उत्कृष्ट सहकारीले सुरु गर्‍यो कृषि एम्बुलेन्स सेवा

गौतमबुद्ध सन्देश

भैरहवा, ४ जेठ ।
भैरहवास्थित उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आइतबारदेखि भैरहवामा कृषि एम्बुलेन्स सेवा सुरु गरेको छ । प्रदेश ५ भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय तथा सिद्धार्थनगर नगरपालिकाको सहयोग एवं संयुक्त आयोजनामा भैरहवामा कृषि एम्बुलेन्स सुरु गरिएको हो ।

स्थानीय किसानबाट उत्पादित तरकारी किसानकै मुल्यमा उपभोक्तामाझ पुर्‍याउन कृषि एम्बुलेन्स सेवा सुरु गरिएको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । कोभिड–१९ का कारण किसानहरुले उत्पादन गरेका तरकारी प्रत्यक्ष रुपमा उपभोक्ताहरुलाई दिन नसकेको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स सञ्चालन गरिएको ज्ञवालीले बताए ।

स्थानीयस्तरमा उत्पादित तरकारीले बजार नपाएको अवस्थामा भारतीय तरकारीहरु आयात गरेर विक्रीवितरण भएको अवस्थामा किसानको खेत बारीमा पुगेर तरकारी किन्ने र उपभोक्तालाई किसानकै मुल्यमा विक्री गर्ने कृषि एम्बुलेन्सको मुख्य उद्देश्य रहेको उनले बताए । यहाँका किसानले उत्पादन गरेका तरकारी फाल्नुपर्ने र उपभोक्ताले पनि महंगोमा किन्नुपर्ने अवस्था थियो, तर यो सेवाबाट अब किसानलाई धेरै नै राहत भएको छ किनभने किसानले आफ्नो उत्पादनको मुल्य पाउनुभएको छ, ज्ञवालीले भने ।

लकडाउनको अवस्थामा सहजै तरकारी पाउन नसकेको उपभोक्ताहरुलाई टोलटोलमा तरकारी पुर्‍याउने गरी आइतबारदेखि कृषि एम्बुलेन्स सेवा सुरु गरिएको उनको भनाइ छ ।

कृषि एम्बुलेन्स सेवा टोल टोलमा पु¥याइ भीड नगराइकन उपभोक्तालाई सुपथ मुल्यमा तरकारी दिइने कृषि एम्बुलेन्स सेवाका संयोजक रामचन्द्र रेग्मीले बताए । जिल्लाका विभिन्न स्थानमा उत्पादित तरकारी विक्री हुन नसकेको अवस्थामा नगरवासीका टोल तथा गल्लीमा तरकारी पु¥याउने उद्देश्यले सेवा सञ्चालन गरिएको रेग्मीले बताए ।

किसानले उत्पादन गरेका तरकारी खेर नजाओस् र उपभोक्तामाझ पनि सहज रुपमा पुगोस् भन्ने हाम्रो सोच हो, यसमा नाफा कमाउने उद्देश्य छैन, किसानले जति मुल्यमा तरकारी बेच्नुहुन्छ, त्यही मुल्यमा नै उपभोक्ताहरुलाई उपलब्ध गराउँछौंं, उनले भने । तरकारी खरीद गर्दा सामाजिक दुरी कायम गर्न उनले उपभोक्ताहरुलाई आग्रह गरे ।

सिद्धार्थनगर नगरपालिकामा आवातजावत पूर्ण रुपमा बन्द भएको अवस्थामा टोलटोलमै उपभोक्तामाझ तरकारी पुर्‍याउने कार्य राम्रो रहेको सिद्धार्थनगर नगरपालिका–३ का स्थानीय एवं उपभोक्ता बृहस्पति शुक्लाले बताए । केही हप्ता पहिले ठेलाबाट तरकारी पाइन्थ्यो तर त्यो पनि बन्द भयो, उत्कृष्ट सहकारीले राम्रो व्यवस्था ग¥यो, यसलाई निरन्तरता दिनुपर्छ, शुक्लाले भने । स्वदेशमै उत्पादित ताजा तरकारी सस्तो मुल्यमा उपलब्ध गराउने उत्कृष्ट सहकारीको कार्य उत्कृष्ट रहेको उनको भनाइ छ । सेवाको आइतबार सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले उद्घाटन गरेकी थिइन् ।

यस अघि जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि कृषि एम्बुलेन्स सेवा शुभारम्भ गरी सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *