लुम्बिनी पर्यटन प्रवद्र्धन महोत्सव: हिमालको झल्को दिने चिनारी

प्रकाश न्यौपाने
भैरहवा, ६ मंसिर ।
चिटिक्क सिंगारिएको, दुरुस्तै आकृति । छेउमै सेल्फी जोनसहितको बगैँचा, यहाँ पुग्दा जो कोहीको मन लोभिन्छ, त्यो हो भैरहवामा बनाइएको बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रतिरुप (रिप्लिका) । भैरहवामा जारी पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव स्थलको बीच भागमा दुरुस्तै मायादेवी मन्दिरको प्रतिरुप बनाइएको छ । मन्दिरको पश्चिमपट्टी नेपाल भ्रमण वर्षको लोगो राखिएको छ । नजिकै ‘लव’ आकृतिको अर्को आकृति बनाइएको छ । यी दुबैमा फेल्फी खिच्न दर्शकको भीड लाग्ने गरेको छ । कृत्रिम दुवो विछ्याइएको छ । दुवोमाथि बुद्धमूर्ति पनि छ । वरिपरी हरियो विरुवा राखिएको छ । यसले दर्शकलाई झनै मोहित गरेको छ ।
‘हामी उद्योगी–व्यवसायी भए पनि उद्योग, व्यवसाय र कृषिको मात्रै प्रवद्र्धन गर्दैनौं, हाम्रो दायित्व पर्यटनको प्रवद्र्धन गर्नु पनि हो’, महोत्सव आयोजक संस्था उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले भने । अर्को कुरा आयोजकले प्रवेशद्वार नै मायादेवी मन्दिरको आकृतिमा बनाएका छन् । योसँगै सचिवालय पशुपतिनाथ मन्दिरको आकृतिमा बनाइएको छ । ‘हामी जतिसक्दो हाम्रा पर्यटकीय गन्तव्य चिनाउन चाहन्छौं, यसले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाओस् र मुलुकको समृद्धिमा टेवा पुगोस्’, अध्यक्ष भण्डारीले भने । महोत्सव स्थलको बीचभागमा रहेको मायादेवी मन्दिरभित्र पस्दा जो कोही थप आनन्दित हुन्छ, हिामाल देखेको अनुभूति गर्छ, मन्दिर पुगेको आभास लिन्छ । किनभने यहाँ हिमाल र मन्दिर जस्तै दुरुस्तै आकृति देख्न पाइन्छ ।
मायादेवीको मन्दिरभित्र हिमालको आकृतिसहित मुलुकभरका विभिन्न पर्यटकीय स्थलको स–सना चिटिक्कका आकृति बनाइएको छ । मुस्ताङ हिमालदेखि रुपन्देहीको देवदहमा रहेको पाकडी वृक्षसम्म सिंगारेर राखिएको छ । ‘यहाँ पस्दावित्तिकै मलाई हिमाल पुगेको अनुभूति मात्रै भएन, स्वर्गकी परी रारालाई समेत चुमेकोजस्तो लाग्यो’, मेला भर्न पुगेका दर्शक माधवराज पौडेलले भने, ‘मुलुक चिनाउन आयोजकले गरेको प्रयास निकै सहरानीय छ ।’ आयोजकले १५ पर्यटकीय स्थलको दुरुस्तै आकृति बनाएर मायादेवी मन्दिरको आकृति (रिप्लिका) भित्र सजाएर राखेका छन् । ती गन्तव्यको अगाडि त्यहाँको महत्व र इतिहास खुलाइएको छ ।
‘हिमालमात्रै होइन, तराईका पर्यटकीय स्थल र पहाडका मठमन्दिर पनि देख्न सकिन्छ । यसले गर्दा मेला भर्न आउने दर्शकलाई ती ठाउँमा पुगौं–पुगौं भन्ने अनुभूति गराउने छ’, संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले भने । मन्दिरको भित्रपट्टी छेउछाउ मुगुमा रहेको रारा ताल, माछापुच्छ«े हिमाल, अन्नपूर्ण बेसक्याम्प, गुल्मीमा रहेको बिचित्र गुफा, लुम्बिनीस्थित विश्व शान्ति स्तुप, बुद्धको मावली क्षेत्र देवदह, रेसुंगा क्षेत्र, स्वर्गद्वारी, सौराहा, मार्दी हिमाल, मुस्ताङ हिमाल (अपर मुस्ताङ), रानीमहल, सगरमाथा, देवदहमा रहेको पाकडी वृक्ष, सुपादेउराली मन्दिर राखिएको छ भने बीचभागमा भगवान बुद्धको मूर्ति राखिएको छ । माछापुच्छ«े, मार्दी, अन्न्पूर्ण बेसक्याम्प, सगरमाथाले दुरुस्तै हिमालकै झल्को दिएको छ ।
‘बीचमा रहेका बुद्धमूर्तिले विश्व शान्तिको सन्देशसमेत दिएको छ । स्वर्गजस्ता हाम्रा प्राकृतिक सम्पदाहरु घुम्न सबैलाई आह्वान गरिरहेको अनुभूति हुन्छ’, महोत्सव प्रचारप्रसार उपसमिति संयोजक कृष्णबहादुरु गुरुङले भने । आयोजकले पर्यटनलाई निकै महत्व दिएका छन् । कृषि, उद्योग, व्यापार, अटो भन्दा पर्यटनलाई प्राथमिकतामा खारिएको छ । ‘हामीले सबैक्षेत्रको प्रवद्र्धन गर्न खोजेका हौं । यद्यपि प्रदेश पाँच सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको र संघ सरकारले नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाले सरकारी लक्ष्यलाई सहयोग गर्नु दायित्व सम्झिएर पर्यटकीय स्थलको चिनारी दिएका छौं’, अध्यक्ष भण्डारीले भने, ‘यसले कम्तिमा ती ठाउँहरु नपुगेका र इतिहास थाहा नभएकालाई बुझ्न र जान्न सजिलो त हुन्छ नै जाउँजाउँ भन्ने कौतुहलता समेत जगाउँछ ।
मुलुकका अधिकांश महत्वपूर्ण पर्यटकीय स्थलको आकृति बनाइ महोत्सवमा राखिएकाले यसले हिमाल, पहाड र तराईलाई जोड्नसमेत पुलको काम गरेको छ । बिहीबार मेलास्थलमा बनाइएको मायादेवी मन्दिरको उद्घाटन गर्दै प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरी प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई प्रदेश ५ मा संचालित मेला महोत्सवले सघाउने जनाए । उनले भने, ‘यतिबेला मेलामहोत्सवको मौसम शुरु भएको छ । यस्ता खाले मेलामहोत्सवले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ लाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग पुराउँछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *