मणिग्राम, साउन २९ ।
अस्पतालमा उपलब्ध सेवा सुविधा र हालै लागु भएको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको बिषयमा जानकारी दिने उद्देश्यले क्रिमसन कलेज अफ टेक्नोलोजी क्रिमसन अस्पतालको आयोजनामा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
तिलोत्तनमा नगरपालिका र मायादेवी गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुख तथा नर्सिङ्ग कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले क्रिमसन अस्पताल नीजि क्षेत्रको अस्पताल भएपनि न्युन शुल्कमा उपचार सेवा दिइरहेको बताउनुभयो । २ सय रुपैयाँको टिकट काटेर आवश्यकता अनुसारका बिशेषज्ञ डाक्टरसँग जँचाउन सकिने जानकारी दिदै अध्यक्ष पाण्डेयले क्रिमसन अस्पताल राजधानी बाहिरको उत्कृष्ठ सेवा दिने स्वास्थ्य संस्था बनाउन खोजिएको बताउनुभयो ।
उहाँले सरकारी र नीजि क्षेत्रसँग सहकार्य गरी अस्पतालमा नयाँ नयाँ सेवा थप्ने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो ।
अस्पतालका संचालक बाबुराम भट्टराईले भेन्टिलेटरसहितको आइसियु लगायतका बिशिष्टीकृत सेवा शुरु गरेको क्रिमसन अस्पतालले निकट भविष्यमै अन्नपूर्ण न्युरो अस्पतालसँग साझेदारी गरी जटिल न्युरो समस्याको उपचार यहि अस्पतालबाटै गर्ने जानकारी दिनुभयो ।
क्रिमसन अस्पतालमा उपलब्ध सेवा सुविधाबारे अस्पताल निर्देशक डा. शेखर प्रसाद पोखरेलले जानकारी गराउनुभयो । उहाँले अस्पतालमा उपलब्ध बिशेषज्ञ सेवाबाट रुपन्देही र आसपासका बासिन्दाले फाइदा लिन सकेको जानकारी दिदै आँखा उपचारबाहेकका सबै रोगसँग सम्बन्धित उपचार क्रिमसन अस्पतालमा उपलब्ध रहेको बताउनुभयो ।
अस्पताललाई आर्थिक रुपमा फाइदा नभएका कार्यक्रम समेत समुदायप्रतिको दायित्वबोधका हिसावले संचालन गरिएको उल्लेख गर्दै डा.पोखरेलले आगामी दिनमा सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो

।
स्त्रीरोग बिशेषज्ञ डा. राजीव शाहले प्रसुति प्रकृयाको जटिलता र त्यसलाई समाधान गर्ने आधुनिक प्रविधिका बिषयमा जानकारी गराउनु भयो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक उमा थापाले आमा सुरक्षा कार्यक्रमबाट फाइदा नहुने भएपनि निजी क्षेत्रको क्रिमसन अस्पतालले त्यसलाई लागु गरेकोमा धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन क्रिमसन अस्पतालसँग सहकार्य गर्न स्वास्थ्य कार्यालय तयार रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेल, करहिया स्वास्थ्य चौकी इन्चार्ज कृष्णकुमारी पाण्डेलगायतले पनि मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
२०६८ जेठ २ मा स्थापना भएको १०० बेड क्षमता रहेको क्रिमसन अस्पतालमा हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, जनरल फिजिसियन, नाक, कान, घाँटी रोग बिशेषज्ञ, मुटुरोग बिशेषज्ञ, छाति तथा फोक्सो रोग बिशेषज्ञ, न्युरो सर्जरी, छाला तथा यौनरोग बिशेषज्ञ, पेटरोग बिशेषज्ञ सेवा उपलब्ध छन् । त्यसैगरी रेडियोलोजिष्ट, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ, एनेस्थेसिया तथा सघन उपचार बिशेषज्ञ, बालरोग बिशेषज्ञ, नशा तथा मनोरोग बिशेषज्ञ, मृगौला रोग बिशेषज्ञ, दन्तरोग बिशेषज्ञ, प्याथोलोजी फिजियोथेरापी सेवा पनि अस्पतालले दिदै आएको छ ।
अस्पतालमा भारतीय सेनाबाट अवकाश पाएका परिवार, सामाजिक सुरक्षा कोष र कर्मचारी संचयकोषका संचयकर्ता तथा गोर्खा वेलफेयरका सदस्यहरुलाई निःशुल्क उपचार हुने गरेको छ ।
त्यसैगरी नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क प्रसुति सेवा, डायलाइसिस सेवा र मुटु उपचार सेवा पनि उपलब्ध रहेको छ ।
अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष, क्रिटिकल केयर युनिट आइसियु, सिसियु, एनआइसियुलगायतका अत्याधुनिक प्रविधि पनि अस्पतालमा उपलब्ध छन् ।









