परामर्शपछि ओलम्पिक कमिटी चुनाव

काठमाडौं, २४ भदौ ।
सर्वोच्च अदालतबाट ग्रिन सिग्नल पाएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन हुने भएको छ । सर्वोच्च अदालतले गत साता जारी गरेको आफ्नै अन्तरिम आदेशलाई खारेज गर्दै एनओसीको निर्वाचन गराउन सक्ने वातावरण बनाइदिएको हो ।
योसँगै एनओसीले अन्तर्राष्ट्रिय ओेलम्पिक कमिटी (आईओेसी) र ओेलम्पिक काउन्सिल अफ एसिया (ओसीए) सँग परामर्श गरेर निर्वाचनको मिति तय गरिने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । यसअघि भदौ २० गते एनओसीको निर्वाचन गर्ने तय भएको थियो ।
तर राष्ट्रिय मान्यता प्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले एनओसीको निर्वाचन रोक्न सर्वोच्चमा रिट दायर गरेका थिए । रिटलाई मध्यनजर गरी सर्वोच्चले गत भदौ १७ गते एनओसीको निर्वाचन गर्न नपाउने अन्तरिम आदेश जारी गरेको थियो । साथै दुवै पक्षलाई भदौ २२ गते छलफलका लागि बोलाइएको थियो ।
आइतबार न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएका थिए ।
एनओसीको अध्यक्ष पदमा एनओसीका अध्यक्ष श्रेष्ठ र एनओसीका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । २७ जना प्रतिनिधि रहेको एनओसीमा २६ जनाले उम्मेदवारी दिएका छन् ।
जसमा कोषाध्यक्ष रतन टण्डन र उपमहासचिवमा पीताम्बर तिम्सिना निर्विरोध निर्वाचित भइसकेकाले अध्यक्ष, ५ जना उपाध्यक्ष, महासचिव, ३ जना सचिव र ७ जना सदस्य निर्वाचित हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *