भैरहवा— राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण तिव्र गतिमा भइरहेको छ । पछिल्लोपटक सुरुङमार्गको ‘इन्भर्ट’ निर्माण कार्य पूरा भएको छ । आयोजनाका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमा इन्भर्ट निर्माणको काम सकिएको हो ।
सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले इन्भर्ट निर्माणको काम बुधबार पूरा भएको जनाइन् । ‘लाइनिङको काम धमाधम अगाडि बढाइरहेका छौँ । हालसम्म लाइनिङको काम ८३४ मिटर सकिएको छ’, उनले भनिन् । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ ।
यसैगरी, वित्तीय प्रगति ५० दशमलव २४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । सुरुङमार्गको ‘ब्रेक थ्रुरू’ भएपछि कामले गति लिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङमार्ग पाँच वर्ष अर्थात् २०८३ मा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा निर्माण सुरु गरेको हो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो । यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन सञ्चालन हुने गर्छन् । पाल्पा–सिद्धबाबा मन्दिरदेखि एक हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि सरकारले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६ दशमलव तीन प्रतिशत पुगेको छ ।

गौतमबुद्ध सन्देश








