कुनै पदमा नरहेका पूर्वमेयरको घरमा आन्दोलनका नाममा लुटपाट र आगजनी, चार करोड भन्दा बढीको क्षति

गौतमबुद्ध सन्देश

भैरहवा । बिगत दुई दशक भन्दा बढी समयदेखि कुनै लाभको पदमा नरहेका सिद्धार्थनगर नगरपालिकाका पूर्व मेयर सागरप्रताप राणा समेत सुशासन र समृद्धिको माग गर्दै आन्दोलन गरेका जेन जी समुहका नाममा भएको विध्वसात्मक क्रियाकलापको शिकार हुनुभएको छ । राणाको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ खजहना टोलस्थित घरमा आन्दोलनकारीका नाममा घुसपेठ गरी लुटपाट तथा आगजनी गरिएको छ ।

उहाँको घरबाट सुनचाँदी, हीरामोती, मणिमाणिक्यका गरगहना, नगद, लत्ताकपडा, भाँडाकुँडा, सजावट गरी राखिएका रक्सीलगायतका सामान लुटेका थिए । आन्दोलनको दोश्रो दिन भदौ २४ गते साँझ ६ बजेतिर घरेलु हतियारसहित प्रवेश गरेका विध्वंशकारी समूहले नगद तथा जिन्सी सामान लुटेपछि दुई तल्ले घरमा आगजनी गरेका थिए । आगजनी र लुटपाटबाट राणाको करिब सवा चार करोड रुपैयाँ क्षति भएको छ । घरमा भएका हिरामोती, सुनचाँदी, बहुमूल्य मणिरत्न, नगद, विदेशी ब्राण्डका महंगा रक्सीका बोत्तल लगायत केहि बाँकी नराखी सबै लुटिएको हो । आन्दोलनका नाममा लुटेरा समूह घरमा प्रवेश गरेपछि बृद्ध राणा दम्पत्तिले घर पछाडिबाट बाहिरिएर ज्यान जोगाउनु भएको थियो । ‘ज्यान त जोगाइयो, तर लुटपाट र आजजनीबाट केहि पनि बचेन, सबै सिद्धियो’ – पूर्व नगरप्रमुख राणाले भन्नुभयो ।

उहाँका अनुसार सासु बुहारीका ७३ तोला सुन, करिब ५ किलोका चाँदीका गरगहना, हीरामोती, मणिरत्नका बहुमूल्य गरगहना, सजाएर राखिएका बहुमूल्य विदेशी ब्राण्डका रक्सीहरु, एसीहरु, टिभीहरुलगायतका कपडा, फर्निचरहरु केहि पनि बाँकी रहेनन् । प्रत्यक्षदर्शीहरुका अनुसार घरमा रहेका ब्राण्डेड सामानहरु पहिला छानी छानी लुटेपछि आगजनी गरिएको थियो । आगजनीबाट लत्ताकपडा, फर्निचर सबै जलेका छन् । घरका दुवै तल्लामा क्षति पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीको अध्यक्ष समेत रहेका राणा तीन पटक सिद्धार्थनगर नगरपालिकाको मेयर हुनुभएको थियो । बि.सं. २०५९ सालपछि उहाँ कुनै लाभको पदमा हुनुहुन्न ।

भैरहवाका मुख्य संरचनाहरु महेन्द्र सभागृह, सिद्धार्थ बसपार्क, रंगशाला, लुम्बिनी नेत्रबिज्ञान अध्ययन संस्थानलगायतको स्थापना र मेडिकल कलेज यहाँ ल्याउन पूर्वमेयर राणाको महत्वपूर्ण योगदान रहेको छ । पिता राणा प्रताप जवरा नेपाली सेनाको मेजर हुनुहुन्थ्यो भने छोरा कर्णेल हुनुहुन्छ । सभ्रान्त परिवारका राणाको पाल्पाको तानसेन भगवतीटोलमा घरजग्गा, तिलोत्तमाको बोहिया र ओमसतियाको कटैयामा दुई वटा मौजा तथा सौ.फर्साटिकरमा १२ बिगाहा जमिन रहेको थियो । परिवर्तन र सुशासन चाहने जेन जी समुहका नाममा घुसपेठ गरेका लुटेराको समुहले गरेको लुटपाट र आगजनीमा संलग्नहरुको प्रहरी प्रशासनले तथ्यांक संकलन र प्रमाण जुटाउने काम गरिरहेको बताइएको छ ।

 

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

spot_img
spot_img
spot_img
spot_img

सर्वाधिक पढिएका