भैरहवा, १२ पुस ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालको कार्यकारिणी समितिको बैठक तथा नागरिक अभिनन्दन समारोह शनिवार भैरहवामा सम्पन्न भएको छ ।
मारवाडी सेवा समितिको सभा हलमा भएको समारोहमा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले देश बने मात्रै नागरिकले सुख पाउने भएकाले संसार बनाउन मरिमेट्ने नेपालीहरु अब देश बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले उमेरले भन्दा पनि सोंच विचारले युवा भएर समृद्धीको यात्रामा अघि बढ्न आग्रह गर्नुभयो ।
परिषदका राष्ट्रिय अध्यक्ष दयाराम भुसालले राजनीति गर्ने जिम्मा राजनीतिक दलहरुकै भएको तर राजनीतिको बारेमा सबै नागरिक सचेत भएर बुझ्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक तथा अध्यात्मिक जागरणले मात्र विकास संभव भएको भन्दै देश निर्माण गर्न सक्षम र योग्य व्यक्ति निर्माण हुनुपर्ने भएकाले परिषदले मेचीदेखि महाकालीसम्म व्यक्ति निर्माण अभियान चलाइरहेको जानकारी दिनुभयो ।
ज्ञान, शील र एकताले मात्र व्यक्ति निर्माण संभव हुने भएकाले त्यसलाई मूल मन्त्र मान्नुपर्ने पनि अध्यक्ष भुसालले जोड दिनुभयो ।
सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले दलीय राजनीतिको चक्रव्युहमा परेर देश अस्थिरतातर्फ धकेलिएको भन्दै छिटो निर्वाचन गरेर राज्यको नेतृत्व दलहरुले नै लिनुपर्नेमा जोड दिनुभयो । उहाँले जेन जी आन्दोलनका नाममा भएको उदण्डतालाई नीजि क्षेत्रले समर्थन गर्न नसक्ने भन्दै विधि, पद्धति र अनुशासनको खाँचो औल्याउनुभयो ।
समारोहमा परिषदका केन्द्रीय महासचिव दिनेश कार्की, लुम्बिनी प्रदेश अध्यक्ष कमल कोइरालालगायतले पनि बोल्नुभएको थियो ।
बिगत तीन दिनदेखि शुरु भएको परिषद कार्यकारिणी बैठकले शैक्षिक क्षेत्रलगायत देशका समसामयिक विषयमा चाल्नुपर्ने कदमका बिषयमा छलफल गरेको बताइएको छ । बैठकले गरेका निर्णयहरु सम्बन्धित मन्त्रालयमा पेश गरी कार्यान्वयनका लागि ध्यानाकर्षण गराइने परिषदका लिडर अच्युत पन्तले जानकारी दिनुभयो ।








