पोखरा । भुटानको भुटान एयरलाइन्सले पोखरा-पारो (भुटान) सिधा उडान सुरु गरेको छ।
भुटान एयरले आज एक औपचारिक उडान गर्दै पोखरा-पारो (भुटान) सिधा उडान शुभारम्भ गरेको हो। यसअघि भुटान एयरले अक्टोबरबाटै पोखरा-पारो नियमित उडान गर्ने घोषणा गरेको थियो।
त्यसबेला भुटान एयरलाइन्सले असोज १२, १६, २० र २४ गते चारवटा नियमित चार्टर्ड उडान गर्ने जनाएको थियो। तर नेपालमा भएको जेन-जी आन्दोलनका कारण पूर्व निर्धारित उडान रोकिएको थियो।
त्यही घोषणा अनुसार पूर्व निर्धारित उडानको तालिका हेरफेर गरि मंगलबारदेखि उडान शुभारम्भ गरेको भुटान एयरले जनाएको छ।
पोखरा-पारो (भुटान) को पहिलो उडानमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित ९ जना यात्रु र चालक दलका सदस्य रहेका थिए। १२६ सिट क्षमताको भुटान एयर पारोबाट नेपाल आउँदा भने रित्तै आएको थियो।
पोखरा-पारो (भुटान) उडानको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले केक काटेर गरेका थिए।
मेयर आचार्यले आफू भुटान एयरको विमानमार्फत थिम्पु पुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले शुभारम्भ उडानमा पूर्व निर्धारित अनुसारको टोली सहभागी नभएको बताए।









