भैरहवा । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले एन्टीवायोटिक औषधीको जथाभावी प्रयोग गर्न नहुने देखिएको छ । विश्वभर औषधी, तरकारी, फलफुल, माछा मासुलगायतका खाद्य पदार्थहरुबाट मानिसमा एन्टीवायोटिक आउने गरेका कारण प्रतिरोधी क्षमता घट्दै गएको पाइएको छ ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५ का अवसरमा क्रिमसन अस्पतालमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी एन्टीवायोटिकको जथाभावी प्रयोगमा सचेत हुनुपर्ने कुरामा जोड दिइएको छ ।
अस्पतालका माईक्रोवायोलोजिष्ट कन्सल्टेन्ट डा.प्रियंका उप्रेतीले जथाभावी एन्टीवायोटिक प्रयोगले मानिसलाई फाइदाभन्दा हानी बढी हुने गरेको जानकारी दिदै औषधी पसलहरुमा आफुखुशी किनेर एन्टीवायोटिक औषधी प्रयोग नगर्न सुझाव दिनुभएको छ ।
विश्व स्वास्थ्य संगठनले जथाभावी एन्टीवायोटिक प्रयोगले प्रति ४५ सेकेण्डमा एक जना र बर्षेनी ७ लाख मानिसको मृत्यु भैरहेको उल्लेख गर्दै सन् २०५० मा १ करोड मानिसको मृत्यु हुने आंकलन गरेको छ । नेपालमा ५० वटा कम्पनीका ३६५ प्रकारका एन्टीवायोटिक औषधी प्रयोगमा रहेका छन् । खुल्ला सीमाका कारण कतिपय एन्टीवायोटिकजन्य पदार्थ भारतबाट पनि आउने गरेको पाइन्छ ।
बजारमा पाइने हरियो र ताजा तरकारी, फलफुल, माछा मासुमा रहेको एन्टीवायोटिकको मात्र चेकजाँच नहुँदा त्यसलाई प्रयोग गर्न साबधानी अपनाउनु पर्ने डा उप्रेतीको धारणा छ ।
सो अवसरमा क्रिमसन अस्पताल निर्देशक डा.शेखरप्रसाद पोखरेलले एन्टीवायोटिकको प्रयोगबारे सबै क्षेत्रमा सचेतना आवश्यक रहेको बताउनु भयो । उहाँले चिकित्सकको परामर्शबिना औषधी प्रयोग नगर्न समेत सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
कन्सल्टेन्ट सर्जन डा.बिष्णुमूर्ति भट्टराईले एन्टीवायोटिक प्रयोग सम्बन्धी छलफल उपलब्धीमूलक रहेको बताउनुभयो ।
प्रतिजैविक प्रतिरोध भन्नाले सूक्ष्म जीवहरू ब्याक्टेरिया, भाइरस, फंगल, र परजीवीले तिनीहरूलाई नष्ट गर्न बनाइने औषधिहरू (एन्टिबायोटिक, एन्टिभाइरल, एन्टिफंगल आदि) को प्रभावलाई सामना गर्ने क्षमता विकास गर्नु हो । प्रतिजैविक प्रतिरोध कमजोर हुँदा ती औषधिहरू पहिले जस्तै प्रभावकारी रहँदैनन्, र संक्रमणको उपचार कठिन हुँदै जान्छ ।
तसर्थ एन्टिबायोटिकको अनावश्यक वा अत्यधिक प्रयोग, औषधि डोज सही नपु¥याई बीचमै छोड्ने, नक्कली वा कमजोर गुणस्तरका औषधि, पशुपालनमा अत्यधिक औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोध क्षमता कमजोर बन्दै जान्छ । जसको प्रभाव स्वरुप सामान्य संक्रमण पनि गम्भीर बन्न सक्ने, उपचार लामो र महँगो हुने, औषधि काम नगर्ने भएकाले मृत्यु दर बढ्ने र नयाँ औषधि विकास गर्न समय र धेरै खर्च लाग्ने हुन्छ ।
चिकित्सकको सल्लाह बिना औषधि नखानु, औषधि पूर्ण डोजसम्म पूरा गर्नु, राम्रो स्वच्छता, हात धुने आदत, खोप लगाउने, पशुपालन र कृषिमा औषधिको नियन्त्रित प्रयोग तथा अस्पतालमा सुरक्षित र सफा उपचार प्रक्रियाबाट प्रतिजैविक प्रतिरोध क्षमता बढ्न सक्छ ।
कार्यक्रममा अस्पतालका कन्सल्टेण्ट डाक्टर, मेडिकल अधिकृत, नर्सिङ ईन्चार्ज तथा विभिन्न विभागमा कार्यरत विभागीय प्रमुखहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
क्रिमसनमा प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह
एन्टीवायोटिक औषधीको प्रयोग सम्बन्धी अन्तरक्रिया

गौतमबुद्ध सन्देश








