भैरहवा, साउन २१ ।
रोटरी क्लब अफ मणिग्रामको नवौं पदस्थापन तथा पद हस्तान्तरण एवं ३५० औं नियमित बैठक कार्यक्रम नयाँमिलमा सम्पन्न भएको छ ।
रोटा बर्ष २०२५।२६ का अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको पदस्थापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरको आर्थिक, सामाजिक र मानवीय विकासका लागि रोटरी क्लबसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । स्वार्थभन्दा माथि सेवा भन्ने नाराका साथ समाजसेवामा क्रियाशील रोटरी क्लब विश्वकै अग्रणी समाजसेवी संस्था भएको भन्दै उनले निर्माणसँगै आशा र विश्वास बढाउने काम गरेकोमा क्लब परिवारलाई धन्यवाद पनि दिए । विभिन्न धर्म, जात, पेशा र वर्गका मानिसहरुलाई एकताबद्ध बनाई समाजसेवामा अभिप्रेरित गर्ने रोटरी अभियानसँग सहकार्य गर्न सधैव तयार रहेको पनि नगरप्रमुख खाँणले भने।
कार्यक्रमका बिशिष्ठ अतिथि असिस्टेण्ट गभर्नर दिनेशमणि सुवेदीले मानवीय सहयोगका क्षेत्रमा रोटरी क्लबले गरेका कामको मुक्तकण्ठले प्रशंसा गरे । रोटरी क्लब ३२९२ का मेम्बरसिप चेयर तथा क्लबका सल्लाहकार लक्ष्मण ज्ञवालीले रोटरी अभियान बिशुद्ध मानवीय भावनाले प्रेरित रहेको भन्दै यस अभियानमा जोडिने सबैलाई धन्यवाद दिए ।
क्लबका चार्टर प्रेसिडेन्ट राजुदेवी खनालले विश्व शान्ति मा.वि.का विपन्न एक बालिकालाई दश कक्षासम्म अध्ययनका लागि आवश्यक शुल्क उपलब्ध गराउने घोषणा गर्दै एक बर्षको खर्च विद्यालयलाई हस्तान्तरण गरे ।
समारोहमा क्लबका निवर्तमान अध्यक्ष यज्ञप्रसाद न्यौपाने, इलेक्ट प्रेसिडेन्ट कृष्णप्रसाद भण्डारी, रोट्रयाक्ट क्लब अफ मणिग्रामका अध्यक्ष विनोद बस्याललगायतले बोलेका थिए । कार्यक्रममा यस क्षेत्रका असिस्टेण्ट गभर्नरहरु, रोटरी क्लबका अध्यक्षहरु, निवर्चमान अध्यक्षहरु लगायतको सहभागिता थियो ।
आइडिपी ग्लोबल बुटवलले क्लबका सदस्यहरुलाई टिसर्ट स्पोन्सर गरेको थियो भने क्लबले प्रकाशन गरेको डाइरेक्टरी विमोचन गरिएको थियो । कार्यक्रम क्लबका उपाध्यक्ष लक्ष्मी थापाले संचालन गरेकी थिइन् ।










