गौतमबुद्ध विमानस्थल : ‘ग्रिन एयरपोर्ट’को अवधारणामा

प्रकाश न्यौपाने
भैरहवा, ३० जेठ ।
बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई ग्रिन विमानस्थलसंगै सौर्य ऊर्जा प्रयोग गरी सञ्चालनमा ल्याइने भएको छ । विमानस्थल निर्माणमा अनुदान र सहुलियत ऋण उपलब्ध गराउँदै आएको एशियाली विकास बैंक (एडीबी) ले यो अवधारणा अघि सारेको हो । एडीबीले ग्रिन विमानस्थलका लागि नेपाली अधिकारीहरुसंग छलफल सुरु गरेको छ । यसका साथै विमानस्थल सौय उर्जाबाट समेत सञ्चालनको तयारी गरिएको छ ।

एडीबीले भैरहवाका स्थानीय सरोकारवाला निकायसंग छलफल गरी प्रक्रिया अघि बढाएको जनाएको छ । एडीबीका नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले प्रारम्भिक छलफल गरिएको र विमानस्थल सौर्य ऊर्जाबाट सञ्चालन गर्ने अवधारणा अघि सारिएको जनाए । ‘हामीले सौर्य ऊर्जा जडानका लागि नागरिक उड्डयन प्राधिकरण कार्यालयसंग छलफल गरिरहेका छौं, यो विल्कुलै नयाँ योजना हो । नेपालकै नमूना एअरपोर्ट समेत हो’, उनले भने ।

विमानस्थल क्षेत्रभित्रै सोलार प्यानलमार्फत् कम्तीमा १० मेगावाट विद्युत् उत्पादन हुन सक्ने अनुमान गरिएको छ । सौर्य ऊर्जामार्फत् एक मेगावाट विद्युत् उत्पादन गर्न कम्तिमा १० करोड खर्च लाग्छ । विमानस्थललाई यति धेरै १० मेगावाट विद्युत् आवश्यक पर्दैन । यसैले सौर्य ऊर्जाबाट उत्पादित विद्युत् नजिकका उद्योगमा समेत प्रयोग गर्न मिल्ने प्रधानले जनाए । यदि १० मेगावाट नै विद्युत् उत्पादन भए त्यसको विक्रीवितरणबाट विमानस्थलको आय पनि बढ्ने छ । ‘योजना अघि बढेमा विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरु हुन्छ । ५÷६ महिना भित्रै काम सकिन्छ’, प्रधानले भने ।

विमानस्थल अहिले निर्माण सम्पन्नको अन्तिम चरणमा छ । यो विमानस्थललाई नेपालकै पहिलो ‘ग्रिन एयरपोर्ट’का रुपमा विकास गर्ने अवधारणा अनुसार सौर्य ऊर्जाबाट सञ्चालन गर्नेबारे छलफल अघि बढाइएको एडीबीका अधिकारीहरुले जनाएका छन् । सौर्य उर्जा जडान गर्न लाग्ने रकम ग्रान्टका रुपमा एडीबीले प्रदान गर्नेछ । छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित छ । ‘अब हामीले छिट्टै कोच्चिन विमानस्थलको अवलोकन गर्छौं, त्यसको अवलोकन गरेपछि सुरक्षाका कुरा पनि थाहा हुन्छ, त्यसपछि मात्रै सौर्य ऊर्जाको प्रयोग यहाँ पनि गर्छौं’, प्रधानले भने ।
सरकारले भैरहवा विमानस्थललाई नमूना बनाउने जनाएको छ । विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलका रुपमा गौतमबुद्धलाई हेरिएको छ । विमानस्थल सञ्चालनको आशा राखेर यहाँ पर्यटन व्यवसायीले अर्बौंको लगानी गरिरहेका छन् । यसैले पनि अधिक पर्यटकीय सम्भावना देखेको एडीबीले विमानस्थललाई नयाँ मोडलमा लैजान तीव्र चासो देखाएको छ । विमानस्थल बनेपछि दैनिक १०–१५ हजार तेस्रो मुलुकका मात्रै पर्यटक यहाँ उतार्ने योजना सरकारको छ । नागरिक उड्डयन प्राधिकरणले सरकारले घोषणा गरे नेपाल भ्रमण वर्ष २०२० संगै विमानस्थल सञ्चालनमा ल्याउने दावी गर्दै आएको छ ।

लुम्बिनीलाई केन्द्रमा राखेर विमानस्थललाई हरेक तौतरिकाबाट सिंगार्ने सरकार र एडीबीको योजना छ । विमानस्थल सन् २०१९ को डिसेम्बर भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसपछि बाँकी आवश्यक प्रक्रिया पूरा गरी सन् २०२० भित्रै अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाइएको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

यो विमानस्थल निर्माणका लागि चीनको नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनसँग सन् २०१४ डिसेम्बर ३१ मा ठेक्का सम्झौता भएको थियो । विभिन्न कारणले निर्माण समय पछि धकेलिरहेको यो विमानस्थलको निर्माण सक्नुपर्ने समय यो जुनको २८ तारिख हो । अब अन्तिम पटकका लागि डिसेम्बर सम्म समय अवधि थप्न पहल भइरहेको छ ।

विमानस्थल निर्माणका लागि एडीबीले ४ करोड २७ लाख डलर सहुलियत ऋण र १ करोड २७ लाख डलर अनुदान उपलब्ध गराएको छ । त्यस्तै, ओपेक फन्ड फर इन्टरनेशनल डेभलमेन्टको १ करोड १५ लाख डलर, नेपाल सरकारको २ करोड ३७ लाख डलर र एसियन क्लिन इनर्जी फण्डको ३० लाख डलर लगानी छ । विमानस्थलमा अहिले ८० प्रतिशत भन्दा बढी काम सकिएको आयोजनाको दावी छ ।

अहिले टर्मिनल भवनको अन्तिम काम भइरहेको छ । यस्तै, प्रशासनिक भवनमा रंगरोगन गर्ने काम जारी छ । त्यस्तै, धावनमार्ग, पाँच वटा ठूला जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माणको काम सम्पन्न भइसकेको छ । कन्ट्रोल टावर निर्माण अन्तिम चरणमा छ । तीन किलोमिटर धावनमार्ग र त्यसलाई ट्याक्सी–वे सँग जोड्ने काम समेत सम्पन्न भएको छ । फिनिसिङ, साजसज्जा र विद्युतीकरणसहित सूचना प्रविधि सम्बन्धि काम बाँकी छन् । धावनमार्गमा आवश्यक लाइटिङ र मार्किङका लागि ठेक्का सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *