यसरी बढ्छ पर्यटकको बसाइँ

–रबिन्द्र प्रताप गुप्ता
पर्यटन क्षेत्र नेपालको आर्थिक विकासको आधार बन्दै आएको छ । नेपालमा पर्यटक आउने क्रम सुरू भए पछि यस व्यवसायसंग सम्बन्धित अन्य थुप्रै क्षेत्र फस्टाउन थालेका हुन् । होटल, रेष्टुरेण्ट ट्राभल एण्ड टुर्स जस्ता क्षेत्रको माग पनि पयर्टक आगमनसंगै बढ्न थालेको हो । अर्कोतर्फ नेपालका करीब सबै सदरमुकाममा सडक यातायात पुगिसकेको छ । सडक यातायात पुग्न नसकेका थुप्रै स्थानमा समय देखि हवाई सेवा सञ्चालन भएको छ । यी हरेक क्षेत्रको विकासका पछाडी पर्यटन क्षेत्रको उल्लेख्य योगदान छ ।
वास्तवमा नेपालको परिपेक्षमा आर्थिक समृद्धिको मेरुदण्डका रुपमा पर्यटन व्यवसायलाई लिन सकिन्छ । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रुपमा परिचित नेपाल जहाँ नेपालीको स्वाभिमान जोगाउने राष्ट्रकै एक महत्वपूर्ण प्राकृतिक सम्पदाले धनी छ । पर्यटन क्षेत्र आर्थिक समृद्धिको आधार स्तम्भ हो । विगतमा राजनीतिक अस्थिरताले गर्दा यसले पर्यटन क्षेत्रको विकासमा पनि अवरोध ग¥यो तर अब स्थिर सरकार निर्माण भएकाले पर्यटन क्षेत्रको विकासले गति लिन्छ भन्ने पर्यटन व्यवसायीको अपेक्षा छ ।
विभिन्न पर्यटकीय स्थलमा प्रत्येक दिन बिहान देखि साँझ सम्म पर्यटकको चहलपहल हुन्छ । पर्यटकहरुको आगमन बढी हुन्छ । तर यआँ आएका पर्यटक घुमेर एकैछिनमा फर्किहाल्छन । यो अवस्था भने राम्रो होइन । यहाँ आउने पर्यटकको बसाइ अवधि निराशाजनक छ । विशेष गरी स्थल नाका हुँदै लुम्बिनी आउने पर्यटकहरुको बसाइ हुन सकेको छैन् । तेस्रो मुलुकबाट प्रत्येक दिन सयौं पर्यटक बेलहिया नाकाबाट लुम्बिनी भ्रमण गर्न आउँछन् । तर उनीहरू आएकै दिन वा भोलिपल्ट नै त्यही बाटोबाट बाहिरिन्छन् । घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या प्रत्येक वर्ष बढेको भए तापनि बसाइ भने हुन सकेको छैन । यसका पछाडी थुप्रै कारण छन् । जिल्लामा आउने पर्यटकलाई एक दिन भए पनि सोही क्षेत्रमा बास बसाल्न सके गाउँमा ग्रामीण पर्यटन र शहरमा होटल व्यवसाय फस्टाउने थियो । पर्यटन व्यवसाय पनि फस्टाउने थियो । पर्यटकको बसाइ लम्ब्याउने हो भने युवालाई विदेश जान समेत पर्ने थिएन । पर्यटन व्यवसायले नै रोजगारीका अवसरहरु सिर्जना गर्छ । स्थानीयवासीले पर्यटकीय स्थलमा आउने पर्यटकबाट लाभ लिन सक्नुपर्छ ।
लुम्बिनी आउने पर्यटकहरु विशेष गरी मायादेवी मन्दिर जान्छन् । अन्य गुम्बा तथा बिहार छरिएर रहेकोले पैदल नघुमेर उनीहरु फर्किन्छन् । होटलमा बसेर दिन बिताउनुपर्ने भएकोले उनीहरु फर्किन्छन् किनभने लुम्बिनी विकास कोषको पर्खाल बाहिर पर्यटकीय गतिविधि छैन् । लुम्बिनीमा बुद्धसंग सम्बन्धित केही महत्वपूर्ण कार्यक्रम राख्ने वा संस्कृति झल्काउने विषय राख्न सके लुम्बिनीमा स्वतः पर्यटकहरुको बसाइ लम्बिन्छ । लुम्बिनी र नजिकै रहेका पुरातात्विक तथा धार्मिक महत्वका विभिन्न स्थानमा पर्यटकहरूलाई आकर्षित गर्न सरकारले योजनाहरु ल्याउनुपर्छ । केही पर्यटकहरु त गाडीमा खाना पकाउने ग्यास र सिलिण्डर समेत बोकेर आउँछन् र खाना आफैले पकाएर खाइ फर्कन्छन् । अर्को अर्थमा उनीहरु यहाँ फोहोर फालेर जान्छन् । आफै पकाएर खाने अनि आएको दिन नै फर्केर जाने पर्यटकबाट नेपाललाई के उपलब्धी ? प्रश्न उठ्छ । पर्यटकहरुको बसाइ नहुँदा कोष बाहिर सञ्चालन भएका होटल व्यवसाय पनि धरासायी बन्दै गएको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । झन् विदेशी पर्यटकको तुलनामा आन्तरिक पर्यटक त केही घण्टामै नै फर्किने गरेका छन् । पर्यटकहरुको बसाइ लम्बिए मात्र उनीहरुले खर्च गर्ने वातावरण सिर्जना हुन्छ र त्यस क्षेत्रको पर्यटन प्रबद्र्धन हुन्छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन बृहतर लुम्बिनी क्षेत्रको विकास आवश्यक छ । यहाँ आउने पर्यटकलाई रुपन्देहीको देवदह, कपिलवस्तुको तिलौराकोट, पश्चिम नवलपरासीको रामग्राम सम्म पुग्ने वातावरण सिर्जना गर्नुपर्छ । लुम्बिनी पुग्ने पर्यटकहरु बुद्धसंग सम्बन्धित अन्य स्थलहरुमा त्यत्ति पुग्ने गरेका छैनन् । उनीहरुलाई बुद्ध सर्किटसंग सम्बन्धित स्थल सम्म पु¥याउने वातावरण सिर्जना गर्नुपर्छ । पर्यटकको बसाइ लम्ब्याउनका लागि लुम्बिनी विकास कोषले पनि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्छ । उनीहरुको बसाइ लम्ब्याउने कुरामा स्थानीय तह, होटल व्यवसायी तथा विभिन्न स्थानीय साझेदारको पनि भूमिका हुनुपर्छ । लुम्बिनी नजिकै रहेको गैडहवा तालमा समेत पर्यटकहरुलाई लैजाने वातावरण मिलाउनुपर्छ । बुद्ध जन्मस्थल आउने पर्यटकलाई पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्धारी, वर्दिया राष्ट्रिय निकुञ्ज, अर्घाखाँचीको सुपा देउराली लगायत प्रदेश ५ का महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल घुमाउन सकियो भने पर्यटकहरुको बसाइ लम्ब्याउन अवश्य सकिन्छ । लुम्बिनीसंगै प्रदेश ५ को पर्यटकीय स्थलको एकीकृत विकासमा तीनै तहका सरकारले ध्यान दिए निश्चय नै सबै स्थानमा पर्यटकहरुको आगमन हुने देखिन्छ, जसले पर्यटकको बसाइ लम्बिने निश्चित छ । लुम्बिनीको मायादेवी मन्दिर मात्र दर्शन गरेर फर्कने पर्यटकहरुलाई बास बस्ने वातावरणको सिर्जना गर्न विभिन्न योजनाहरु ल्याएर त्यसलाई कार्यान्यवयनको चरणमा जानुपर्छ । अनि मात्र पर्यटकहरुको बसाइ लम्बिन सकिन्छ । पर्यटकको बसाई लम्ब्याउन सकिएन भनेर भाषण र कुरा गरेर मात्र पर्यटन क्षेत्रको विकास हुँदैन । व्यवहारमा कार्यान्यवन गर्नुपर्छ । पर्यटकको बसाइ लम्ब्याउन पर्यटन क्षेत्रसंग सम्बन्धित संघ–संस्थाहरुसंग समन्वय, सहकार्य र छलफल गरेर नीति नियम बनाएर कार्यान्यवन गर्नुपर्छ ।
पर्यटकहरुको सहजताको लागि टुरिस्ट गाइड प्रयाप्त मात्रामा हुनुपर्छ । अहिले भएका टुरिष्ट गाइड पर्याप्त छैनन् । अंग्रेजी तथा विभिन्न मुलुकको भाषा बोल्न सक्ने गरी स्थानीयलाई टुरिस्ट गाइडको तालिम दिनुपर्छ । गाइडले पर्यटकहरुलाई विस्तृत रुपमा पर्यटकीय स्थलको जानकारी दिएर उनीहरुको ध्यान त्यसतर्फ केन्द्रीत गर्न सक्छन् । स्थानीयहरुले नै पर्यटकबाट लाभ नसकेको कुराहरु बेलाबेलामा आइरहन्छन् । बेरोजगार युवाहरुलाई स्थानीय सरकारले नै टुरिस्ट गाइड तालिम दिएर उनीहरुको लागि रोजगारीको अवसर सिर्जना गर्न सक्छ । उत्पादन भएका गाइडहरुले पर्यटकलाई पर्यटकीय स्थल वरपर बस्न उनीहरुको ध्यान केन्द्रीत गर्न सक्छन् । जसले त्यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पु¥याउँछ ।
त्यस्तै पर्यटकीय स्थल पुग्न आवश्यक पूर्वाधारहरु निर्माणमा पनि राज्यले विशेष ध्यान दिनुपर्छ । विभिन्न पर्यटकीय स्थलहरु आन्तरिक तथा विदेशी पर्यटकको रोजाइ भए पनि पर्याप्त आवश्यक पूर्वाधार नभएका कारण ती स्थलहरुमा पुगेका पर्यटकहरु पनि चांडै नै फर्किने गरेका छन् । पर्यटकले बस्न रुचाए पनि प्रयाप्त पूर्वाधारको अभावमा उनीहरु फर्कन बाध्य छन् । त्यसतर्फ सरकार तथा सम्बन्धित सरोकारवाला निकाय गम्भिर हुनैपर्छ । अन्तर निकाय बीच समन्वयको अभाव, पूर्वाधार विस्तार तथा बजार व्यवस्थापनसंगै पर्यटकको बसाइँ लम्ब्याउने वातावरण बनाउन नसके समग्र पर्यटन क्षेत्रको विकास हुन सक्दैन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *