आइफा अवार्डको विवाद (सम्पादकीय)

भारतको प्रतिष्ठित बलिउड इन्टरनेशनल फिल्म अवार्ड ‘आइफा अवार्ड’ को २० औं संस्करण नेपालमा गर्न लागिएको र त्यस अवार्डका लागि नेपाल सरकार समेत आयोजक बनेर एक अर्ब रुपैयाँ सहयोग दिने निर्णय गरेको बिषय अहिले चर्चामा छ । सामाजिक संजालमा यो विषयले निकै तरंग पैदा गरेको छ । यस्ता समाचार पत्रपत्रिकामा आउन थालेपछि नेपाली कलाकारहरुले पनि चित्त दुखाएका छन् । उक्त अवार्ड नेपालमा पहिलो पटक हुन लागको हुँदा भारतका प्रतिष्ठित कलाकारहरु नेपालमा आउने र यहाँको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । तर समाचारहरुमा दावी गरिए बमोजिम अवार्डका लागि एक रुपैयाँ पनि दिने निर्णय नभएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । यदी मन्त्री बास्कोटाले भनेझैं सरकारले आर्थिक सहयोग दिने निर्णय नगरेको र केवल नेपालमा उक्त अवार्डको आयोजना गर्ने स्वीकृति मात्र प्रदान गरेको हो भने यसलाई निकै सकारात्मक रुपमा लिनुपर्छ ।

सरकारले आगामी वर्षलाई नेपाल भ्रमण वर्ष २०२० को रुपमा मनाउँदैछ । २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सरकारको छ । नेपाल भ्रमण वर्षलाई समेत सहयोग पु¥याउने यस अवार्डका लागि भारतले हाम्रो देशलाई रोज्नु आफैमा सकारात्मक विषय हो । यसले गर्दा भारतका ख्यातिप्राप्त सिने कलाकारहरु, फिल्म क्षेत्रका निर्देशक, लेखक, संगीतकार लगायतका विज्ञहरु नेपालमा आउनेछन् । यहाँको पर्यटन प्रबद्र्धनका लागि पक्कै पनि यसले सकारात्मक भूमिका निर्वाह गर्ने नै छ । यस्ता कार्यक्रमहरु नेपाली भूमिमा हुनु राम्रो कुरा हो । तर समाचारहरुमा उल्लेख भएझैं राज्यकोषबाट सहयोग उपलब्ध गराउने सरकारले निर्णय गरेको भए त्यो दुर्भाग्यपूर्ण हुनेछ । नेपाली कलाकारहरु आर्थिक अभावमा दुःख कष्ट झेलेर जीवनयापन गरिरहेका छन्, बिरामी हुँदा उपचार गर्न नसकेर आर्थिक सहायता उठाउनुपर्ने अवस्था छ । गीत, संगित, चलचित्र लगायत फिल्मी क्षेत्रमा आर्थिक अभावमा विकास हुन सकेको छैन । स्तरीय स्टुडियो छैन, पर्याप्त साधन श्रोत छैन । ऋणका भरमा चलेको सरकारले मनमौजी रुपमा विभिन्न नाममा देशको आर्थिक दोहन गर्न मिल्दैन ।

हुनत हामी पनि कौवाले कान लग्यो भनेर हल्ला चलाइयो भने कान छाम्न थाल्दैनौं, कौवाको पछि दगुर्छौै । हल्लाको भरमा छिट्टै प्रतिक्रिया दिइहाल्ने हाम्रो संस्कार बनिसकेको छ । यथार्थता बुझ्ने धैर्यता हामीसंग हराउँदै गएको छ । हो, फजूल खर्च रोक्न, सरकारका बेथितिहरुलाई खबरदारी गर्न, मितब्ययी र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न हामी सजग हुनैपर्छ, औंला उठाउनुपर्छ । तर, हल्लालाई आधार मानेर कठोर आन्दोलन समेत घोषणा गर्ने अवस्थामा भने पुगिहाल्नु हँुदैनथ्यो । आइफा अवार्डलाई आर्थिक सहयोग उपलब्ध गराउने सरकारले निर्णय नगरेको जानकारी पर्यटन बोर्डले पनि सार्वजनिक गरिसकेको थियो, स्वयं सरकारका प्रवक्ताले नै त्यस्तो निर्णय नभएको दावी गरिसकेपछि अब यसको विरोध गरिरहनुको औचित्य छैन । बरु नेपालको पर्यटन ब्यवसायलाई सहयोग पुग्ने र नेपालको चलचित्र विकासमा समेत सहयोग पुग्ने गरी उक्त अवार्ड कार्यक्रमबाट हामीले जतिसक्दो धेरै लाभ लिनुपर्छ । र, नेपाली भूमिलाई अवार्ड आयोजना गर्न छनौट गरेकोमा आयोजकलाई धन्यवाद दिंदै कार्यक्रमलाई सफल पार्न सघाउनु पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *