घुम्नै पर्ने गुल्मीका १० स्थलहरू

अनिल खत्री

प्रदेश नम्बर पाँचका १२ मध्ये एक जिल्ला हो, गुल्मी । गुल्मी भौगोलि रुपमा पहाडी जिल्ला हो । सांस्कृतिक तथा पर्यटकीय हिसावले मनमोहक छ । सुन्दर हरियाली डाँडाहरुले यहाँ आउने जो कोहीको मनै लोभ्याउँछ । जिल्लामा १२ स्थानीय तह छन् । यहाँ प्रशस्तै घुम्ने र रमाउने गन्तव्य छन् । हरेक दृष्टिले गुल्मीमा पर्यटक भित्र्याउन सकिन्छ । त्यसका लागि दीर्घकालीन योजन जरुरी छ । स्थानीय तहले यहाँ योजनाबद्ध पर्यटन विकासका काम गरिरहेका छन् । संघ सरकारले देशका मुख्य एक सय पर्यटकीय स्थल घोषणा गर्दा यहाँका तीन ठाउँ परेका छन् । यो आलेखमा गुल्मीमा घुम्नै पर्ने १० गन्तव्यकाबारे चर्चा गरिएको छ ।

रेसुंगा क्षेत्र
समुन्द्र सतहदेखि १ हजार ७ सय मिटर उचाइमा ३ हजार ४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले प्रशिद्ध छ । यहाँ भगवान राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर समस्या सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा समेत छ । रेसुङ्गाको उत्तरतर्फ अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ«्रेलगायत १५ भन्दा बढी मनोरम हिमाल देखिन्छन् । सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ । यसले सबैलाई आनन्दित पार्छ । यदुकानन्दले वि.सं. १९८३ मा बनाएको यज्ञशाला रेसुंगामा छ । सुनको गजुर र तामाको छाना भएको प्यागोडा शैलीमा निर्मित यज्ञशाला रेसुङ्गाकै सबैभन्दा ठूलो मन्दिर हो । रुरुक्षेत्र पादस्थान हो भने रेसुङ्गाक्षेत्र शिरस्थान हो । नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरु मध्ये रुरु रेसुङ्गा क्षेत्रलाई पनि विकास गर्ने उद्देश्यले २०६३ सालमा रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिको स्थापना गरेको छ । महाप्रभु लक्ष्मीनारायणले गुल्मी र अर्घाखाँचीका जनताहरुको सहयोगमा बनाएको ठूलो पोखरी रेसुंगामा छ । विभिन्न तीर्थस्थलहरुबाट जल र बालुवा ल्याई मिसाएर पोखरीको निर्माण गरेको मानिन्छ । रेसुङ्गाको पोखरी प्राचीन कालदेखि नै पवित्र तीर्थस्थल हो । यस प्रचारप्रसार गरे गुल्मीको समृद्धिमा उल्लेख्य टेवा पुग्छ ।

रुरु क्षेत्र
गुल्मी, पाल्पा र स्याङ्जा तीन जिल्लाको मुख्य संगम स्थल रुरु क्षेत्र कालीगण्डकीको नामले परिचित छ । नेपालको चार धाम मध्येको एक र नेपालको बनारस भनेर चिनिने यो क्षेत्र पर्यटकीय गन्तब्य पनि हो । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वको एउटा धरोहर र खम्बा हो । गुल्मीको मुख्य प्रवेशद्वार पनि । रिडीदेखि डेढ किलोमिटर उत्तरमा भृगुतुंग नामक गुफा छ । यहाँ भगवान शिबले आफ्नी पत्नी पार्वतीको शव बोकेर संसारको भ्रमण गर्दै गर्दा सतीदेवीको उपल्लो दाँत पतन भएको मान्यता छ । जुन श्री स्वस्थानी महात्यम्यमा पनि केही ब्याख्या गरिएको छ ।
त्यस्तै गलफूलगुफा पनि गुल्मीको थोर्गा तर्फको भागमा छ । धार्मिक धरोहर रुरु क्षेत्रमा सानाठूला गरेर १ सय बढी मन्दिर तथा साना ठूला थुप्रै गुफा छन् । रिडीमा मुख्य गरि माघे संक्रान्तिमा तीन दिन र ऋशिकेश उत्सब २ दिन लाग्छ । यो जिल्लाकै ठुलो मेलामध्यको एक हो । वर्ष भरीको औंशी, पूर्णिमा, ग्रहण तथा बैशाख महिनाको प्रत्येक शनिबार समेत मेला लाग्ने गर्छ । प्राकृतिक बनावटमा उपत्यका जस्तो देखिने रिडी सामुन्द्रिक सतहदेखि १ हजार ८ सय फिटको उचाइमा छ ।
भगवान बिष्णुको प्रतीक मानिने शालीग्रााम पनि रिडीमा पाइन्छ । त्यसैले यो क्षेत्र दुर्लब शालिग्रााम पाइने स्थानले समेत चिनिएको छ । रिडीको स्थानीय उत्पादन राडी पाखी, डोका डाला, नाम्ला, कम्बल, घिउ, चाकु, तरुल, खुदो, उखु, कफी, अदुवा, लिचीलगायतका प्रख्यात मानिन्छ । पश्चिम नेपालको तानसेन बजारदेखि उत्तर–पश्चिममा गुल्मी र पाल्पाको सीमानाबाट बग्ने पवित्र कालीगण्डकीमा सुन खोज्नेहरुको पनि तांती नै लाग्छ । रिडी क्षेत्रमा लाग्ने मेला भर्न हजारौं धार्मिक पर्यटक आउँछन् । मेलाई थप व्यवस्थित गरी बाह्य पर्यटक भित्र्याउने योजना बनाएर स्थानीय, प्रदेश र केन्द्र सरकार अघि बढ्नु पर्छ ।

