भैरहवा, १७ मंसिर ।
१५ बर्ष ट्राफिक प्रहरीमा सेवा गरेका प्रहरीलाई तत्कालै ट्राफिक सेवाबाट अलग गराउने नेपाल प्रहरी मानव श्रोत विकास विभागको एउटा निर्णय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले लत्याइदिएको छ ।
हालका प्रहरी महानिरिक्षक दानबहादुर कार्की मानव श्रोत विकास विभागको प्रमुख भएकै बखत गत साउन अन्तिममा ट्राफिक प्रहरीमा १५ बर्षे सेवा लागु गर्ने निर्णय भएको थियो । प्रहरी सेवामा ट्राफिक प्रहरी आकर्षक मानिन्छ ।
मानव श्रोत विकास विभागको निर्णय अनुसार राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले गत साउनमा १५ बर्षे सेवा अवधि पुरा गरेका ट्राफिक प्रहरीलाई हटाउने निर्णय गरी सोहि अनुसार मातहतका कार्यालयसँग सूची मागेको थियो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवल अन्तर्गत ६७ जना ट्राफिक प्रहरीको सूची रहेको थियो । सोमध्ये १५ बर्षभन्दा बढी सेवा गरिसकेका एक दर्जन प्रहरीको सरुवा हुन सकेको छैन । ५० भन्दा बढीलाई ताकेता गरेर तत्कालै जनपदतिर पठाइएको थियो ।
ट्राफिक प्रहरीमै मस्त रमाइरहेका उनीहरुलाई प्रहरी महानिरिक्षक दानवहादुर कार्कीलाई जोडेर रमाना नदिइएको श्रोतले जानकारी दिएको छ । ‘अरुलाई हटाउने तर केहि प्रहरीलाई १५ बर्ष नलाग्ने यो कस्तो निर्णय हो’, – हालै रमानामा परेका एक पूर्व ट्राफिक प्रहरीले भने, – ‘पहुँच भएका र पैसा उठाएर बुझाउन सक्नेहरु अझै कार्यरत हुनु अचम्मै हो ।’ यो निर्णयले १५ देखि २० बर्षदेखि ट्राफिक सेवामा कार्यरत प्रहरीको सरुवा भएको थियो ।
सूचीमा एक नम्बरमा रहेका बरिष्ठ सइ ज्ञानप्रसाद पाण्डे १६ बर्षदेखि ट्राफिक सेवामा छन् । बर्षौंदेखि बुटवल लाइसेन्स फाँटमा रहेका पाण्डेको घर अर्घाखाँची हो । उनी पूर्व आईजिपी बसन्त कुँवरदेखि बर्तमान आईजिपी दानबहादुर कार्कीकै संरक्षणमा आकर्षक फाँटमा बसिरहेका छन् । ४ नम्बर सूचीका सई विक्रम प्रसाद भुसालको पनि १५ सेवा अवधि पुगेको छ । उच्च अदालत बुटवलका मुख्य न्यायाधिशको सुरक्षागार्डमा दरबन्दी रहेका उनी नवलपरासी ट्राफिकमा कार्यरत छन् ।

२४ नम्बर सूचीका हवल्दार रमेश खनालको १७ बर्ष, हवल्दार झक बहादुर नेपाली १७ बर्ष, हवल्दार गुप्त बहादुर सार्की १७ बर्ष, हवल्दार रण बहादुर सेन १८ बर्ष, ज्ञानराज पोेखरेल १८ बर्ष, लक्ष्मी प्रसाद सिंह थारु १७ ट्राफिक सेवामा कार्यरत छन् ।
१५ बर्षभन्दा बढी ट्राफिक प्रहरीमा रहेका कर्मचारीको संख्या १२ देखि १५ जना रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले गौतमबुद्ध सन्देशलाई जानकारी दिए । १५ बर्षे सेवा अझै लागु नभैसकेको दावी गर्दै उनले भने, ‘हाल २० बर्ष पुगेकालाई हटाउने भन्ने छ, १५ बर्षे अझै लागु भएको छैन, तर लागु हुनेवाला छ ।’ ५० भन्दा बढीलाई १५ बर्षे लागु भयो भन्दै तत्कालै रमाना दिएर १५–१६ जनालाई किन काखी च्यापिरहेका छन् त्यो भने बुझ्न सकिएको छैन ।









