भैरहवा । रुपन्देहीको सिद्वार्थनगर नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको छ । नगरप्रमुख इश्तियाक अहमद खाँले नगर सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट नगर सभाबाट पारित भएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ३६ करोड ६५ लाखको अनुमानित बजेट ल्याएको हो । जसमध्ये ४४ दशमलब ४ प्रतिशत चालूतर्फ र ५५ दशमलब ६ प्रतिशत पूँजीगततर्फ विनियोजन गरिएको छ।
यस वर्षको बजेटमा महात्मा गौतमबुद्व कप सञ्चालनमा ल्याउनको लागि समेत बजेट छुट्ट्याइएको छ । नगरप्रमुख खाँले विगतदेखि सञ्चालन हुँदै आएको मेयर कपको नाम परिवर्तन गरी सिद्वार्थनगर कप बनाइएको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको लागि क्षेत्रगत रुपमा पूर्वाधारतर्फ ६९ करोड ७ लाख, आर्थिक विकासतर्फ १ करोड १६ लाख, सामाजिक विकासतर्फ ३२ करोड ७२ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ २ करोड र प्रशासनिक सुशासन सेवा प्रवाहतर्फ ३० करोड ८७ लाख बजेट बिनियोजन गरिएको छ ।
बजेटले गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने, निजी क्षेत्रको मनोबल उच्च पार्ने र आय तथा रोजगारीका अवसर सिर्जना गरी गरीबी न्यूनीकरण गर्ने, प्रशासकीय सुशासन कायम गर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त तथा सेवाग्राहीमैत्री बनाउने र नगरबासीलाई घरदैलोमै स्थानीय सरकारको अनुभुति दिलाउने उद्देश्य लिएको छ ।
त्यस्तै बजेटमा शुसासन र संस्थागत सुदृढीकरण, सामाजिक समावेशीता र मानव विकास, पूर्वाधार र वातावरणीय सुधार, आर्थिक समृद्धि र रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
नगर सभाले कर तथा गैरकर राजस्व लगाउने र उठाउने विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ निर्माण व्यवसाय ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक २०८२ र प्राविधिक कर्मचारी करारमा व्यवस्था गर्ने ऐन, २०८१ मा संशोधन गर्न बनेको विधेयक २०८२ पनि पारित गरेको छ ।









