भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको ३ वर्ष पुरा भएको छ । तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले २०७९ जेठ ३ गते बुद्ध पूर्णिमाको दिन उद्घाटन गर्दा विमानस्थलमा विशेष चहलपहल थियो । उद्घाटन दिन कुवेतको जजिरा एयरवेजले कुबेत –भैरहवा–कुबेत सिधा उडान सुरु गर्दा विमानस्थलले पहिलो दिनबाटै गति लिएको आभासले सरोकारवाला सबै खुसीले गदगद भएका थिए । तर त्यो किमार्थ दिवास्वप्न जस्तै भयो । उडान निरन्तर हुन सकेन ।
कहिले मौसमले कहिले प्राविधिक कारणले उडान हुन सकेन । पछिल्लो समय काठमाण्डु स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन निर्माणका क्रममा रातका समयमा विमानस्थल केही समय बन्द हुदाँ, फलाई दुबई, थाई एअर एशिया, जजिरा, कतार, नेपाल वायुसेवा उडान सुरुवात गरे । तर पछि ग्रीष्मयामको उडानतालिका भैरहवा फर्कन मन गरेनन् र अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुनसान छ, कहिले काही चार्टड उडान बाहेक अन्य गतिविधि शून्य छ । उडान निरन्तर गर्न यहाँका सरोकारवाला निकायले आन्दोलन समेत गरे । तर सरकारले आफूले प्रतिबद्धता जाहेर गरेको मन्त्रीपरीषदबाट पास गरेको कुरा समेत पुरा गर्न असफल भयो ।
भैरहवाबाट वैदेशिक उडानका लागि आवश्यक मेडिकल जाँच, श्रमका सबै काम, म्यानपावर, भिसा सेन्टर, लगायत सुविधा दिने कार्यालय सञ्चालन गर्न बारम्बार माग गरे पनि अहिलेससम्म सुनवाई हुन सकेको छैन । सरकारले एक वर्ष अघिनै ति कार्यालयहरू भैरहवामा स्थापना गर्ने निर्णय गरेकामा हालसम्म पनि स्थापना हुन सकेको छैन् । यस्ता अतिआवश्यक कार्यालयको कमीले भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान सम्भव हुन नसकेको सिद्धार्थ होटल सङ्घका क्षेत्रिय संयोजक तथा हानका केन्द्रिय सदस्य चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् । हामीले आन्दोलन समेत गरयौ, तर अहिले सम्म हुन सकेको छैन, सरकारले आफैले गरेको निर्णय पुरा गर्न सक्दैन भने हामी के अपेक्षा गर्न सक्छौ र सरकारबाट उनले भने । भैरहवा आउँदा मन्त्रीहरू नेताहरू विमानस्थल जसरी पनि चल्छ भनेर मुखले भन्छन्, तर व्यवहारमा चल्न सकेन , श्रेष्ठले भने ।
रूपन्देहीका बासिन्दाले माग गर्ने र सङ्घीय राजनीति र नीति निर्माण तहमा प्रभाव भएका नेता, मन्त्रीले आश्वासन दिनेक्रम मात्र चलिरहेको छ । गत साउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएको थियो । उक्त कार्ययोजना अनुसार श्रम तथा रोजगार मन्त्रालयले विमानस्थल सञ्चालनका लागि आवश्यक श्रम, मेडिकल, भिसा लगायत कार्यालय भैरहवा र पोखरामा सञ्चालन गर्ने जनाएको थियो ।
श्रम तथा रोजगार मन्त्रालयको वेभसाइटमा राखिएको सय दिने उपलब्धी अन्तर्गत भैरहवा र पोखराबाट श्रम स्वीकृति र सबै प्रदेशमा वैदेशिक रोजगार र इजाजत पत्रवालाको शाखा स्थापना गरिएको उल्लेख गरिएको थियो । तत्कालीन समयमा भैरहवा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल सम्बन्धित मन्त्रालयका प्रतिनिधि बोलाएर समीक्षा बैठक गरेर कार्यालय सञ्चालनको पहल गर्ने आश्वासन दिएका थिए । श्रम, मेडिकल, भिसा, कार्गो, क्वारेन्टाइनका विषय उठेकाले सरोकारवाला मन्त्रालयको सहभगितामा समीक्षा बैठक राखिने उनले बताएका थिए । अहिलेसम्म यस्ता कार्यालय यहाँ नभएपछि वैदेशिक उडानका लागि आवश्यक सम्पूर्ण पक्रिया काठमाडौंमा पूरा गर्नुपर्छ ।
‘उडानका लागि सबैं पक्रिया काठमाडौंमा पूरा गरेर उडनमात्र भैरहवा आउनुपर्ने बाध्यताले समस्या सिर्जना गर्यो,’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘यसबारे सरोकारवाला निकाय र गन्य–मान्य व्यक्तिहरुलाई पनि बारम्बार अवगत गराइरहेको छु ।’ यहीबाट म्यानपावर, मेडिकल र भिसा सेन्टरको काम सुरु भएपछि नियमित उडानको वातावरण तयार हुने उनको भनाई छ । लामो समय आकासमा विमान होल्ड गरेर भए पनि काठमाडौंमै अवतरण गर्ने गरिएको उल्लेख गर्दै उनले भने, ‘उता होल्ड गराउनुभन्दा यता पठाउने वातावरण बनाउनुपर्यो, यसले टीआईएको ट्राफिक होल्डको समस्या पनि कम हुने, भैरहवामा पनि विमान सञ्चालनमा आउने हुन्छ ।’
सरकारले आवश्यक कार्यालय भैरहवामा खोल्ने घोषणा गरेको एक बर्ष पुगेको छ । यो अवधिमा कार्यालय खोल्न कुनै प्रयास समेत सरकारी पक्षबाट भएको छैन । ‘कार्यालय खोल्नमा ढिलासुस्ती गर्नु भनेको यहाँको विमानस्थलप्रति पूर्णरुपमा बेवास्ता गर्नु हो’, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्र प्रसाद आचार्यले भने । आवश्यक कार्यालय संचालनको माग गर्दै निजी क्षेत्रबाट प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटनमन्त्रीलाई ज्ञापन पत्र बुझाउने काम पनि दर्जनौं पटक भइसकेको छ । तर, सबैले बेवास्ता गरिरहेका छन् । ‘सरकार नै भैरहवामा विमान नउडोस् भन्ने चाहन्छ’, उनले भने ।
सरकारले चाहे विमानस्थल सुचारु ह्ुन्छ, तर सरकारलेनै चाहदैन, विमानस्थल सञ्चालन गर्ने हो भने पहिला सरकारले गरेका निर्णय अनुसारको सरकारी कार्यालय स्थापना हुनु परयो त्यसपछि अन्य कार्यालय आउनु पर्छ, उद्योग व्यापार संगठन,रुपन्देही (च्याम्बर अफ कमर्श) का अध्यक्ष दर्पण श्रेष्ठले भने ।