धुर्कोट कोट
धुर्कोट गाउँपालिकाको मध्यभागमा पर्ने धुर्कोट कोट नेपालको चौबिसे राज्यमध्येको ऐतिहासिक दरबारको नाम हो । धुर्कोट कोटमा खड्गछत्रको आरधाना गरिने भएकाले पनि यो निकै महत्वपूर्ण धार्मिक स्थल हो । मध्यकालका राजाले दरबारको परिसरमा भवानीको मन्दिर बनाएर पुजा गर्ने चलन चलाए पनि अहिले पुरै कोटलाई नै मन्दिरको रुपमा मानिएको छ । जुन नेपाल एकिकरणपूर्वको २४ से राज्यमध्येको धुर्कोट राज्यको राजधानी राजदरबार हो । उत्तर मध्यकालीन समयमा ७ सय घरधुरी रहेको धुर्कोट १४६५ मा न्यायनको केन्द्र बन्यो । बहादुर साहको पालामा काजी दामोदर पाण्डेको फौजले धुर्कोटलाई बृहत् राज्यमा गाभेको हो । कोटमा मल्लकालीन राजाका हतियार र तरवारलाई वर्षको एक दिन भगवान मानेर पुजा गरिन्छ । यहाँ नवमिको दिन भाकल चढाउने, परेवा उडाउने र पञ्जवली दिने गरिन्छ । कोटमा पूर्णिमाको दिन पुजा र सरायँ नाच हुने गर्छ । धुर्कोट कोटबाट गाउँपालिकाका सबै वडा देखिनुका साथै विभिन्न शृङ्खला पनि देख्न सकिन्छ ।

चारपाला
गुल्मीको चारपाला ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणका अलावा धार्मिक दृष्टिकोणबाट पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपाल एकिकरण हुनुभन्दा पहिले यो एउटा स्वतन्त्र राज्य थियो । जुन गुल्मी राज्य नामले चिनिन्थ्यो । वीर शाही यहाँका पहिला राजा थिए । हाल ईश्वरी देवीको नामबाट चिनिने गुल्मी चारपालामा वर्षको दुई पटक पूजाआजा गर्ने, पञ्चवली ल्याउने र सराँय नाच्ने गरिन्छ ।

मुसिकोट
मुसिकोट पनि गण्डकी प्रदेशका चौबिसे राज्य समूह मध्यको एक महत्वपूर्ण राज्य मानिन्न्छ । टाकुरामा अवस्थित यस राज्यमा सिंह ठकुरी राजाहरुले राज्य गर्थे । प्रचलनअनुसार सिंह ठकुरी राजाहरुले स्थापना गरेको खड्ग देवीको मन्दिर अहिले पनि छ, जसलाई दरबारकोट भनिन्छ । यो जिल्लाको आकर्षक गन्तव्य हो । यहाँ पर्यटन विकासको अधिक सम्भावना छ ।

विचित्र गुफा
यो गुफा सदरमुकाम तम्घासबाट पश्चिम करिब चार कोषको दूरिमा पर्छ । प्रकृतिको अद्भूत उपहारको मानिने यो गुफाको कुल १८५ मिटरसम्म अध्ययन गरिएको छ । बिचित्र गुफामा पाँच सय जना अटाउने स्थानलाई सभाहल भनिएको छ । सभाहलको माथि पट्टीको सिलिङ्गमा विभिन्न आकृतिका कलात्मक बुट्टा र बुट्टाहरुका बीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप, शिवलिङ्गसहितको मन्दिर, राम र कृष्णको प्रतीक, विभिन्न नागहरुको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरुले गुफालाई झन मनमोहक बनाएको छ । यहाँ फेला परेका गुफाका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको हो । विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र छ । यसभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थन र निकै कलिला चट्टानहरु सजाएर राखिएको छ ।

मदाने लेक
गुल्मीको उत्तर पश्चिम क्षेत्रका तत्कालीन ११ वटा गाविसमा मदाने लेक पर्छ । कुल दुई हजार ६९० मिटर उचाइमा रहेको मदाने लेकबाट छल्दी, पनाहा, निस्तीलगायतका नदी वग्ने गर्दछन् ।

थाप्ले लेक
गुल्मीको कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका साविकका २६ वटा गाविसमा पर्ने थाप्ले सत्यवती वन क्षेत्रले वातावरणीय र धार्मिक पर्यटकीय क्षेत्रको ३७ हजार ८४३ हेक्टर भूभाग ओगटेको छ । वातावरणीय, पुरातात्विक, जैविक विविधता थाप्ले लेकका विशेषता हुन् । ‘थाप्ले सत्यवती’ क्षेत्र स्थानीयस्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै महत्व राख्छ । टिमुर, चिराइतो, लोक्ता, अल्लो, सुगन्धवाल, सतुवालगायत जडीबुटी यहाँ पाइन्छन् । जनसहभागितामा आधारित सूक्ष्म पारिस्थितिकीय प्रणाली व्यवस्थापनको अवधारणाअनुरुप समग्र वन क्षेत्रको व्यवस्थापनद्वारा प्राकृतिक स्रोत, जलस्रोत तथा जैविक विविधताको संरक्षण, पर्या–पर्यटनको विकास एवं पर्यावरणीय सन्तुलन कायम गर्ने लक्ष्यका साथ ‘थाप्ले सत्यवती’ लाई संरक्षित वन समेत घोषणा गरिएको छ ।

अचमेश्वर गुफा
गुल्मीमा विचित्र बाहेकका अरु गुफा पनि छन् भन्दा अचम्म लाग्न सक्छ । तर जिल्लाको रुरु गाउँपालिका १ मा पर्ने कालिगण्डकी किनारको साँघुरे भन्ने स्थानमा रहेको अचमेश्वर गुफा भित्र स्वयम् उत्पत्तिमान शिवलिङ्ग, योनी आकारका शिला, गणेश, नन्दि, ब्रह्मा, विष्णु महेश्वर आदि भगवानका मूर्ति, नाग कुण्ड सनातन धर्म संस्कृतिका सम्पदाका आकृति छन् । कालिगण्डकी किनारको पहाडको खोंचमा रहेकाले गुफामा पुग्न कठिन भए पनि डोरीको सहायताले भक्तजनहरु दर्शनार्थ यहाँ पुग्ने गरेका छन् । शिवरात्रीमा भव्य मेला लाग्छ । समितिले अस्थाई प्रकृतिको बाँसको भर्याङ निर्माण गरी आवतजावतको व्यवस्था मिलाएको छ ।

अर्जुन डाडाँ
रेसुङ्गा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जुन डाँडाबाट गुल्मीका विभिन्न स्थानसहित अर्घाखाँची, पाल्पा जिल्लालगायत विभिन्न हिम शृंखलाहरुको अवलोकन गर्न सकिन्छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा जैविक विविवधताले महत्वपूर्ण मानिएको अर्जुन डाँडा करिव २ हजार मिटर उचाईमा छ । पाँचपाण्डव मध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन राखिएको मान्यता छ । अर्जुनले यसै गिरीमा वसी गिताको तत्व ज्ञान लिएका, शिवजीले यसै गिरीमा ध्यान गरेका भन्ने किम्वदन्तीले पनि सयौं वर्षदेखि अर्जुन भगवती मन्दिर, छत्रस्थान, नगस्थान, सिद्धस्थान, शिवस्थानमा पुजा गर्ने तथा वली चढाउने गरिन्छ । यहाँ अवस्थित मन्दिरमा वडादसैँको घटस्थापनादेखि नवदुर्गा देवीको पूजा गर्ने गरिन्छ ।
डाँडासँगै रहेको जंगलमा लाली गुँरास, ओखर, चाप, काफल, समेतका वनस्पति र सयौ प्रजातिका जडीवुटी पाइने भएकाले पनि यो पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ । धार्मिक ऐतिहासिक महत्व बोकेका रुद्रेणी, कुर्घा मालिका, श्रृंगाको श्रृंगीश्वर मन्दिर, लिच्छवीकालीन शान्तिपुरको चक्रेश्वर, ऐतिहासिक दरबार र कोट, चारपाला दरबार, इस्माकोट, धुर्कोट जैविक विविधता र प्राकृतिक सौन्दर्यले महत्व बोकेको टिमुरे लेक, दिब्बरुङ दह, क्वाङ्के देउराली, शालिमेदह तथा प्रकृतिको अनुपम संरचना सिदेद्धर गुफा पनि यही गुल्मीमा पर्छन् । यी सबै गन्तव्यलाई जोडेर एकीकृत विकास गरेमा गुल्मीको समृद्धि हासिल हुनसक्छ । लुम्बिनीलगायतका ठाउँमा आउने पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउन सक्नुपर्छ । जानाकारहरुका अनुसार माथि उल्लेखित ठाउँ एकपटक घुम्नै पर्ने हुन्, यी ठाउँ साँच्चिकै रमणीय र मनमोहक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *