ भन्ने सोच पनि आउन थालेको छ । बैंक र पर्यटन जस्ता सेवा क्षेत्रमा महिला थोरै थिए । अहिले उद्यमतर्फ पनि महिलाहरुको संख्या बढ्दैछ । अवसर पाए सबै क्षेत्रमा महिलाले सफलता हासिल गरेका छन् । इच्छा र आवश्यकता अनुसार क्षमता अभिवृद्धि गर्दै सिप, सूचना, प्रविधि र लगानी गर्न सकियो भने आर्थिक रुपमा उनीहरु पनि आत्मनिर्भर हुन सक्छन् ।
महिलाहरु सहकारीमार्फत बचत ऋण लगानी गर्दै सामाजिक कार्यमा पनि धेरै नै कार्य गरिरहेका छन् । शहरी क्षेत्रमा सञ्चारमा, होटेल व्यवसाय, पर्यटन क्षेत्रमा धेरै महिला उद्यमीहरु छन् । केही महिलाले व्यक्तिगत र सामूहिक रुपमा माछापालन, सामूहिक कुखुरापालन, पशुपालन र खुद्रा व्यापार, बुटिकमा राम्रो आम्दानी गरेको छन् । महिलाहरुमा प्रगतिशिल सोच आइसकेको हुनाले विगतको जस्तो स्थिति रहेन र समय विस्तारै परिवर्तन हँदै गयो ।
आत्मविश्वासको कमी र सहयोगी हातहरुको कमी भएकोले नै होला, महिलाहरु सानो लगानी गर्ने सोच भन्दा माथि उक्लिन सकेका छैनन् । त्यसैले घरमा रही सुपो बनाउने, सिलाइकटाइ, हाँस– कुखुरा, बाख्रा, गाई–भैसी पालन जस्ता काममा सीमित रहेका कारणवश मझौला उद्योग स्थापना गर्नतर्फ उनीहरुको सोच अगाडि बढ्न नसकेको देखिन्छ । विश्व बैंकको तथ्यांक अनुसार नेपालमा साना तथा मझौला उद्यममा जम्मा २ प्रतिशत महिला छन्, र सार्क क्षेत्रमा १० प्रतिशत मात्र । सार्कका सबै देशमा ५० देखि ५१ प्रतिशत महिलाहरुको जनसंख्या छ । यत्रो जनसंख्यामा जम्मा यति थोरै संलग्नता । तर, अनौपचारिक क्षेत्रको श्रममा महिलाको ८० प्रतिशत संलग्नता छ, विशेष गरेर कृषिमा । यति ठूलो योगदान छ उनीहरुको । तर, उनीहरूलाई सधैभरी यही स्तरमा राखेर भएन, अब यिनलाई व्यवसायिक बनाउनुप¥यो, नीति बनाएर सहुलियत दिनुपर्छ उनीहरूलाई । पुरानो सीपलाई आधुनिक बनाउनेतर्फ लाग्नु पर्छ ।
समग्रमा, सामूहिक लगानी र समूहमा लगानी गरेर व्यवसायिक बनाउन सकियो भने महिलाहरूको कामलाई औपचारिक अर्थतन्त्रमा गणना हुने काममा प्रवेश गराउन सकिन्छ । भुटान र श्रीलंकाका महिला यसतर्फ अघि छन्, यसो हुनुको कारण छ । किनभने, सामाजिक संस्कारले पनि धेरै फरक पार्छ । श्रीलंकामा ९८ प्रतिशत साक्षरता छ । सबै शिक्षित छन् । यसले गर्दा आत्मविश्वास बढ्दो रहेछ । यस्तै भूटानमा पनि शिक्षा निःशुल्क छ । भुटानी पर्यटन क्षेत्रमा महिलाहरु पुरुष भन्दा निकै अगाडी छन् । उनीहरू एकदमै सक्षम छन्, पढेलेखेका छन् र व्यवसायमा लगानी गर्न हिच्किचाउँदैनन् । परिवारले पनि उनीहरूलाई सहयोग गर्ने रहेछन् । त्यसैले त्यो देशको सामाजिक संस्कार र शिक्षाको अवसरले पनि धेरै फरक पार्दो रहेछ ।
आर्थिक क्षेत्रको तुलना गर्ने हो भने, श्रीलंका र भुटान भन्दा हामी पछाडी नै छौ । बंगलादेश, पाकिस्तान, भारतका तुलनामा नेपालका नीतिहरू भने लैगिंकमैत्री छन् । तसर्थ, यी नीतिहरुको सफल कार्यान्वयनका लागि राज्यले गरिबीमा पिल्सिएका महिलाहरुमा उद्यमशिलताको विकास गर्नका लागि महिला उद्यमशिलता विकास कोष स्थापना गर्नुपर्दछ र सीपमुलक तालिम, कच्चा पदार्थको पहिचान र जोहो, उत्पादन, बजारको पहिचान, बजारीकरण जस्ता महत्वपूर्ण आर्थिक क्रियाकलापहरुमा दक्ष बनाउनेतर्फ अग्रसर गर्दे लानुपर्दछ ।
मेरो ३० वर्षको सरकारी र सामाजिक क्षेत्र र सहकारी क्षेत्रको अनुभवमा पनि महिलालाई आर्थिक रुपमा अगाडि बढाउन सामाजिक मूल्य, मान्यता, सोच र धारणाले निर्णय गर्ने कुरामा प्रभाव पार्नुका साथै महिलालाई अगाडि बढ्न बाधा परिरहेको छ । अर्कोतिर लैंगिक हिंसा, महिलाका स्वास्थ्य समस्या, पाठेघर खस्ने, गर्भको दौरानमा र सुत्केरी अवस्थामा आउने जटिलताले पनि आर्थिक कार्यमा बाधा पुगेको छ ।
तसर्थ, महिला मैत्री शिक्षा, स्वास्थ्य र उपचार जस्ता क्षेत्रहरुमा सरकारी लगानी बढाउने र आवश्यकता अनुसारका अन्य क्षेत्रमा महिलाहरुलाई उपयुक्त हुने सेवामा सुधार गरी एकीकृत सेवाको अवधारणा अनुसार काम गर्नुपर्ने आवश्यकता छ । स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, राजनैतिक रुपमा सशक्तिकरण गर्न सकेमा मात्र समाजमा महिलाको हैसियत बढ्छ ।
जबसम्म महिला आर्थिक रुपमा सशक्त भएर आत्मनिर्भर हुँदैनन्, तबसम्म उनीहरूमाथि हिंसा कम हुँदैन । हाम्रो आवाज नै यही हो कि महिलाले आयआर्जन गर्न सक्ने वातावरण बनाउँ । उनीहरूलाई सक्षम बनाउँ । यसो भएमा घरभित्रका समस्या आधा घट्छन् ।
लगानी गर्नुको साटो किन काम गर्नुप¥यो ? दुःख पाएको छैन भन्ने कुरा धेरै हुन्छ । दुःख पाएर मात्र जिन्दगीमा आत्मनिर्भर बन्ने होइन रहेछ । महिला पुरुष दुवै व्यवसायी भएमा परिवार, समाज र देशलाई नै फाइदा हुने हो, अर्थतन्त्र दह्रो हुने हो । आवश्यकता वा परिस्थितिले मात्र मान्छेलाई आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचले अघि बढ्ने भन्ने हो भने आर्थिक क्षेत्रमा हाम्रो विकास र परिवर्तन कहिल्यै हुँदैन ।
आवाज उठाउन सबैभन्दा पहिला महिला सक्षम हुनुपर्यो । त्यसैले हामीले अर्थिक क्षेत्रमा भएका महिलाले उनीहरूलाई सीप सिकाइ सक्षम बनाउन आवाज उठाइरहेका छौं । समाजमा देखिएको चुनौतिहरू कम गरी सामाजिक रुपान्तरण गर्न र जीविकोपार्जनको कार्य गर्दै आत्मनिर्भर बनाउन विभिन्न सरकारी तथा सामाजिक संघ–संस्थाको समन्वयमा काम गरिरहेको छौ ।
आर्थिक क्षेत्रमा महिलाको ठूला भुमिका छ भनेर सोचमा परिवर्तन ल्याउन एकदम चुनौति छ । धेरै महिलाहरुले उद्यमशिलता तालिम लिएपछि उत्पादन त गरे तर, बजारीकरण हुन सकेको छैन । हाम्रो देशमा कृषि राम्रो सम्भावना भएको क्षेत्र हो । जग्गा जमीनको प्रयोग गरी परिवारमै बसेर पुरानो शैलीलाई परिवर्तन गरेर अलिक आधुनिक प्रविधिमार्फत व्यवसायिक हुन कृषि क्षेत्र जस्तो सुरक्षित कुनै पनि क्षेत्र छैन । तर, दुर्भाग्य हामीसंग कृषिका लागि उपयुक्त वातावरण हुँदाहुँदै पनि हामीले केही गर्न सकिरहेका छैनौं । नेपालका महिला युवाहरू विदेशमा यति कष्टपुर्ण काम गर्न जनशक्ति पलायन भइरहेका छन् । आफ्नो देशमा कर्म गर्न नपाउने निराशाजनक स्थिति छ र यो सोचमा कमी आएको अवस्था पनि छैन् ।
अहिले सहकारीमा आबद्ध महिलाहरुले बचत गरी आवश्यक सीप ज्ञान लिदै उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आत्मनिर्भर कार्यमा अगाडि बढेका थुप्रै सफल उदारणहरु छन् । त्यस्तै गैरसरकारी क्षेत्रमा र स्वयंसेवी भइ कार्य गरिरहेका महिलाहरुमा ‘म पनि जोखिम र चूनौति लिन सक्छु’ भन्ने आत्मविश्वास आइरहेको छ । तर, अझै पनि उनीहरूमा परिवार, समाज र राज्यले विश्वास गर्न सकिरहेको छैन । सानो कार्य गर्न खोजेको अवस्थामा पनि ‘यिनले पनि व्यवसाय गर्न सक्छन् र’ ? आफूले दुःख गरेर कमाएको सम्पत्ति डुब्ने पो हो की भन्ने खालको सोचाइ छ । पुरुषप्रति जति निर्धक्क भएर परिवारका सदस्यले लगानी गर्छन् त्यति नै लगानी छोरी, बहिनीहरूमा गर्नु परेमा धेरैपटक सोच्छन् ।
अहिले महिला लक्षित कार्यक्रमहरु राज्यका स्थानीय तहबाट एकीकृत रुपमा सञ्चालित भइरहेको अवस्थामा पाउने सेवाबारेमा जानकारी लिने गर्न सकेमा सम्भावनाहरु पनि धेरै छन् । अब यी सबै कार्यक्रम स्थानीय तहबाट सञ्चालित कार्यक्रमका लागि पनि योजनाको माग कसरी गर्ने, कहाँ योजना राख्ने भन्ने बारेमा महिला, लक्षित वर्ग जनता सवैलाई समेट्न सकेमा बल्ल उनीहरुको मागलाई सम्बोधन गर्न सकिन्छ र श्रोतको सही सदुपयोग हुन्छ । जबसम्म आर्थिक रुपले सशक्तिकरण गर्न महिलालाई लक्षित गरी उनीहरुको जीवनस्तरमा सुधार गर्न मनसायले हाम्रा योजना, अवधारणाहरु तथा कार्यनीतिहरु लैंगिकमैत्री र महिलाहरुले उपभोग गर्न सक्ने वातावरण बनाउन सकिदैन, तबसम्म सामाजिक र आर्थिक रुपान्तरण सम्भव छैन । एक महिलाले ‘घरका साथै व्यवसाय पनि गर्न सक्छिन् र?’ भन्ने हाम्रो नेपाली सर्वव्याप्त मानसिकता सोचमा पनि सकारात्मक परिवर्तनको आवश्यकता छ ।
अन्त्यमा, आर्थिक सबलीकरणले महिलाहरुमा आत्मविश्वासका साथ निर्णय लिने क्षमताको विकास हुने कारणवश उनीहरुको सामाजिक प्रतिष्ठामा वृद्धि हुने नै छ भने, यस आर्थिक सशक्तिकरण वापत राजनीतिक क्षेत्रमा पनि महिलाहरुको निकै अग्रसरता वृद्धि भएको छ । हाम्रो पटकपटकको संघर्ष पश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानमा उल्लेखित प्रावधानहरुको प्रभावकारी कार्यान्वयन र यसलाई संस्थागत गर्न जरुरी छ । संघीय, प्रदेश र स्थानीय सरकार गठन भइसकेको अवस्थामा अबको पाटो महिलामैत्री, बालबालिकामैत्री, अपांगतामैत्री र यौनिक लैंगिक अल्पसंख्यक समुदायमैत्री वातावरण र नीति कार्यनीति रणनीति बनाउने र आफ्नो आवश्यकताको पहिचान गर्दै लैंगिक हिंसा न्यूनीकरणका साथ आर्थिक सशक्तिकरणमा बजेट विनियोजन साथै आत्मनिर्भर उद्यमशिलता बढाउन सिप, पुंजी र प्रविधिको सहयोग गरी सुलभ कर्जाको पहँुच र प्रभावकारी कार्यान्वयन गर्ने सुनौलो अवसर जिम्मेवारी हाम्रा जनप्रतिनिथिको कांधमा आएको छ र सामुहिक प्रयास साझेदारी र समन्वयबाट परिवर्तन सम्भव छ । हाम्रो काम गर्ने सोच प्रतिवद्धता इच्छाशक्ति र सबैको सहयोग भएमा पक्कै पनि महिलाको आर्थिक रुपमा सशक्तिकरण र सामाजिक क्षेत्रमा जागरण भइ समग्र जीवनस्तरमा रुपान्तरण गर्न सकिन्छ ।
महिलाहरुको आर्थिक सशक्तिकरण

ज्ञानु पौड्याल








