भैरहवा, १६ साउन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार रहेका सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ । सहकारीका शेयर धनी तथा बचतकर्ता रकम हिनामिना भएपछि प्रहरीले सहकारी ठगी तथा ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।
फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए । उनका अनुसार पक्राउ परेका अध्यक्ष केसीलाई अदालतमा पेश गरिएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले प्रहरीले २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही प्रहरीले गत बैशाख ३० गते अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल मार्फत रुपन्देही प्रहरीले अदालतमा दायर गरेको मुद्दामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ४ जना, तिलोत्तमा नगरपालिकाका ९ जना, सियारी गाउँपालिकाका एक जना, रामेछापका दुई जना र दोलखा, धनकुटा, तनहुँ, भक्तपुर, गुल्मी, काभ्रेपलान्चोक, चितवनका एक÷एक जना प्रतिवादी छन् ।
अदालतले विशेष मार्ग मुद्दाको रुपमा सुनुवाई गरिरहेको छ । जिल्ला अदालत रुपन्देहीको वेभसाइटमा उल्लेख भएअनुसार मुद्दाको गत असार १९ गते, साउन ११ गते र साउन १५ गते गरी ३ पटक पूरक पेशी चढेको थियो । जसमध्ये असार १९ गते र साउन ११ गतेको पूरक पेशीमा प्रतिवादीहरुसँग धरौटी माग गर्ने आदेश भएको थियो ।
रामहरी सिलवाल पक्राउ
त्यस्तै, भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम अपचलन गरेको आरोपमा चितवनका रामहरि सिलवाल काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई पकाउ गरी भैरहवा पठाउने तयारी गरेको प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए । सिलवाल पेशाले कलेज सञ्चालक भएको आचार्यले बताए । उनी हिसानका उपाध्यक्ष समेत हुन् । उक्त सहकारीको रकम अपचलनमा संलग्न अन्य फरार व्यक्तिको खोजी भइरहेको उनले बताए ।









