गौतमबुद्ध विमानस्थल : म्याद थपिए पनि लागत नबढ्ने

धावनमार्गबाट पार्किङ स्थल आउने बाटो थपिने
प्रकाश न्यौपाने
भैरहवा, ४ असार ।
यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि थपिए पनि लागत भने नबढ्ने भएको छ । भौतिक संरचना निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनलाई तेस्रोपटक म्याद थप गर्ने तयारी गरिएको छ । ठेकेदारले केही समय थप गर्न माग गरेअनुसार आयोजनाले नागरिक उड्डयन प्राधिकरणमा पत्राचार गरिसकेको छ । म्याद थप भए पनि निर्माण कम्पनीले शुरुको सम्झौता रकम ६ अर्ब २२ करोड ५१ लाखमै काम गर्ने आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

‘समय थपपछि भेरियसनको सम्भावना छ भनेर जुन किसिमको हल्ला छ, त्यो यथार्थ होइन । लागत बढ्दैन’, उनले भने । तथापी भेरियसनका बारेमा स्थलगत अध्ययनका लागि नागरिक उड्डयनको टोली आयोजना स्थल आइसकेको बुझिएको छ । करिब ६ महिना म्याद थपको प्रस्ताव आयोजनाले गरेको छ । यही जुलाईसम्म समय पाएको कम्पनीले म्याद थप भएमा सन् २०१९ को डिसेम्बर अर्थात् २०७६ पुस १५ सम्म समय पाउने छ ।

२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्मपन्न गर्नुपर्ने थियो । ठेकेदारको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीचको आपसी मतभेद, तराई–मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामाग्रीको अभाव जस्ता कारणले आयोजना निकै पछि धकेलिएको छ । यसअघि २ पटकसम्म समय थप गरिएको थियो । काम सक्ने समयावधि नजिकिँदै जाँदा म्याद थप्ने तयारी गरिएको हो । दोस्रोपटक म्याद थपपछि गत वर्षमात्र साढे ९ प्रतिशतको भेरियसन पास गरिएको थियो । यो भेरियसन थप कामका लागि हो ।

भेरियसन पासपछि आयोजनाले ५६ करोेड बढी बजेट उपलब्ध गराई धावनमार्गमा विद्युतीकरण तथा लाइट जडान र मार्किङका लागि काम अघि बढाएको छ । यो रकम थपिएसँगै आयोजनाको लागत करिब ७ अर्ब पुगेको छ । ‘तेस्रोपटक म्याद थप भए पनि लागत बढ्दैन, बरु हामीले ठेकदारलाई जहाज पार्किङ स्थल आउने बाटो पुरानै बटेजबाट एउटा थप बनाउन भनेका छौं’, आयोजना प्रमुख अधिकारीले भने, ‘अघिल्लोपटक लागत बढ्यो अहिले पनि बढ्छ भनेर बाहिर जुन हल्ला आयो, त्यो होइन, थप कामका लागि रकम उपलब्ध गराइएको हो ।’

रन–वेबाट जहाज पार्किङ स्थल आउने तीनवटा बाटो अहिले बनाइसकिएको छ । ठेकेदारलाई आयोजनाले अहिले थप एउटा बाटो पनि बनाउन आग्रह गरेको छ । जहाज ल्याण्ड गरिसकेपछि घुमेर केही वर आएपछि पार्किङ स्थल जाने गरी तीनवटा बाटोे बनाइएको छ । तर, आयोजनाले प्रस्ताव गरेअनुसार ल्याण्ड गरिसकेपछि जहाज नघुमाई सिधै पार्किङ स्थल जान थप एउटा बाटो बनाउन लागिएको हो । ‘यसले जहाज घुमाएर पार्किङ स्थल जानु पर्ने बाध्यता हट्छ, विमानस्थल आधुनिक देखिन्छ’, अधिकारीले भने, ‘यो थप काम पुरानै सम्झौता भित्रको बजेटबाट गरिनेछ ।’

आयोजनाको समयावधि लम्बिँदै जाँदा ठेकेदारलाई आर्थिक भार समेत थपिँदै गएको छ । लागत नबढ्ने भएपछि उसलाई आर्थिक भार थपिएको हो । ‘सम्झौता गर्दा निर्माण सामाग्राीको मूल्य सस्तो थियो, अहिले सबै सामाग्राीको मूल्य बढेको छ । काम समयमै सकिएको भए ठेकेदारलाई आर्थिक भार पर्दैनथ्यो । हामीले भेरियसन गरेका छैनौं’, अधिकारीले भने, ‘निर्माण सामाग्रीको मूल्य बढ्नु तर भेरियसन नहुनुले ठेकेदारलाई काममा ढिलाई गरेवापत जरिवाना तिराएजस्तै भएको छ ।’

अहिलेसम्म धावनमार्ग निर्माण सम्पन्न भए पनि टर्मिनल भवनको अन्तिम फिनिसिङ भइरहेको छ । यस्तै, कन्ट्रोल टावर तथा अन्य पूर्वाधारको काम जारी छ । ‘पछिल्लो समय धेरै प्रगति भएको छ, सुरुको दुई वर्ष २६–२७ प्रतिशत मात्रै काम भएको थियो । यस्तो अवस्थाबाट आयोजनालाई माथि उठाएर अहिले अन्तिम चरणमा ल्याइएको छ’, उनले भने । निर्माण कम्पनीले आईसीपी टु अन्तर्गत कम्युनिकेशन, नेभिगेशन लगायत विद्युतीय उपकरण, सूचना संयन्त्र जडान गर्ने काम गर्दै छ । यी काम सक्न कम्तिमा एक महिना लाग्ने जनाइएको छ । २०२० को जनवरीमा यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाइएको छ ।

2 thoughts on “गौतमबुद्ध विमानस्थल : म्याद थपिए पनि लागत नबढ्ने

  • June 20, 2019 at 1:59 am
    Permalink

    जरीवाना तिराउनु पर्छ

    Reply
  • June 20, 2019 at 2:00 am
    Permalink

    जरीवाना तिराउनु पर्छ

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *