‘भ्रष्टाचार रोक्न सरकार कठोर’

रुपन्देही, भदौ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रष्टाचारलाई निस्तेज पार्ने गरी सरकार कठनेर भएर अघि बढीरहेको दावी गरेका छन् । उनले भ्रष्टाचार नियन्त्रणमा सरकार निर्मम बन्दै गएको समेत दावी गरे । ‘भ्रष्टाचार पुरै रोक्न नसकिएला तर सरकार यसप्रति निर्मम बन्दै गएको छ’, प्रेस संगठन नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले भने, ‘सरकारले कडाई गरेकै कारण आरोप लागेकाहरु आत्महत्याको तहसम्म पुगेको छन् ।’
मन्त्री ज्ञवालीले विगतमा धेरै सेवाग्राहीको भीडभाड हुने अड्डामा जान कर्मचारीको लुछाचुडी हुने गरेको तर अहिले त्यो रोकिएको जिकिर गरे । ‘हिजो दिनहरुमा मालपोत, भन्सार कार्यालय, वैदेशिक रोजगार विभाग जस्ता अड्डामा जान कर्मचारी लालायित हुने गर्थे, अहिले सरकारले ती भ्रष्टाचार हुने प्वालहरु बन्द गरिदिएका कारण त्यहाँ जान इच्छुक छैनन्’, उनले भने, ‘एउटा उदाहरण यही हो सरकार भ्रष्टाचारबिरुद्ध निर्मम भएको । अरु यस्ता थुप्रै उदाहरण तपाईंहरुले पनि देख्नु भएको छ ।’
पछिल्लो समय विदेशमा नेपालको छवि राम्रो हुँदै गएको र छिमेकी मुलुकहरुको नेपालप्रतिको रुचि तथा आकर्षण बढ्दै गएको बताउँदै उनले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा चीन नेपालको विश्वासिलो विकास साझेदार समेत बन्दै गएको बताए । उनले उपयुक्त समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक तहबाट नेपालको भ्रमण हुने बताए । आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने चर्चासँगै परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ उच्चस्तरिय राजनीतिक तहबाट नेपालको भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गरे । ‘चीन हाम्रो विकास साझेदार मित्रराष्ट्र हो, त्यहाँका उच्चस्तरीय अधिकारी छिट्टै नेपालको भ्रमणमा आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।
मन्त्री ज्ञवालीले यसैसाता पुरा भएको पेट्रोलियम पाइपलाइनको उद्घाटनले पनि चीनसँगै नेपाल र भारतको सम्बन्ध पनि सुमधुर बन्दै गएको पुष्टि गरेको बताए । भारतीय खुल्ला सीमानाको दुरुपयोग गरी अवाञ्छित क्रियाकलाप नबढोस् भन्नेतर्फ सरकार सचेत रहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले सीमा निर्धारण र सीमा स्तम्भहरुलाई व्यवस्थित गर्ने प्रयास गरिरहेको दाबी गरे । वर्तमान सरकारले धेरै राम्रा कामहरु गरेको भए पनि जनताको अपेक्षाहरु धेरै भएका कारण ओझेलमा परेको उनले बताए ।
‘२८ महिनामा पुरा गर्ने लक्ष्य लिएको पेट्रोलियम पाइपलाइन १६ महिनामै सकियो, भेरी बबई डाईभर्सन, गौतमबुद्ध विमानस्थल लगायतका विकास आयोजना पनि लक्ष्य अनुसार निर्माण सम्पन्न भइरहेका छन्’ उनले भने, ‘यी सरकारका सफलताका कडी हुन् ।’ सरकारले जनविश्वासलाई आघात नपुर्याउने भन्दै समृद्धिको जग यही सरकारले नै बसाल्ने उनको दावी छ । आगामी निर्माचनसम्म सरकारले जनअपेक्षाका धेरै कामको आधारस्तम्भ तयार पार्ने मन्त्री ज्ञवालीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *