निष्ठा र आदर्शका पर्याय: रतनकुमार गुप्ता

गौतमबुद्ध सन्देश

गौतमबुद्ध सन्देश
भैरहवा ।

रतनकुमार गुप्ता सिद्धार्थनगर भैरहवाको इतिहासमा निकै लोकप्रिय, कर्मठ र जुझारु नाम हो । निर्माण ब्यवसाय, ईट्टा उद्योग र राजनीतिमा सँगसँगै उदाएर अलग्गै पहिचान बनाउन सफल गुप्ता सिद्धार्थनगर नगरपालिका वार्ड नं. ३ का स्थायी बासिन्दा हुन् । पञ्चायती ब्यवस्थाको अवसानसँगै भएको पहिलो स्थानीय निर्वाचनमा तत्कालिन नेपाल सद्भावना पार्टीका तर्फबाट ५ हजार ४ सय १४ मत प्राप्त गरी सिद्धार्थनगरको उपमेयरमा निर्वाचित भएका थिए । पाँच बर्ष आदर्श र निष्ठाका साथ उपमेयरको जिम्मेबारी निभएका गुप्ताले नगरपालिकाको श्रोत र साधनको दुरुपयोग हुन दिएनन्, फजुल खर्च रोके, विदेश भ्रमणको अवसर लत्याए । सिद्धार्थनगरको विकासका लागि पूर्वाधार तयार गरेका गुप्ता दोश्रो कार्यकालका लागि बि.सं. २०५४ सालमा नेपाली काँग्रेस–नेपाल सद्भावना पार्टीको गठबन्धनबाट उपप्रमुखको प्रत्यासी भएपनि राप्रपा–एमाले गठबन्धनसँग पराजित हुनु परेको थियो ।
लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै २०६४ र २०७० सालमा तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट भैरहवा क्षेत्रबाट प्रतिनिधि सभाको उमेदवार भएपनि सफलता हात लागेन । अधिकार प्राप्तिको एजेण्डा बोकेका दलहरुमा एकता आवश्यक भएकोमा ब्यक्तिगत स्वार्थका कारण दललाई टुक्राउँदै लैजाने प्रवृत्ति बढ्दै गएपछि भने गुप्ताले राजनीतिलाई त्याग गरे । त्यसको हुनुमा सो पार्टीका रैथाने नेताहरु दीपक बोहरा, निरन्जन थापा, सागर राणालगायतको बिशेष आग्रहलाई मानेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे । एउटै नगरमा कहिले मित्रवत र कहिले प्रतिष्पर्धा गरेका नेताहरुको आग्रहलाई उनले नकार्न सकेनन् र, आफु सल्लाहकारको भूमिकामा बसे । ठूलो लगानी गरेको राजनीतिमा पारिवारिक विराशतको रुपमा कान्छो छोरा अजय र बुहारी बिनिताले सम्हाल्दै छन् ।
बि.सं. २०३६ सालमा काँग्रेस नेता ढुण्डीराज शास्त्रीबाट काशी (बनारस) मा सदस्यता लिएका गुप्ताले २०४८ सालमा पार्टी परित्याग गरेका थिए । त्यसको कारण मधेशी नागरिकमाथि गरिएको विभेद नै प्रमुख कारण थियो । गुप्ता सम्झन्छन् – गजेन्द्रनारायण सिंहलाई मधेशी भएकैले भैरहवा लगायतका ठाउँहरुमा गरिएको दुव्र्यवहार र विभेद सहन नसकेर मधेशी नागरिकको अधिकारका लागि नेपाल सद्भावना पार्टी गठन गर्नुप¥यो, विभेदको थियोमिचो सहन नसकेर मपनि त्यतै लागें ।
उनै सिंहले उठाएका नागरिकता प्राप्ति, मधेश र मधेशीमाथिको विभेदको अन्त्य लगायतका मुद्धा समयमै संवोधन गरेको भए शायद अधिकारको लडाई लड्नु पर्दैनथ्यो कि, – गुप्ताको बुझाई छ–राज्यले समयमै सुनिदिएको भने जनधनको क्षति रोकिन्थ्यो, नरसंहार नै हुनुपर्ने अवस्था नै आउँदैनथ्यो ।
बि.सं.२००६ साल फागुनमा बुवा अल्गुप्रसाद र आमा समुनरादेवीका एकल पुत्रको रुपमा जन्मिएका गुप्ता अहिले श्रीमती निर्मला गुप्ता, कान्छो छोरा अजयको परिवारसँग बस्दै आएका छन् । तीन छोरीहरुलाई विवाह गरेर पठाइसके, जेठो छोराको परिवार आफ्नै ब्यवसाय गर्दै आएका छन् ।
सामान्य किसान परिवारमा जन्मिएका गुप्ता यस क्षेत्रका नामी निर्माण ब्यवसायी पनि हुन् । रत्न कन्ष्ट्रक्सनको नामबाट स्थानीय क्षेत्रमा मात्र होइन, देशैभरी निर्माणको काम गरे । भैरहवादेखि राजधानी काठमाण्डौंको बागमती किनारमा इट्टा उद्योग खोले । २०३५ सालदेखि शुरु गरेको इट्टा ब्यवसाय अहिले छोराहरुले सम्हालीरहेका छन् ।
बि.सं. २०३६ सालमा भएको जनमत संग्रह पछिको पहिलो चुनावमा उनी सिद्धार्थनगर नगरपञ्चायत अन्तर्गत वार्ड नं. ३ को वडाध्यक्षमा चुनाव लडे, सफल भएनन् । २०४३ को स्थानीय निर्वाचनमा मेयरमा प्रतिष्पर्धा गरे, यद्यपि निष्पक्ष निर्वाचन नभएकोले मतगणनामै गएनन । पन्चायत ढाल्न संघर्षमा उत्रिएका गुप्ताले बहुदलीय ब्यवस्था आएपछि भने काँग्रेस पार्टी छाडे । पहिचानको कुरा २०४७ सालमै उठाएका थियौं, राज्यले सुनेको भए माओवादी र मधेश आन्दोलनमा यति ठूलो क्षति भोग्नु पर्दैनथ्यो–गुप्ता दोहो¥याउँछन् ।
राजनीति र ब्यवसायमा उत्तिकै क्रियाशील गुप्तालाई केही बर्षअघि घरमै मष्तिष्कघात भयो, तत्काल उपचारका लागि अस्पताल पु¥याइएकोले रिकभर त भयो, तर पहिलेकै जस्तो हट्टाकट्टा हुन भने सकेनन् । सुगर, प्रेसरको समस्या त छँदैछ । अहिले लठ्ठीको सहाराले भित्र बाहिर गर्नु, बितेका अतितको यादमा हराउनु र कान्छो छोरा अजय तथा बुहारी बिनिताको राजनीतिक यात्रा नियाल्नु दैनिकी बनेको छ । सिद्धार्थनगरका उद्योगी, राजनीतिक र पूर्व उपमेयर गुप्ताको निष्ठा तथा आदर्शको राजनीतिलाई अघि बढाउन छोरा अजय र बुहारी बिनिता तत्पर छन् । ७७ बर्षिय गुप्ता छोरा अजयलाई देखाउँदै भन्छन्– मैले गरेको आदर्श र निष्ठाको राजनीति अब यसैले अघि बढाउँछ ।

spot_img

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

सर्वाधिक पढिएका