पर्यटनमा चितवन–लुम्बिनी जोडौः व्यवसायी

क्षेत्रीय होटल संघ नेपाल चितवनले सौराहामा आयोजना गरेको लुम्बिनी प्रेस क्लब र पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनमा चितवन–लुम्बिनी जोडीनुपर्ने बताए ।
गौतमबुद्ध सन्देश

चितवन, ३० असोज । चितवनका पर्यटन व्यवसायीले लुम्बिनी र चितवन पर्यटन व्यवसायमा उत्कृष्ट गन्तब्य रहेको बताएका छन् । क्षेत्रीय होटल संघ नेपाल चितवनले सौराहामा आयोजना गरेको लुम्बिनी प्रेस क्लब र पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै पर्यटनमा चितवन–लुम्बिनी जोडीनुपर्ने बताए । यी दुई गन्तव्य आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको समेत उनीहरुले बताए ।
कार्यक्रममा पर्यटन व्यवसायी बासु ढुंगानाले चितवन आउने पर्यटकलाई लुम्बिनी जान प्रेरित गरिरहेको बताए । उनले रुपन्देहीबासीले त्यहाँ आएका पर्यटकलाई चितवन आउन प्रेरित गरिरहेकोमा आफूहरु विश्वस्त रहेको बताए । लुम्बिनी र चितवनबीचको सहकार्यलाई सार्थक परिणाम दिनुपर्ने उनको भनाइ छ । बाघको बासस्थानको दृष्टकोणबाट संसारको उत्कृष्ट निकुञ्जको रुपमा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व वन्यजन्तु कोषले पहिचान गरेको उनले बताए । ढुंगानाले लुम्बिनीमा सारस आकर्षणको केन्द्र भएको बताए ।
क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले चितवनमा वार्षिक ३ लाख पर्यटक आउने गरेको जानकारी दिए । भारतिय सिमानाकासँग जोडिएको लुम्बिनी (रुपन्देही) बाट भित्रीने पर्यटकलाई सहज रुपमा चितवन पुर्याउन बुटवल–नारायणगढ सडक यथासिघ्र निर्माण सम्पन्न गरिनुपर्ने उनले बताए । भारतीय पर्यटकलाई चेकिङका नाममा ठाउँठाउँमा दुःख दिने गरिएको गुनासो आएकोले सिमानाकामै एकीकृत चेकजाँच प्रणाली आवश्यक रहेको उनले बताए ।
संघका महासचिव महेश खनालले अप्रत्यासीत रुपमा भएको जेनजी आन्दोलनले देशमा असहज परिस्थिती सिर्जना भएपनि सुधारोन्मुख रहेको बताए । त्यस्तै नेपाल पर्यटन पत्रकार संघ रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले पर्यटकलाई लुम्बिनीमा कम्तीमा एक दिन बसाल्ने बिहान सारस देखाएर एक रात चितवन बसाउने गरी टूर प्याकेज बनाउनुपर्नेमा जोड दिए । उनले चितवनका होटल व्यवसायीले सञ्चालन गरेको घुमौं सौराहा अभियान सराहनीय रहेको बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले लुम्बिनी र चितवन नजिक भएको तर बुटवल–नारायणगढ सडक निर्माणसम्पन्न नभएका कारण पर्यटकले सास्ती खेप्नुपरेको बताए । उनले पर्यटनबाट आर्थिक समृद्धि सम्भव भएकाले पर्यटकको बसाइ लम्ब्याउन योजना बनाउनुपर्नेमा जोड दिए । अध्यक्ष रायमाझीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे ।
क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले लुम्बिनी, बर्दिया, रारा, चितवन, पोखरा लगायत विभिन्न पर्यटकीय गन्तव्यलाई जोड्न सकिने बताए ।
क्लबका सल्लाहकार कुलमणि ज्ञवालीले राज्यले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई सहयोग गर्न नसकेको बताए । उनले सबै हिसाबले नेपाल प्रशस्त सम्भावना बोकेको मुलुक भएको बताए ।
पर्यटनका लागि गोल्डेन ट्रयांगलका सह–संयोजक शालिकराम नेपालले पर्यटन सबैभन्दा बढी संवेदनशील क्षेत्र भएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि सुरक्षा महत्वपूर्ण पाटो भएको बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रकृतिले अपार सम्पदा दिएकोले यसलाई सदुपयोग गर्नुपर्ने बताए । उनले कहाँबाट सबैभन्दा धेरै संख्यामा पर्यटक ल्याउने र कसरी धेरै खर्च गर्ने वातावरण बनाउने कुरा महत्वपूर्ण रहेको बताए । ‘दुबईको उदाहरण दिदै प्रजिअ अर्यालले भने–‘दुबईले मरुभूमिलाई सदुपयोग गरेर डेजर्ट सफारीको रुपमा विकास गरेर कराडौं डलर आम्दानी गरिरहेको छ, हामीले पनि आफ्नो ब्राण्ड बचाउनुपर्छ ।’

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका