दोस्रो ओमसतिया महोत्सव सुरु

गौतमबुद्ध सन्देश
भैरहवा, २४ माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित नरैनापुरमा शुक्रबार गतेदेखि दोस्रो ओमसतिया कला, संस्कृति, खेलकुद, उद्योग, व्यापार तथा कृषि प्रबद्र्धन महोत्सव–२०७६ सुरु भएको छ । श्री रामजानकी मन्दिर रंगशाला, सभाहल व्यवस्थापन समितिको आयोजना तथा ओमसतिया गाउँपालिका र उद्योग व्यापार संघ, देवदहको सह–आयोजनामा फागुन ४ गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

स्थानीय क्षेत्रमा औद्योगिक चेतना बढाउने, कृषिको आधुनिकीकरण र व्यवसायीकरण तथा पर्यटनको प्रबद्र्धन तथा विकास गर्न, साथै कला, संस्कृति, खेलकुद, स्थानीय उत्पादनको प्रबद्र्धन तथा उत्पादक र उपभोक्ताबीच सम्बन्ध जोड्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक, ओमसतिया गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष शिव कुमार धवलले बताए ।

महोत्सवको प्रतिनिधिसभा सदस्य तथा पूर्व कृषिमन्त्री छबिलाल विश्वकर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रतिनिधिसभा सासंद विश्वकर्माले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान यस्ता मेला महोत्सवको महत्वपूर्ण योगदान रहने बताए । उनले ग्रामीण क्षेत्रमा महोत्सव गर्नु आफैमा महत्वपूर्ण कार्य भएको र यसबाट अरुलाई पनि प्रेरणा दिएको बताए । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले प्रथम ओमसतिया महोत्सवको सफलतापछि दोस्रो महोत्सव आयोजना गरिएकोले यसलाई सफल पार्नु सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले ओमसतियाको पहिचानलाई अझ उचाईमा पु¥याउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरे । सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले महोत्सवले ओमसतियाको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका जिल्ला सचिव निर्मल जि.सी.ले परिवर्तनप्रति सबैले गर्व गर्ने बेला आएको बताए । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल रुपन्देहीका वरिष्ठ उपाध्यक्ष महेन्द्र गुप्ता(प्रशान्त)ले ओमसतिया गाउँपालिकाले महोत्सव आयोजना गरेर उदाहरणीय काम गरेको बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले सबै मिलेर महोत्सव सफल बनाउनुपर्ने बताए । छोटकी रामनगर माध्यमिक विद्यालयका प्रअ कैलाश भरले महोत्सवलाई हरेक क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यक रहेकोमा जोड दिए । एशियन लाइट इङलिस बोर्डिङ स्कूलका प्रधानाध्यापक केशव खनालले गत वर्षको तुलनामा यस वर्ष महोत्सव अझ व्यवस्थित रुपमा सञ्चालन हुने बताए ।
ओमसतिया गाउँ कार्यपालिका सदस्य चुमकला बस्यालको स्वागत तथा महोत्सव मुल आयोजक समितिका सदस्य सचिव अजय कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

महोत्सवमा करिब ३ लाख दर्शकको उपस्थिति हुने र २ करोड बराबरको कारोबार हुने आयोजकले अपेक्षा गरेका छन् ।
यस वर्षको महोत्सवमा कलाकारहरु विराट भट्ट, सौगात मल्ल, भोजुपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुवा), आम्रपालीको टिम, वद्री पंगेनी, प्रकाश सपूत, ज्योति मगर लगायतका कलाकारको प्रस्तुती रहने महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक पशुपति यादवले बताए । महोत्सव अवधिभर तीन दिन कुस्ती प्रतियोगिता समेत हुने उनले जानकारी दिए ।

महोत्सव अवलोकन गर्न आउने दर्शकको लागि प्रवेश शुल्क वापत रु.४०, विद्यार्थीहरुको लागि रु. २० र समूहगत संघ–संस्थालाई रु. १० तोकिएको आयोजकले जनाएका छन् । त्यस्तै ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *