भैरहवा । रुपन्देहीमा चैते धानको उत्पादनमा वृद्धि भएको छ । जिल्लाका विभिन्न पालिकाहरुमा लगाईएको चैते धानको उत्पादनमा उल्लेख्य रुपमा वृद्धि भएको किसानहरुको भनाइछ ।
रुपन्देहीमा यस वर्ष लगाइएको चैते धान भित्राइएको छ । सिंचाईको सुविधा भएको क्षेत्रमा लगाइएको चैते धानको उत्पादनमा उल्लेख्य मात्रामा वृद्धि भएको किसानहरुले जनाएका छन् ।
जिल्लाको सियारी गाउँपालिका र सैनामैनामा लगाइएको चैते धानको उत्पादनमा बृद्धि भएको किसानहरु बताउँछन् । रुपन्देहीमा ३० हेक्टर बढीमा चैते धानको खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई रुपन्देहीले जनाएको छ ।
पछिल्लो समय चैते धानप्रति किसानहरुको आर्कषण समेत बढेको परियोजना कार्यन्वयन इकाईका प्रमुख नारायण काफ्लेले जानकारी दिए । विगत केही वर्ष अघिसम्म उत्पादनबारे जानकारी लिने गरी खेतीसुरु गरेका किसानहरुले गत वर्षदेखि व्यवसायिक रुपमा खेती गर्न थालेको उनको भनाइछ ।
उनले चैते धान प्रतिहेक्टर ६ देखि ७ टन फल्ने गरेको जानकारी दिए । उनका अनुसार बर्खे धान राम्रो फल्दा पनि प्रतिहेक्टर ४ टन म्म फल्ने गर्दछ । भारतबाट वर्षेनी बढ्दो मात्रामा आयात हुने चामललाई कम गर्नका लागि चैते धान खेतीलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने उनको भनाइछ ।
पछिल्लो केही वर्ष यता संघीय सरकार अन्र्तगतका कार्यालयले चैते धानलाई सघन खेतीको रुपमा विकास गरेको बताउँदै उनले यस आर्थिक वर्षदेखि प्रदेश सरकार र स्थानीय सरकारलाई पनि चैते धान खेतीतर्फ किसानलाई आकर्षित गर्ने गरी काम गर्न आग्रह गरेको छ ।
सैनामैना नगरपालिका बैकुण्ठपुरा किसान हिमलाल न्यौपानेले ८ कठ्ठामा चैते धानको खेती गरेको बताए । उनले सिचाईको राम्रो व्यवस्था भएका ठाउँमा बर्खे धानभन्दा चैते धानको उत्पादन बढी रहेको बताए । उनले सरकारले प्रयाप्त मात्रामा सिंचाईको व्यवस्थापन गर्न सके किसानहरु थप आकर्षित हुने बताए ।
त्यस्तै सैनामैनाकै अर्का कृषक भुपराज बस्यालले सैनामैनामा २२ जनाको समूहले चैते धानको खेती गरेको बताए । २२ जनाको समूहले १० बिगाहमा चैते धान खेती गरेको र उत्पादनमा पनि वृद्धि आएको बस्यालको भनाइछ । अहिले १० बिगाहमा खेती गरेका किसानहरुले अर्को वर्ष सिंचाईको व्यवस्था हुन सके यसलाई ४० देखि ५० बिगाहमा खेतप् गर्ने सोच रहेको उनले उल्लेख गरे ।
‘उत्पादनका हिसाबले पनि राम्रो रहेको चैते धान खेतीको विस्तारका लागि सरकारले किसानका लागि आवश्यक सिंचाईको सुविधा दिन जरुरी छ, बस्यालले भने–‘यसका लागि तीनै तहका सरकारले बिउविजन, यान्त्रीकरणदेखि बजारीकरणसम्मको व्यस्थापन गर्न जरुरी छ ।’









