बुटवल,७ असार ।
रूपन्देहीको बुटवल स्थित बेलबास-बेथरी सडक बिस्तारकाे काम राेकिदा त्यस क्षेत्रका बासिन्दा तथा यात्रुहरूले लामो समयसम्म सास्ती व्यहोर्दै आएका छन् ।

२०७३ सालदेखि सुरु भएकाे बुटवलको बेलबासदेखि बेथरी हुँदै लुम्बिनी जाने २१ किलोमिटर सडक विस्तार कार्य अझैसम्म पुरा नहुँदा स्थानीय वासिन्दाका साथै उक्त सडक भएर आवतजावत गर्ने यात्रुहरूले सास्ती ब्यहाेर्नु परेको हो ।
समयमै काम सम्पन्न नहुँदा बेलबास-बेथरी सडकखण्ड अन्तर्गत बुटवलको नहरपुर र रानीगन्ज क्षेत्रका बासिन्दा पानी पर्दा हिलो र सुक्खा याममा धुलोले सास्ती व्यहोर्दै आएका छन् ।
सडकको बिचमा परेको खाल्टाखुल्टीले हैरान भएपछि स्थानीयहरूले बिगत दुई बर्ष अघि संघर्ष समिति नै बनाएर बेलाबेलामा विरोध गर्दै आए पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयकाे गुनासो छ ।
९ वर्षदेखि अधुरो रहेको सडक बिस्तारकाे काम छिटो पूरा गर्न स्थानीयबासीहरूले पटकपटक सडक कार्यालय, प्रमुख जिल्ला अधिकारी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई समेत आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय संघर्ष समितिका संयोजक विजय ढकालले बताए ।
बर्षा सुरु भएकोले तत्कालका लागि खाल्डाखुल्डी पुर्ने र बाँकी काम पनि यथासिघ्र सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
तत्काल काम सुरु नगरे पुनः आन्दोलनमा उत्रने संघर्ष समितिका संयोजक ढकालले चेतावनी दिए ।
उनले भने,‘संघ सरकारले सडक विस्तार गर्ने हो कि प्रदेश सरकारले हो, जसले गरे पनि यो काम चाँडै हुनुपर्यो भन्ने हाम्रो माग हो ।’
बुटवल–बेलबास हुँदै लुम्बिनी जाने यो सडक दुई खण्डमा विभाजन गरेर निर्माण सुरु भएको थियो । जस अन्तर्गत दोस्रो प्याकेजमा ८ किलोमिटर निर्माण गर्ने ठेक्का बज्र गुरु कान्छाराम जेभीले लिएको थियो । उक्त कम्पनीले निर्माण गर्ने जिम्मा लिएको खण्डमा विभिन्न ५ ठाउँमा स–सानो काम अलपत्र हुँदा यात्रुहरूले कष्ट व्यहोर्नु परेको छ ।
संघीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत सडक विभागले २०७३ सालमा २१ किलोमिटर सडक विस्तारको ठेक्का लगाएको थियो । ठेक्का सम्झौता अनुसार २०७६ सालसम्म निर्माण कार्य सक्ने समयसीमा ताेकिएकाे थियो ।
बज्र गुरुले साढे ८ किलोमिटरको प्याकेज २०७६ असार मसान्तसम्म सक्नुपर्ने थियो तर ६ पटकसम्म म्याद थप्दै २०८१ चैतसम्म सम्पन्न गर्ने सीमा बढाइएको भए पनि अहिलेसम्म पुरा नभएको हो ।
पछिल्लो समय ठेकेदार प्रतिनिधि पनि सम्पर्कमा नआउने र बहुवर्षे योजना अनुसार थप बजेट पनि नआएकोले सडक कालोपत्रे,कल्भर्ट, सडक पेटी निर्माण गर्ने लगायतका काम बाँकी रहेको सडक पूर्वाधार विकास कार्यालयका अधिकारीहरूकाे भनाइ छ ।









