भैरहवा, २७ असार । ‘ग्रीन र क्लिन’ अभियानमा लागेको रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई नमज्जाले गिज्याइहेको छ, पिच सडकमा उम्रिएका झार र फोहोरले । नगरका अधिकांश भित्री सडकहरुमा यत्रतत्र छरिएका फोहर र नालीमा उम्रिएका झार र रुखहरुले नगरको सौन्दर्यतालाई बिलीन बनाइरहेको छ । नालामाथि राखिएका ढक्कनहरु फुटेका छन्, जसकारण दुर्घटनाको जोखिम बढाएको छ । फुटपाथ व्यवस्थित नहुँदा पैदलयात्रीहरु गाडी गुड्ने सडकमै हिंड्न बाध्य भएको गुनासो गर्छन् ।
सिनपामा एकातर्फ व्यवस्थित फोहोरमैला व्यवस्थापन हुन सकेको छैन भने अर्काेतर्फ सामान्य सरसफाईमा समेत ध्यान नपुगेको बटुवाहरु बताउँछन् । उनीहरु भन्छन्–‘नगरपालिकाको फोहोरमैला व्यवस्थापनको लागि बजेट छ, सरसफाइकर्मीहरु छन्, टोल सुधार समिति छ जनप्रतिनिधिहरु छन्, तर पिच सडक र नालीमा उम्रिएका झारपात र फोहोर सरसफाईमा कसैको ध्यान पुगेको छैन ।’
नगरपालिकाले घरघरबाट फोहोर उठाउनको लागि ट्याक्टर पठाउने गरे पनि सार्वजनिक स्थलको सरसफाईमा भने ध्यान दिन नसकेको एक स्थानीयले बताए । बजार क्षेत्रमा दैनिक सरसफाई गरेको देखिए पनि, भित्री सडकहरुमा सरसफाई नभएको उनले बताए ।
नगरपालिकाको सेवासुविधा प्रत्येक नगरबासीले महसुस गर्ने गरी हुनुपर्ने स्थानीय बताउँछन् । ‘नगरपालिका कार्यालय वरीपरि र मुख्य चोकमा सरसफाई गरेर मात्र हुँदैन, प्रत्येक वडाका प्रत्येक सडकहरुमा पनि नियमित सरसफाई हुनुपर्छ,’ उनले भने ।
नगरपालिकाको भित्री सडकहरुमा व्यापक रुपमा देखिने यस्ता समस्याहरुलाई तत्काल समाधान गर्नुपर्ने देखिन्छ । लाखौं खर्च गरेर बनाइएका पिच सडक र नालीहरु झार र फोहोरले ओगट्दै जादाँ केही समयपछि विकराल समस्याको रुपमा देखिने जोखिम छ । सामान्य सरसफाईमा ध्यान नदिदा पछि ठूलो धनराशी खर्च गरेर मर्मत गर्ने अवस्था नआओस् । यस विषयमा नगरपालिका र जनप्रतिनिधि सचेत हुन जरुरी छ ।










