प्रशारण विधेयक सच्याउन माग

प्रकाश खनाल
बुटवल, १० माघ ।
प्रदेश ५ सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश प्रशारण विधेयक फिर्ता गर्न पत्रकारहरुले माग गरेका छन । विधेयकमा भाषिक त्रुटि, अस्पष्ट र सञ्चार क्षेत्रलाई संकुचित गर्ने प्रकृतिको भएको भन्दै पत्रकारहरुले विधेयक फिर्ता गरेर सच्याउन माग गरेका हुन ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ को संयोजनमा गएको पत्रकारहरुको टोलीले प्रदेश ५ का सभामुख पुर्ण बहादुर घर्तीलाई भेटी विधेयक माथि पर्याप्त छलफलको ब्यवस्था मिलाउन माग गरेका हुन । नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष बालकृष्ण चापागाईले प्रदेशसभामा प्रेश गरिएको विधेयकमा सरोकारवालाहरुसंग पर्याप्त छलफल नगरिएको र छलफलमा सहभागिहरुबाट दिएका सुझावहरु नसमेटिएको भन्दै थप छलफलको ब्यवस्था मिलाउन आग्रह गरे । सरकारले पेश गरेको विधेयक सञ्चार गृह र सञ्चारकर्मीहरुप्रति अनुदार देखिएको र स्वतन्त्र प्रेसको घाटी निमोठ्ने प्रकृतिको भएको भन्दै संशोधन जरुरी रहेको चापागाईले बताए । महासंघ रुपन्देहीका पुर्व अध्यक्ष विनोद पहाडीले प्रस्तुत प्रशारण विधेयकका विभिन्न दफाहरुमा गरिएको परिभाषा समेत नमिलेको बताउँदै त्यसलाई सच्याउन पनि पर्याप्त छलफल जरुरी रहेको बताए । उनले प्रस्तुत विधेयक हुवहु पारित गरिए पत्रकारहरु बाध्य भएर आन्दोलनमा उत्रनुपर्ने अवस्था आउने चेतावनी दिए । सो अवसरमा सभामुख पुर्ण बहादुर घर्तीले पत्रकारहरुको चासोप्रति आफु संवेदनशील रहेको बताउँदै विधि र प्रक्रिया सम्वत ढंगले सुधारको पक्षमा भुमिका खेल्ने आश्वासन दिए । उनले विषयगत समितिमा छलफलबाट टुंगो लाग्न सक्ने भए सोही समितिबाट टुंग्याउन सकिने अन्यथा सरकारले नै फिर्ता गर्नुपर्ने कानुनी वाध्यता रहेको जानकारी दिए ।

कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष मौसम रोक्का, पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष शेर बहादुर केसी, दिपक ज्ञवाली, प्रदेश उपाध्यक्ष भरत केसी, रुपन्देही अध्यक्ष यानेन्द्र जिसी, उपाध्यक्ष दिनेश पाण्डे, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरे, सभामुखका प्रेस सल्लाहकार गणेश वली लगायतको सहभागिता रहेको थियो । त्यसै बीच नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ ले सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रशारण विधेयक र ल्याउन लागेको छापाखाना तथा प्रकाशन विधेयकको अध्ययन गरी सुझाव पेश गर्न मोहन चापागाई तथा डिआर घिमिरेको संयोजकत्वमा २ वटा छुट्टाछुट्टै समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *