रुपन्देहीमा कोरोना देखिएपछि रोहिणीमा थप सर्तकता

गौतमबुद्ध सन्देश

भैरहवा, २२ वैशाख ।
विश्व नै आक्रान्त पारेको कोभिड १९ (कोरोना) रुपन्देहीमै देखिएपछि यहाँका स्थानीय तहहरुले थप सर्तकता अपनाएका छन् । अहिलेसम्म लकडाउनमा केही नरम भएका स्थानीय तहहरु यसको पालनमा कडाई अपनाउन थालेका हुन ।

रुपन्देहीमै कोरोना संक्रमित देखिएपछि जिल्लाको सीमा नाकामा पर्ने गाउँपालिकाहरुले आकस्मिक बैठक बसेर विभिन्न निर्णय गरेका छन् । रोहिणी गाउँपालिकाको बसेको आकस्मिक बैठकले सीमा नाकाहरुमा थप सर्तकता र कडाई अपनाउने निर्णय गरेको छ । गाउँपालिकाको ५ वटा वडाहरु भारतीय सीमासंग जोडिएर रहेको हुँदा यी वडाहरुमा गाउँपालिकाले स्थानीयहरुको थप टोली बनाई उनीहरुलाई परिचालित गर्ने जनाएको छ ।

यस्तै गाउँपालिकावासीलाई अत्यावश्यक काम बाहेक घरबाहिर नजान तथा पास बाहेकका सवारीसाधन नचलाउन पनि गाउँपालिकाले सूचना जारी गरेको छ । रोहिणी गाउँपालिकाको बाटो प्रयोग गर्ने बिभिन्न मालवाहक सवारीसाधनहरु अबदेखि रोहिणी गाउँपालिकामा रोक्न नपाउने निर्णय समेत गरिएको छ । गाउँपालिकाले अतिविपन्न परिवारहरुको लागी दोस्रो चरणको राहत वितरण गर्ने जानकारी पनि दिएको छ ।

गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रुपन्देहीमै कोरोना देखिएकोले यस क्षेत्रमा थप सर्तकता अपनाइएको बताए । उनले सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकसहित अहिले आफै खटिएको बताए । उनले यस अघि पनि कडाई गरिए पनि अबदेखि भने थप कडा रुपमा लकडाउनको पालना गर्ने जनाए । यसका साथै सीमा नाकाबाट अवैध रुपमा आवागमन रोक्न स्थानीय स्वयंसेवकहरुलाई खाजा खर्च दिएर उनीहरुलाई अझै सक्रिय बनाइने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *