लुम्बिनीमा १०० मुलुकका पर्यटक

प्रकाश न्यौपाने
भैरहवा, २४ जेठ ।
यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनी घुम्न एक सय मुलुकका पर्यटक आएका छन् । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०१९ को ५ महिनामा सय मुलुकका पर्यटक आएका हुन् । यो विगत भन्दा बढी हो । पछिल्ला वर्षहरुमा अन्तर्राष्ट्रिय जगत्मा थप प्रसारप्रसार हुँदै जाँदा र शान्तिको कामना गर्न लुम्बिनी आउने बढेसँगै मुलुकहरु पनि थपिँदै गएका हुन् । विकास कोषले तेस्रो मुलुक (पासपोर्ट होल्डर) का पर्यटकको तथ्यांक राख्न थालेपछि ५ महिनामै यति धेरै देशका पर्यटक लुम्बिनी आएको यो पहिलोपटक हो ।

कोषले छुट्टै शाखा स्थापना गरी सन् १९९४ बाट तेस्रो मुलुकका पर्यटकको तथ्यांक राख्न सुरु गरेको थियो । उक्त वर्ष २१ मुलुकका पर्यटक लुम्बिनी आएका थिए । ‘पर्यटक आउने देशहरु बढ्दै जानु हाम्रा लागि निकै सकारात्मक कुरा हो’, कोषका सूचना अधिकृत हरि राईले भने, ‘लुम्बिनीबारे थप प्रचारप्रसार हुनु, तिलौराकोटका बारे थप तथ्यहरु फेला पर्नु, लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हुनु र बाह्य मुलुकका भीभीआइपी तथा भीआइपीहरु आउने क्रम बढ्नुले पनि मद्दत गरेको छ ।’

लुम्बिनीमा गएको पाँच महिनामा आधा दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम भएका छन् । पाँच महिनाको अन्तरालमा लुम्बिनीमा पहिलोपटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, म्याराथन, टूर डे लुम्बिनी, मोल्ह्म पूजा भए । यस्तै, बाह्य मुलुकका विशिष्ट व्यक्तिको उपस्थितिमा लुम्बिनी भ्रमण वर्ष घोषणा तथा बुद्ध जयन्ती मनाइएको थियो । यही अवधिमा म्यानमार र श्रीलंकका राष्ट्रपतिले समेत लुम्बिनी भ्रमण गरेका थिए । ‘यस्ता कार्यक्रमले धेरै देशका बौद्धमार्गी, शान्तिकामी र अन्य नागरिकलाई लुम्बिनीले तान्ने गरेको छ, त्यसमा प्रचारप्रसार त छँदैछ’, राईले भने ।

अन्तर्राष्ट्रिय जगत्मा इमेल–इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडिया, सामाजिक संजाल, वेभसाइट लगायतले पनि प्रचारप्रसारमा टेवा पुगेको छ । जसले लुम्बिनी घुम्ने र छोटो समय भए पनि शान्तिको अनुभूति गर्नेहरु बढ्ने गरेका छन् । दशकयता विश्वमा नै घुमन्ते पर्यटकको संख्या बढीरहेको छ । यसले धेरैको रोजाई लुम्बिनी पनि पार्ने गरेको छ । पर्यटकमा कमाइअनुसार खर्च गर्ने संस्कृति विकास हुनु, घुमन्ते संस्कृति, शान्ति खोज्नु जस्ता कारण पनि छन् । जसको सकारात्मक प्रभाव लुम्बिनीमा समेत परेको बताइन्छ ।

पछिल्लो पाँच वर्षमा त झन पर्यटक आउने देशहरु ह्वात्तै थपिँदै गएका छन् । २०१८ भरीमा १ सय ८ देशका पर्यटक लुम्बिनी आएका थिए । ०१८ को पाँच महिनामा भने ७४ देशका पर्यटक मात्रै लुम्बिनी आएको कोषको तथ्यांकले देखाउँछ । ‘यो वर्ष पाँच महिनामै सय देशका पर्यटक आएका छन्, वर्षभरिमा कम्तिमा १ सय २०–३० देशका आउने हाम्रो अनुमान छ’, सूचना अधिकृत राईले भने । प्रदेश पाँच सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षका कारण पनि यो वर्ष थप पर्यटक बढ्ने धेरैको अनुमान छ । प्रदेश सरकारले २०७६ मा कम्तिमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको छ । सोहीअनुसार प्रचारप्रसार गरिरहेको छ ।

यस्तै, संघ सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । लगातार भ्रमण वर्ष घोषाणा गरिएकाले पनि झन बढी प्रचारप्रसार हुने हुँदा लुम्बिनी घुम्ने पर्यटक ह्वात्तै बढ्ने राईले विश्वास गरे । ‘दशकयता लुम्बिनीको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा निकै बढेको छ, धेरै मानिस हिंसा त्यागेर, शान्ति खोज्दै लुम्बिनी आउने गरेका छन्’, राईले भने ।

साढे ८ लाख पर्यटक

लुम्बिनी घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि गएको पाँच महिनामा बृद्धि भएको छ । विकास कोषको तथ्यांकअनुसार सन् २०१९ को पाँच महिनामा नेपाली, भारत र तेस्रो मुलुकका गरी ८ लाख ४४ हजार ६९० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । नेपालीमात्रै ६ लाख ८० हजार ४७६ छन् । यस्तै, भारतका ८३ हजार २८८ पर्यटक लुम्बिनी आएका छन् । तेस्रो मुलुकका ८० हजार ७६६ जना छन् ।

अघिल्लो वर्ष पाँच महिनाको अवधिभन्दा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटक बृद्धि भएका छन् । कोषकाअनुसार यो वर्ष तेस्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । श्रीलंकन १८ हजार २७२ छन् । यस्तै, म्यानमारका १६ हजार ८९२, थाइल्याण्डका १५ हजार ३९०, चीनका १० हजार १४३ र दक्षिण कोरियाका ३ हजार ७०७ पर्यटकले लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *