भैरहवा ।
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्वीको केन्द्र विन्दु हो । लुम्बिनीलाई केन्द्र बनाएर रुपन्देही जिल्लामा पर्यटकीय गन्तव्यको विकास भएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीबाहेक रुपन्देही जिल्लामा घुम्न अन्य बौद्ध सम्पदास्थलमा बुद्धमावली देवदह र बुद्ध युगको पुरातात्विकस्थल सैनामैना पर्छन् । रुपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थल पनि उल्लेख्य रुपमा रहेका छन् । थारु संस्कृति र विरहा गीत, बुटवलको जितगढी किल्ला, सैनामैनाको पर्रोहा धाम, सिद्धबाबा जस्ता धार्मिकस्थल रहेका छन् । प्राकृतिक सम्पदामा गैडहवा ताल, गजेडी ताल, दानो खोला, तेलार खोला लगायतका सुन्दर सिमसार क्षेत्र रुपन्देहीमा छन् । नुवाकोट दरवार शिवालिक क्षेत्रमा हल्का हावापानी भएका अन्य रमणीयस्थल पनि छन् । मणिमुकुन्द सेन उद्यानसहित शैक्षिक पार्कहरु रहेका छन् । यति मात्र हैन रुपन्देही तानसेन, पोखरा र मुस्ताङ जस्ता लोकप्रिय हिमाली पर्यटकीय गन्तव्यको प्रवेशद्वारको रूपमा पनि रुपन्देहीलाई मानिन्छ ।
प्राकृतिक रुपले पूर्ण रहेको नेपालमा भारतको गर्मी छल्न प्राय पर्यटक आउने गरेका छन् । पर्यटकको स्वागत, सस्तो मूल्य, वैधानिक जुवाघर (क्यासिनो), स्तरिय होटल, मनोरञ्जनात्मक गतिविधिको कारण पर्यटक भैरहवा तथा यस आसपासमा आकर्षित हुने गरेका छन् । प्राकृतिक, धार्मिक एवं सास्कृतिक रुपमा धनी रहेको रुपन्देहीमा पछिल्लो समय पर्यटकीय पूर्वाधारहरुको विकासले फड्को मारेको छ । सरकारी क्षेत्रबाट मात्र नभई यहाँका निजी क्षेत्रले पर्यटकीय पूर्वाधारमा लगानी बढेका छन् । जसका कारण यस क्षेत्रको पर्यटकीय सम्भावना अझै बढेर गएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि पर्यटकीय पूर्वाधारमा लगानी बढेको हो ।
बेलहियामा अध्यागमन कार्यालय, पर्यटक सूचना केन्द्र, फराकिलो बाटो, स्तरीय यातायातका साधन, स्तरीय होटलको घुइँचो, पर्यटक भुलाउने स्थल यस क्षेत्रको पहिचान बनेका छन् । पछिल्लो समय भारतीय पर्यटकलाई लक्षित गरी रुपन्देहीमा फनपार्क, क्यासिनो, रात्रीकालीन बजार सञ्चालनको क्रम बढेको छ । रुपन्देहीमा ८९ वटा पर्यटकस्तरीय होटल रहेका छन् । यस्तै एक सय ५० भन्दा बढी अन्य होटल रहेका छन् । सिद्धार्थनगर होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठका अनुसार रुपन्देही एकै पटकमा छ हजार बढी पर्यटकलाई धान्न सक्ने क्षमता राख्छ । “अहिले यस क्षेत्रको बजार, पर्यटन भारतीय पर्यटकले धानिरहेका छन् ।” उनले भने, “भैरहवा र बुटवल धेरै व्यापार, पर्यटन र मनोरञ्जन गतिविधि गर्ने मुख्य दुई सहर भई सकेका छन् ।”
भैरहवा आसपासका छ वटा क्यासिनो सञ्चालनमा रहेका छ । भैरहवामै दुई वटा वाटरपार्कमा गर्मी मौसममा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको लुम्बिनी एम्युजमेन्ट पार्क र होटल बोधी रेडसनमा रहेको वाटर पार्कले पनि भारतीयलाई लोभ्याउने गरेको छ ।
निजी क्षेत्र मात्र हैन सरकारीस्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाइएको छ । पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलगायत कार्यले प्राथमिकता पाइरहेका छन् ।
पर्यटन डिभिजन कार्यालयले रुपन्देहीका महिलवारमा “बहुसास्ंकृतिक” सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको मोतीनगरलाई र पश्चिम नवलपरासी सुनवल नगरपालिकाको केरवानीलाई संयुक्त रुपमा अवध सांस्कृतिक ग्रामको रुपमा अगाडि बढाइएको कार्यालयले जनाएके छ । पहाडी जिल्ला गुल्मीको रिडी क्षेत्र र रुरु क्षेत्र तथा अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा खस–आर्य सांस्कृतिक ग्राम निर्माणको काम अघि बढेका छन् । पाल्पाको जन्तीलुङ मरामकोटमा मगर सांस्कृतिक ग्रामको अवधारणा अगाडि बढाइएको छ । यसबाहेक बुटवलमा रहेको जिपलाइन, निर्माणाधीन अवस्थामा रहेको केबलकारले पनि पर्यटकलाई आकर्षित गर्नेछ । रुपन्देहीको पर्यटकीय पूर्वाधारमा सरकारी साथै निजी क्षेत्रले गरेको लगानीको कारण कोभिडका कारण थला परेको पर्यटकीय चहलपहल बढाएको छ । à
पर्यटकीय पूर्वाधारमा फड्को मार्दै रुपन्देही
निजी क्षेत्र मात्र हैन सरकारीस्तरबाट पनि पर्यटन पूर्वाधारमा लगानी बढाइएको छ । पर्यटकीय गन्तव्य पहिचान, पर्यटकीय स्थलमा पूर्वाधार निर्माणलगायत कार्यले प्राथमिकता पाइरहेका छन् । रुपन्देहीमा बौद्ध धर्मसँग सम्बन्धित मात्र नभई ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक स्थल पनि उल्लेख्य रुपमा रहेका छन् ।

गौतमबुद्ध सन्देश








